७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बच्चाको मृत्यु भएपछि बीपी प्रतिष्ठानको गाइनो थिएटरमा तोडफोड

तोडफोड भएको गाइनो थिएटरको मुल ढोकाको शिशा। तस्बिर: रोहित/नागरिक

एक गर्भवतीको शल्यक्रियाको क्रममा बच्चाको निधन भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ।  

धरान १३ की गर्भवती २५ वर्षीय गर्भवती आस्था चौहानको आज बिहान शल्यक्रियामार्फत प्रसूति गराउने क्रममा बच्चाको मृत्यु भएको थियो। बच्चाको मृत्युपछि आक्रोशित आफन्तले 'गाइनो अप्रेशन थिएटर' प्रवेश गर्ने मुल ढोका तोडफोड गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार मृतक बच्चाका बुबा आशिष चौहानले एक चिकित्सकमाथि पनि आक्रमण प्रयास गरेका थिए। तर, ती चिकित्सक भागेका कारण उनी सकुशल रहेको बताइएको छ।

सुरक्षाको लागि गाइनो अप्रेसन थिएटर क्षेत्रमा प्रहरी खटाइएको छ। मृतक बच्चाका आफन्तजनका अनुसार चिकित्सकहरुले व्यथाले च्यापेर धेरै छटपटाएपछि गर्भवती आस्थालाई समयमा नै शल्यक्रिया गरिदिन आग्रह गरिएको थियो। तर, डाक्टरहरुले वेवास्ता गरेको कारण बच्चा गुमाउनु परेको काका चित्र कार्कीले बताए। उनका अनुसार आस्थालाई नियमित जाँच गरिरहेका एक डाक्टरले आफ्ना सिनियर डाक्टरसँग सल्लाह नगर्दा यो घटना भएको हो। ‘व्यथाले असाध्यै च्यापेपछि शल्यक्रिया गरिदिनुस् भनेर हिजै भनेको थियौ, कि ठुलो डाक्टर भेटाइदिनुस् भन्यौ, तर हाम्रो कुरा कसैले सुनिदिएन, ’कार्कीले भने,‘यहाँ एकदमै गैरजिम्मेवार र लापरवाहीपूर्ण व्यवहार भयो।’

गाइनोका डाक्टर र नर्सहरुको बोली व्यवहार पनि राम्रो नभएको पीडित आफन्जनहरुको गुनासो छ। डाक्टर र नर्सहरुलाई विरामीको अवस्थाबारे सोधी खोजी गर्दा स्पष्ट नबताइदिने, झर्कने र कराउने गरेको पनि आफन्त अनुषा कटवालले बताइन्। ‘हामीलाई ४ गते ल्याउनु भनेको थियो, ३ गते नै अस्पताल ल्यायौं। गाह्रो भइसक्यो, शल्यक्रिया गर्नुभन्दा पनि गरेनन्,’उनले भनिन्। उनका अनुसार मंसिर २७ गते चिकित्सकले डेलिभरीको समय दिएको थियो। नियमित जाँच पछि एक साता पछि आउन भनेर ४ गते बोलाएको थियो।

आफन्तजनले मध्याह्नसम्म पनि मृत बच्चाको जिम्मा लिएका छैनन्। उनीहरुले आमाको स्वास्थ्य अवस्था राम्रो हुनुपर्ने र डाक्टर, नर्सहरुको व्यवहार परिवर्तन गरिनुपर्ने बताएका छन्। ‘आमाको स्वास्थ्यबारे पनि धेरै दबाब दिएपछि मात्र ठिक छ भन्यो। आमाको स्वास्थ्य राम्रो हुनुपर्छ,’उनले भने।

यता, गाइनो विभागका डा.मनोज साहले भने कर्ड कोल्याप्स भएको र आकस्मिक शल्यक्रिया गरेर बच्चा बचाउने प्रयास गरे पनि सफल नभएको बताए। बच्चा पहिला निस्केर साल र नाल निस्कनु पर्नेमा पहिला नाल निस्किएपछि गाह्रो भएको उनको भनाई छ। डा.साहका अनुसार गर्भवतीहरुमा कर्ड कोल्याप्स जसलाई पनि हुनसक्छ। नाल पहिला निस्कदा टाउकोले चिथिएर रक्तसञ्चार कम हुने उनको भनाई छ। ‘हामीले थाह पाउने बित्तिकै अप्रेसन थिएटरमा लगेर अप्रेसन गर्यौ, तरपनि बच्चालाई बचाउन सकेनौ, ’डा.साहले भने,‘लापरवाही गरिएको होइन। आफन्तजले शल्यक्रियागर्न भनेपछि गर्नुपर्ने कारण नभएकोले नगरिएको हो।’

प्रकाशित: ५ पुस २०७८ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App