७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउँदै विद्यार्थीहरु आन्दोलित

वीपी प्रतिष्ठानका फ्याकल्टी, जेआर र विद्यार्थीहरु उपकुलपति कार्यालयअघि विरोध सभा गर्दै। तस्बिर: रोहित/नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई कारबाहीको लागि स्पष्टीकरण सोधिए पछि यहाँका फ्याकल्टी, जेआर र विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजका अध्यक्ष डा.विष्णु पोख्रेललाई आइतबार ३ दिने स्पष्टीकरण सोधेका थिए । अनियमितता र बेथितीबारे आवाज उठाउने व्यक्तिलाई नै कारबाही गर्न स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका फ्याकल्टी, जुनियर रेसिडेन्ट र विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। 

उनीहरुले मंगलबार बिहान ८ बजेदेखि उपकुलपति कार्यालयअघि विरोध सभा गरे । उपकुलपतिले स्पष्टीकरण सोध्ने कार्य फिर्ता लिएर माफी नमागेसम्म दैनिकरुपमा बिहान ८ बजेदेखि विरोध सभा र र्याली गर्ने फ्याकल्टी, जेआर र विद्यार्थीहरुले घोषणा गरेका छन्।  

फ्याकल्टी अध्यक्ष डा.पोख्रेलले केही दिनअघि वीपी प्रतिष्ठानलाई ध्वस्त पार्ने, निजी मेडिकल कलेजलाई काखी च्याप्ने माफियालाई कारबाही गर्न अख्तियार प्रमुखलाई एसएमएस तथा फोन गरेर दबाब दिन भन्दै सामाजिक सञ्जालमा आह्वान गरेका थिए। सोही बिषयलाई लिएर उपकुलपति डा.गिरीले प्रतिष्ठानको नियमावलीमा उल्लेखित आचारसंहिता विपरीत कार्य गरेको भन्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएका हुन्।  

डा.पोख्रेलका अनुसार उनले सोमबार राती करिब ७ बजेतिर मात्र स्पष्टीकरण सोधिएको पत्र पाएका छन्। तर उनलाई स्पष्टीकरण सोधिएको पत्र भने आइतबार नै मिडियामार्फत सार्वजनिक भइसकेको थियो। ‘मलाई स्पष्टीकरण सोधिएको पत्र अनलाइनमार्फत हेर्न पाएँ, मेरो हातमा सोमबार मात्रै आयो। प्रशासनिक गोपनीयता खै ? ’उनले भने,‘मलाई चुप लगायो भने वीपीमा अरु कोही पनि बोल्दैनन् भन्ने सोचेर स्पष्टीकरण सोधिएको हो। यहाँ बेथिती धेरै छन्, जसले बोल्ने साहस गदैछ, उसको बोली बन्द गर्ने प्रयास हुदैछ।’

सोसाइटीका महासचिव डा.एसपी रिजालले सम्बन्धित व्यक्तिले पत्र पाउनु अघि नै मिडियाबाट पत्र सार्वजनिक गरेर गोपनियता भंग गर्नेलाई कारबाही गरिनुपर्ने बताए। साथै, संविधान प्रदत्त अधिकार उपयोग गर्दा स्पष्टीकरण सोध्ने कार्य फिर्ता लिएर उपकुलपतिले सार्वजनिक माफी नमागेसम्म आन्दोलन जारी रहने पनि महासचिव डा.रिजालले बताए। जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले प्रतिष्ठानमा धेरै समस्या भएको बताए।  

उनले विरामीहरुले राम्रो सेवा नपाइरहेको खुलाउदै त्यसविरुद्ध आवाज उठाउन आवश्यक भइसकेकोमा जोडदिए। ‘अब पदाधिकारीहरुले स्पष्टीकरण दिनुपर्छ, यहाँ किन राम्रो सेवा पाउदैनन ? किन फार्मेसी चल्दैन ? किन भित्रै औषधी किन्न पाउदैनन् ? किन ल्याबको परीक्षण राम्रो हुदैन?,’नेपालीले भने,‘किन विभिन्न विभागको मेशिनहरु बिग्रेको बन्दैन? सिटि स्क्यान किन बिग्रिरहन्छ ? अल्ट्रासाउण्ड मेशिन पुराना छन्। डेण्टल चियर हरेक विभागमा ३०, ४० वटा चल्नुपर्नेमा २, ४ वटा मात्र मुश्किलले किन चल्छ ?’

प्रकाशित: १ असार २०७८ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App