४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा झण्डै १४ हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा झण्डै १४ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। २१ हजार बढी भने कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा छन्। 

जिल्ला प्रशासन कार्यालयले मंगलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ हजार ७ सय ७९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। कोरोनाविरुद्धको पूर्ण खोप भन्नाले दुई मात्रा(डोज) लगाउनुपर्ने भेरोसेल र कोभिशिल्ड तथा एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएकाहरुको संख्यालाइ जनाउँछ। 

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार ताप्लेजुङमा अहिले सम्म ३५ हजार १ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यो मध्ये कोरोनाविरुद्धको खोपको पहिलो मात्रा(डोज)मात्र लगाउनेको संख्या २१ हजार ३ सय ५९ रहेको छ। प्रशासन कार्यालयका अनुसार यहाँ अहिले सम्म ५ हजार ८ सय ७० जनाले भेरोसेलविरुद्धको खोपको दुबै डोज लगाएका छन्। 

१५ हजार १ सय ९७ जनाले भेरोसेल खोप लगाएकोमा ९ हजार ३ सय २७ जनाले दोस्रो डोज लगाउन बाँकी रहेको छ। यस्तै १४ हजार १ सय ९१ जनाले कोभिशिल्ड खोप लगाएकोमा १२ हजार ३२ जनाले दोस्रो डोज लगाउन बाँकी रहेको छ। एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप भने ५ हजार ७ सय ५० जनाले लगाएका छन्।  

संक्रिय संक्रमित १४ प्रतिशतमा झर्‍यो  

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या १४ प्रतिशतमा झरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ताप्लेजुङमा अहिले सक्रिय कोरोना संक्रमित संख्या ३ सय ४ जना रहेका छन्।

कूल २ हजार २ सय ९२ जनामा संक्रमण देखिएकोमा १ हजार ९ सय ७२ जना संक्रमणमुक्त भएका छन्। यो हिसावले संक्रमणमुक्त हुनेको संख्या ८६ प्रतिशत पुगेको छ। सक्रिय संक्रमितमध्ये ४ जनालाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको,१४ जना अस्पतालको कोभिड उपचार केन्द्रमा सामान्य तवरले उपचार गराइ रहेको र २ सय ८६ जना होम आइसोलेसनमा रहेको समेत प्रशासन कार्यालयले जनाएको छ। 

जिल्ला भित्रै मृत्यु भएकाहरुको संख्या मात्र अद्यावधिक गर्ने जिल्ला प्रशासन कार्यालयले कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता यहाँ अहिले सम्म १६ जनाले ज्यान गुमाएको बताएको छ। जिल्ला भित्र र थप उपचारका लागि जिल्ला बाहिर पुगेर समेत मृत्यु हुनेको भने २२ पुगिसकेको छ।

प्रकाशित: १ भाद्र २०७८ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App