६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीपी बचाउ आन्दोलन चर्कियो, उपकुलपति डा.गिरी आन्दोलनकारीको घेराबन्दीमा

उपकुलपति डा.ज्ञानेन्द्र गिरीको गाडीलाई घेरा हालेर बसेका घोपा क्याम्प बचाउ अभियन्ताहरु, र सुरक्षा दिँदै सुरक्षाकर्मीहरु। तस्बिरः रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै ५६ दिनदेखि जारी घोपा बचाउ आन्दोलन चर्कदै गएको छ।  

प्रतिष्ठानले वार्तामा आउन पत्राचार गरेपनि उपकुलपति स्वयम वार्तामा बस्नुपर्ने घोपा बचाउ अभियन्ताहरुको अडान छ। वार्तामा आउन नमानेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई सोमबार बेलुकी कार्यालयबाट क्वार्टर फर्कदै गर्दा आन्दोलनकारीहरुले घेराबन्दीमा पारेका थिए। उपकुलपति कार्यालय परिसरमा झण्डै एक घण्टासम्म उपकुलपति गिरी आन्दोलनरत पक्षको घेराबन्दीमा रहेका थिए।  

धरानका मेयर तथा प्रतिष्ठानका सिनेट सदस्य हर्क साम्पाङको पहलमा सोमबार दिउँसो करिब ३ बजेदेखि उपमहानगरपालिकामा आन्दोलनरत पक्षसँग वार्ता भइरहेको थियो। प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहको नेतृत्वमा आन्दोलनरत पक्षसँग वार्ता गर्न एक टोली पुगेको थियो। तर, उक्त वार्ताले ठोस निष्कर्ष दिन सकेन।  

आन्दोलनरत पक्ष निर्णयक व्यक्ति एवं उपकुलपति डा.गिरी आफै वार्तामा बस्नुपर्ने अडान राख्दै आएको छ। सोही कारण पहिलो चरणको वार्ता विना निष्कर्ष टुंगिएपछि आन्दोलनरत पक्ष उपकुलपतिाई नै घेराउ गर्न प्रतिष्ठानभित्र प्रवेश गरेका थिए। कार्यालय समय सकेर गाडीबाट क्वार्टर फर्कदै गरेका उपकुलपतिलाई उनीहरुले कार्यालय परिसरमै घेरा हाले।

मेयर साम्पाङ पुनः प्रतिष्ठान आएर आन्दोलनरत पक्ष र सुरक्षा निकायसँग सहजीकरण गरेर उपकुलपति डा.गिरीलाई वार्तामा बस्न राजि गराएका थिए। त्यसपछि मात्र आन्दोलनरत पक्षले उपकुलपतिको गाडीलाई पुनः कार्यालयसम्म फर्कन दिएको थियो। अहिले मेयर साम्पाङको पनि उपस्थितिमा उपकुलपति कार्यालयको बैठक कक्षमा वार्ता भइरहेको छ।  

विगत ५६ दिनदेखि प्रतिष्ठानको बेथिती अन्य गर्न, उपचार सेवा प्रभावकारीरुपमा प्रवाह गर्न, आवश्यक मेशिन तथा उपचार खरीद गरि सञ्चालन गर्न माग गर्दै घोपा बचाउ आन्दोलन भइरहेको छ। उनीहरु हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म डेन्टल कलेजको मेनगेट बाहिर धर्नामा बस्ने गरेका छन्। वीपी प्रतिष्ठानको पुरानो नाम घोपा क्याम्प हो।  

शुरुमा हामी नेपालको पहलमा भएको आन्दोलन अहिले धरानका युवाहरुको अगुवाईमा जारी छ। आन्दोलनमा दिनप्रतिदिन धरानबासीहरुको सहभागिता बढ्दै गएपछि शुक्रबार प्रतिष्ठानले वार्ता टोली गठन गर्दै आन्दोलनकारीहरुलाई वार्तामा आउन आह्वान गरेको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App