१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

लिमचुङबुङमा वडाव्यापी ‘महिला स्वास्थ्य शिविर’

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका महिलाहरु। तस्बिर: महेश्वर/नागरिक

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङले महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गाउँपालिकाको ५ वटै वडाबासी महिलाको स्वास्थ्य उपचारलाई लक्षित गरेर मंगलबारदेखि सुरु शिविर आउँदो शनिबारसम्म चल्ने छ।

महिलाहरुको बच्चादानी (पाठेघर)मा हुने क्यान्सरबाट बँचाउन गाउँपालिकाको महिला विकास शाखाले ‘निशूल्क स्कृनिङ शिविर’ आयोजना गरेको हो। गाउँपालिका केन्द्र बाराहास्थित ३ नं. वडादेखि सुृरु शिविर ५, ४, २ र १ नं. वडासम्म आउँदो १३ गते सम्पन्न हुने सहायक महिला विकास निरीक्षक सुनिता लिम्बुले बताईन्। उनका अनुसार पहिलो दिन मंगलबार बाराहा स्वास्थ्य चौकीमा, दोस्रो दिन बुधबार ५ नंं. वडा जाँतेमा शिविर सम्पन्न भईसकेको छ भने तेस्रो दिन बिहीबार ४ नंं. वडा बलम्ता स्वास्थ्य चौकीमा विहानदेखि सुरु भएको छ।

शुक्रबार २ नंं. वडाको ताम्लिछा स्वास्थ्य चौकी र अन्तिम दिन शनिबार वडा नंं १ को बाँसबोटे स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ। शिविरमा उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छवित्रा राई नेतृत्वको स्वास्थ्य टोली पचिालन गरिएको छ। ओरेक नेपाल र लिमचुङबुङ गाउँ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीसहितको टोलीले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार गरिरहेको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए।

पहिलो दिन बाराहा स्वास्थ्यचौकीमा सम्पन्न शिविरमा ३८ महिलाको स्वास्थ्य उपचार भएकोमा आधादर्जन हाराहारीको अवस्था जटिल पाइएको राईले बताए। त्यस्तै जाँतेमा सम्पन्न शिविरमा ५३ जना महिलाको स्वास्थ्य परीक्षण भएको छ भने ६ जनाको अवस्था जटिल पाइएको छ। स्वास्थ्य चौकी जाँतेकी निमित्त इन्चार्ज निशा शर्माका अनुसार विहान १० बजेदेखि सुरु शिविर दिउँसो ४ बजेसम्म चलेको र साविक १ देखि ९ वटै वडाबाट उल्लेख्य महिलाको सहभागिता रहेको थियो।

महिलाको स्वास्थ्यमा अक्सर हानि गर्ने बच्चादानीको उपचारका लागि सबै वडाबासी महिलालाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए। उनका अनुसार जटिल खालका बिरामीलाई पहिलो चरणको उपचारस्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम भईरहेको छ भने क्यान्सरोन्मुख बिरामीको शल्यक्रिया (अप्रेसन) गर्न सुविधा सम्पन्न अस्पतालमा पठाउने योजना गाउँपालिकाले लिएको छ।

अधिकृत लिम्बुले यौनजन्य रोग भएका कारण अधिकतर महिलाले लुकाएर राख्ने यो रोगको उपचार सहज बनाउन शिविरले सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको बताए। महिलामा हुने र खासगरी यौनजन्य रोग भएकाले धेरैले लाज र शरमले लुकाउने गर्दा यो रोग वर्षेनी बढ्दै गएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन शिविर सञ्चालन गरिएको उनले बताए।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App