१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘तपाईँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापककाे उपाधि दिएको हो ?’

वीपीका उपकुलपतिलाई चिकित्सकहरुको प्रश्न

वीपी प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले आज बुधबार बिहान निकालेको र्‍याली। तस्बिर: रोहित /नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएका छन्।  

चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोख्रेललाई स्पष्टीकरण सोधेपछि आन्दोलित भएका प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले उपकुलपति गिरीको प्राध्यापक उपाधिप्रति प्रश्न उठाएका हुन्। उनीहरुले कुन मितिमा, कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? यसबारेमा प्रष्ट पार्न आग्रह गरेका छन्।  

आज बिहानै चिकित्सक तथा विद्यार्थीहरुले यही प्रश्न उल्लेख गरिएको ब्यानरसहित र्‍याली निकालेका थिए। ‘यहाँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? सो पत्रको फोटोकपि पनि उपलब्ध गराइदिनु होला,’ संयुक्त संघर्ष समितिको ब्यानरमा लेखिएको छ।  

यसैगरि, उपकुलपति डा.गिरीका सोधहरु कुन कुन जर्नलमा, कहिले कहिले प्रकाशित भएको छ ? उक्त सोधहरुको डिओआई पनि उपलब्ध गराइदिन आन्दोलित चिकित्सकहरुले माग गरेका छन्। प्रतिष्ठानको उपकुलपति हुन सोध गरेको तथा प्राध्यापक उपाधि प्राप्त गरेको व्यक्ति हुनुपर्छ।  

प्रतिष्ठानका हाल उपकुलपति रहेका डा.गिरी भने प्राध्यापक उपाधि प्राप्त नभएको यहाँका चिकित्सकहरुले आरोप लगाउदै आएका छन्। डा.गिरीलाई गत बर्ष तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिशमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका थिए। एमाले नेता ढकाललाई चुनाव जिताउन सहयोग गरेको कारण उनले डा.गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा सिफारिश गरेका थिए।

शिक्षक कल्याण समाजका महासचिव डा.एस.पी.रिमालले उपकुलपि प्राध्यापक नै होइनन् भनेर धेरै समाचारहरु आइरहदा प्रतिष्ठानकै मान, प्रतिष्ठामा आँच पुगेको भन्दै त्यो आरोपलाई गलत सावित गर्न आफुहरुले प्रमाण माग गरेको बताए। ‘हाम्रो उपकुलपति प्राध्यापक नै होइनन् भन्दा हामीलाई पनि राम्रो लागेको छैन, त्यसैले जर्नलमा के के प्रकाशित भएको छ दिनुस्, कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि दिएको हो, प्रमाण दिनुस्, हामी पत्रकारहरुलाई देखाइदिन्छौं भनेका हौं,’डा.रिमालले भने,‘उपकुलपतिको मात्र होइन, वीपी प्रतिष्ठान र हामी सबैको इज्जत जोगाउनुपर्ने छ।’

वीपी प्रतिष्ठान पछिल्लो समय एक पछि अर्को समस्या सृर्जना भइरहेको छ। स्वास्थ्य सेवा गुणस्तरीय नभएको आम गुनासो बढीरहदा यहाँका पदाधिकारीहरु भने व्यापारीको स्वार्थमा रुमलिएर एकापसमै मनमुटाव बढेको आरोप छ। बिशेष गरि उपकुलति डा.गिरी र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीबीच तिक्तता बढेको प्रतिष्ठानकै चिकित्सक, कर्मचारीहरुको भनाई छ। प्रतिष्ठान दिन प्रतिदिन धरासायी हुदै गएको भन्दै धरानका नागरिक अगुवाहरुले नागरिक दबाब सञ्जाल गठन गरेर सुधारको लागि दबाब दिएको छ। फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेलले अनियमितताबारे अख्तियारको ध्यानार्कषण गराउदा उपकुलपतिले स्पष्टीकरण सोधेपछि अहिले चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन्।  

प्रकाशित: २ असार २०७८ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App