९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोभ्याक्स सुविधाअन्तर्गत ७७ लाख बढी खोप प्राप्त

नेपालले कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म ७७ लाख २५ हजारभन्दा बढी विभिन्न कम्पनीले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोप प्राप्त गरेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म ६० लाख ३९ हजार डोज कोभिसिल्ड र १६ लाख ८६ हजार डोज मोडेर्ना खोप नेपालले प्राप्त गरिसकेको हो। कोभ्याक्स सुविधाअन्तर्गत ती खोप २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म नेपालमा आपूर्ति भइसकेका छन्।

उक्त सुविधाअन्तर्गत खोपका अतिरिक्त ३० लाख थान सिरिन्ज र ८३ हजार थान सिरिन्ज सेफ्टिबक्स तथा १० थान विशिष्टीकृत वाक इन कुलरहरू नेपाललाई हस्तान्तरण गरिएको छ। ती खोप, भ्याक्सिनेसनसम्बन्धी सामग्री तथा उपकरण देशभरीका सबै प्रदेश तथा नगरपालिकालाई छिट्टै वितरण गरिँदै छ।

कोभ्याक्स भ्याक्सिनको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पुर्‍याउँदै जानेछ।

२२ डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा २ करोड २० लाख खोपहरू लगाइसकिएको छ। त्यसमध्ये ९७ लाख मानिसले पूर्ण खोप पाइसकेका छन् भने एक करोड ३८ लाख मानिसले आंशिक अर्थात् एक मात्रा खोप लगाएका छन्।

पछिल्लो कोभ्याक्स एएमसी डेलिभरीअन्तर्गत १६ लाख ८६ हजार डोज मोडेर्ना खोपहरू आपूर्ति हुँदै छ। यसले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियानको निरन्तरतालाई बल पुर्‍याउने अपेक्षा गरिएको छ।

सिइपिआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहकार्यको रूपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकार, अन्तर्राष्ट्रिय संस्था, प्रतिष्ठानहरू र निजी क्षेत्रहरूको ठूलो परिमाणको सहायताबाट सम्भव भएको हो। कोभ्याक्स अन्तर्गत खरिद गरिएको खोपको नेपालमा भएको आपूर्तिलाई संसारभरी कोभिड–१९ खोपको समतामूलक वितरणको सुनिश्चितताको एउटा अंश रहेको छ।

कोभ्याक्स सुविधालाई नेपालमा रहेका कोभ्यास सुविधा साझेदार राष्ट्रहरू (अस्ट्रेलिया, चीन, युरोपियन युनियन, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेविया, स्विटजरल्यान्ड, बेलायत र अमेरिका) लगायत विभिन्न दातृ निकायले आर्थिक सहायता पुर्‍याएका छन्।

प्रकाशित: ९ पुस २०७८ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App