६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना महामारीका कारण भोकमरीमा अत्यधिक वृद्धि

२०२० मा विश्वमा भोकमरी अत्यधिक हिसाबले बढेको संयुक्त राष्ट्र संघले बताएको छ। कोभिड–१९ को कारण यो बढोत्तरी भएकोे संघले जनाएको छ। भोकमरीको सम्पूर्ण मापन नभए पनि विश्वको कुल जनसंख्याको १० प्रतिशत अर्थात् ८१ करोड जनसंख्या गत वर्ष कुपोषणको सिकार भएका छन्। भोकमरीको यो वृद्धिले सन् २०३० सम्म विश्ववाट भोकमरी हटाउने संयुक्त राष्ट्र संघको उद्देश्य पूरा हुन ठूलो प्रयास गर्नुपर्ने देखिएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि नियोग(एफएओ), कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड), युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनले संयुक्त रूपमा प्रकाशन गरेको सन् २०२० मा खाद्य सुरक्षा र पोषणको अवश्था नामक प्रतिवेदनका अनुसार सन् २०३० मा विश्वको भोकमरीलाई शून्यलाई झार्ने उद्देश्य पूरा हुन नसक्ने देखिएको छ।  

प्रतिवेदनले विश्वका ६६ करोड मानिस त्यतिबेला पनि भोकमरीको समस्यामा रहने आंकलन गरेकोछ। दिगो विकास लक्ष्यको दोस्रो नम्बरमा उद्देश्यमा सन् २०३० सम्म भोकमरीलाई शून्यमा झार्ने लक्ष्य लिइएको छ। महामारीले विश्वका विभिन्न भागमा आर्थिक मन्दी सिर्जना भएको र यसले खाद्यवस्तुको पहँुचलाई नराम्ररी बिथोलेको प्रतिवेदनमा भनिएको छ। महामारी अगाडि पनि द्वन्द्व, जलवायु परिवर्तन तथा गिर्दाे आर्थिक वृद्धिले शून्य भोकमरीको लक्ष्यलाई हासिल गर्न चुनौती दिएकोमा कोरोना महामारीले यसलाई झन् बढी प्रभावित पारेको देखिएको छ। सन् २०३० सम्म भोकमरीमै रहन सक्ने ६६ करोड जनसंख्यामध्ये ३ करोड जनसंख्या महामारीको दिर्घकालीन प्रभावबाट प्रभावित हुने प्रतिवेदनमा आंकलन गरिएको छ।  

संयुक्त राष्ट्रसंघका यसअघिका प्रतिवेदनमा पनि वालवालिकामा खाद्य सुरक्षा कमजोर भएको उल्लेख गरिएको थियो। तर महामारीले खाद्य प्रणालीका कमजोरीलाई उदांगो पारेको देखिएको छ। सन् २०१० देखिनै विश्वमा भोकमरी बढ्दो क्रमा थियो। सन् २०१९ मा ८ दशमलव ४ प्रतिशत मानिस कुपोषणबाट प्रभावित भएकोमा सन २०२०मा यो प्रतिशत बढेर ९ दशमलव ९ पुगेकोछ। कुपोषणमा प्रभावित विश्वको कुल जनसंख्यामध्ये एसियाले आधा र अफ्रिकाका एकतिहाइ हिस्सा लिएको छ भने ल्याटिन अमेरिका तथा क्यारेबियन राष्ट्रमा पनि यसको दर उच्च छ। सन् २०२०मा अफ्रिकामा भोकमरीको अवश्थामा २१ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा भनिएको छ। यसैगरी विश्वका २.३ अर्ब मानिसलाई वर्षभरि खान पुग्ने खाद्यवस्तुमा पहुँच नभएको देखिएको छ।  

कुपोषणले हरेक उमेर समूहलाई प्रभावित गरे पनि सबैभन्दा बढी बालबालिका प्रभावित रहेको देखिएकोछ। सन् २०२०मा ५ वर्षमुनिका १४ करोड ९० लाख बालबालिकाले उमेर अनुसारको शारीरिक उचाइ हासिल नगरेका तथा ४ करोड ४० लाख अत्यन्त दुब्ला पातला रहेका र ३ करोड ९० लाख अत्यधिक वजनका रहेका देखिएको छ। संयुक्त राष्ट्र संघले यो समस्याको समाधानका लागि उपयुक्त नीतिको तत्काल कार्यन्वयन गर्न आवश्यक रहेको बताएको छ।

प्रकाशित: ३१ असार २०७८ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App