१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बुस्टरका लागि पहिल्यै प्रयोग भएका खोप उचित

अमेरिकामा पहिला लगाइएको खोपभन्दा भिन्न खोप प्रयोग भए पनि नेपालमा बुस्टर डोजको रूपमा कुन खोप प्रयोग गर्ने भन्ने विषयमा चर्चा भइरहँदा विज्ञहरूले पहिल्यै प्रयोग भएका र विकल्पमा फाइजर खोप हुनसक्ने सुझाएका छन्।

डिसेम्बरभित्र ४० प्रतिशत जनसंख्यालाई खोप दिइसकेपछि अति आवश्यक जनसंख्यालाई बुस्टर डोज दिने घोषणा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरिसकेका छन्।

परिवार कल्याण महाशाखा खोप शाखाले भने अहिलेसम्म बुस्टर डोज लगाउने नभनी ६० वर्षमाथिका र अन्य जोखिम मात्र थप मात्रा दिने भनेको छ। ‘हामीले अहिले बुस्टर डोजको कुरा गरेका छैनौं, शरीरमा कोभिड–१९ विरुद्धको खोप लगाएर पनि राम्रोसँग एन्टिबडी नबनेका ज्येष्ठ नागरिकको कुरा गरेका हौं,’ दाहालले भने।

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कम्तीमा पहिलो मात्रा खोप सबै नागरिकको पहुँचमा नभएसम्म या ५० प्रतिशतभन्दा बढी जनसंंख्याको पहुँचमा खोप नपुगेसम्म बुस्टर डोज खोप नदिने कुरा गरेको राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीको भनाइ छ। ‘सबै नागरिकको पहुँचमा नपुगी सम्पन्न हुने खानेलाई मात्र खोप थप्न नहुने विश्व स्वास्थ्य संगठनको प्राथमिकता हो,’उनले भने।

राष्ट्रिय खोप योजनाअनुसार पनि १८ वर्षमाथिका ५० प्रतिशत जनसंख्याले खोप नपाएसम्म बुस्टर डोज दिने व्यवस्था छैन। तर केही उमेर समूहलाई चिनियाँ खोप कम्पनी सिनोफार्म र सिनोभ्याक्सले ज्येष्ठ नागरिकमा राम्रोसंग एन्टिबडी नबनेकाले थप मात्रा दिन विश्व स्वास्थ्य संगठनले भनेको हो,’अधिकारीले भने।

नेपालमा हाल ४५ प्रतिशत जनसंख्यामा खोप पुगिसकेको र पुस मसान्तभित्र ६६ प्रतिशतमा पुग्ने गरी तयारी भइरहेकाले एकदेखि दुई महिनाको अवधिमा नेपालले बुस्टर डोज दिने सम्भावना देखिएको छ। बुस्टर डोज दिनुपरेको अवस्थामा नेपालमा उपलब्ध पहिलेकै खोपहरू बुस्टर डोज दिनु उचित हुने सल्लाहकार समितिका अध्यक्ष डा.अधिकारीको भनाइ छ। डा.अधिकारीका अनुसार अमेरिकामा बुस्टर डोजको रूपमा प्रयोग भएका दुवै खोप एउटै सूत्रबाट बनेका (एकै किसिमका डिएनए) प्रयोग गरिएको हुनाले बुस्टरको रूपमा प्रयोग गरिएको थियो।

पहिले प्रयोग गरिएकाभन्दा भिन्न खोप प्रयोग गरेका केही संख्यामा मुटुमा समस्या,रगतमा डल्लो देखिने जस्ता समस्या देखिएको थियो। यी समस्याका कारण फरक बुस्टर डोजकै कारणले हो या अन्य कारणले भएको भन्ने विषयमा अध्ययन भइरहेकाले नेपालजस्तो कम विकसित देशमा फरक कम्पनीको खोप प्रयोग गर्नु उचित छैन। डा. अधिकारीले भने,‘सकेसम्म पहिला प्रयोग भएकै खोप प्रयोग गरेमा जोखिम मोल्नुपर्दैन।’

नेपालमा कुनै एउटा मात्र खोप प्रयोग नभई फरकफरक खोप प्रयोग भएकाले पहिला जुन खोप प्रयोग गरिएका हुन् त्यही खोप थप मात्रामा दिन मिल्ने कोभिड–१९ विरुद्धको खोप प्राविधिक समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन्।पहिला लगाइएका खोप उपलब्ध नभएको अवस्थामा आपसी खोपको परीक्षण गरी विकल्पमा नयाँ खोप पनि प्रयोग गर्न सकिन्छ।

हालसम्म नेपालमा प्रयोग भएकामध्ये अस्ट्राजेनेका र फाइजरको परीक्षण भइसकेकाले विकल्पमा फाइजर खोप दिन सकिने डा. उपे्रती बताउँछन्। त्यसैगरी भित्री रूपमा चीनले आफ्ना नागरिकलाई भेरोसेल बुस्टर डोजको रूपमा लगाइसकेको जानकारीमा आएकाले त्यो खोप पनि नेपालमा बुस्टर डोजको रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ।

कुनै पनि बुस्टर डोज दिँदा जोखिम हुने भएकाले सकेसम्म पहिल्यैै प्रयोग भएका खोप दिनाले नेपाल जस्तो कम विकसित देशका लागि सुरक्षित हुने डा.अधिकारीले सुझाए। हतारमा बुस्टर डोज लिए पनि नलिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा मात्र कोभिड–१९ का परिवर्तित भेरियन्ट संक्रमणको जोखिमबाट बच्न सकिने डा. अधिकारीको सुझाव छ। तर नेपालमा पछिल्लो समय खोप लिएपछि सबैले लापरबाही गरिरहेको पाइएको उनको भनाइ छ।

प्रकाशित: २८ मंसिर २०७८ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App