६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

उदयपुर कोभिड अस्पताललाई नि:शुल्क औषधि बितरण गर्दै आयुर्वेद संघका पदाधिकारी । तस्बिर: महेश्वर/नागरिक

उदयपुरका कोभिड बिरामीलाई आयुर्वेदिक औषधि नि:शुल्क बितरण गरिएकाे छ। काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।

सदरमुकाम गाईघाटस्थित कोभिड आईसोलेसन अस्पताल र चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारस्थित उदयपुर कोभिड अस्पतालका संक्रमितलाई उपचारार्थ विभिन्न ५ खालका औषधि उपलब्ध गराइएको संघले जनाएको छ। संघका अध्यक्ष ओमराज लिम्बुसहित पदाधिकारी र चिकित्सक टोली अस्पतालमै पुगेर औषधि दिएको हो।

अध्यक्ष लिम्बुका अनुसार दुवै अस्पताललाई २४ प्याकेट अश्वगन्धा चुर्ण, १२ प्याकेट तुलसी चिया, १२ प्याकेट क्रकटु चुर्ण, १० प्याकेट गिलोय इम्युनो र १२ प्याकेटका दरले सीतापलादी चुर्ण बतिरण गरिएको छ। दुवै अस्पताललाई गरी ५० हजार मूल्यबराबरको औषधि बितरण गरिएको संघले जनाएको छ। 

कोभिड संक्रमितले नियमित सेवन गरे उपचार हुने तथा आत्मबल बढाउनुका साथै प्रतिरोधात्मक क्षमता बृद्धि गर्न यो औषधि प्रमाणित भएको लिम्बुले बताएका छन्। कोभिड संक्रमितलाई आत्मबल बलियो बनाउनु नै उपचारमा सहयोग पुग्ने भएकाले यो औषधि लाभदायक सावित भएकाले बितरण गरिएको उनको भनाई छ।  

यसअघि पनि आयुर्वेद औषधि नि:शुल्क बितरण गरिएको थियो। दुईसाताअघि सम्राट आयुर्वेद गाईघाट र धनवन्तरी आयुर्वेद बेलटारले गाईघाट र बेलटारका संक्रमित र असंक्रमति दुवैखालका परविारलाई ‘इम्युन क्वाथ’ नामक औषधि बितरण गरेका हुन्। त्यसबेला ६० घर परिवारलाई सो औषधि बितरण गरिएको सम्राट आयुर्वेदका सञ्चालक अनिल कटुवालले बताए। गुडुची, दालचिनी, ल्वाङ, मरिच, सुकुमेल, तुलसीपत्ता, जेठी मधु, बेसार, अदुवा, बोजो, अश्वगन्धा, पञ्चतुल्ली, अर्जुनघालजस्ता जडिबुटीको धुलो मिलाएर बनाइएको इम्युन क्वाथ चुर्ण कोविडको उपचारमा सफल औषधि मानिने कटुवालले बताए।

उनका अनुसार उक्त चुर्ण विहान बेलुका ५ मिनट पानीमा उमालेर खाली पेटमा पिउँदा मान्छेको प्रतिरोधात्मक क्षमता बढाउने हुनाले कोभिड लाग्नबाट रोक्नुका साथै संक्रमितलाई उपचार गर्न सहयोग गर्छ। अहिलेको महामारीमा संक्रमित भएर उपचार गर्नुभन्दा संक्रमणबाट बँच्नु नै उत्तम उपाय भएको भन्दै आयुर्वेदिक औषधिको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।

प्रकाशित: १८ जेष्ठ २०७८ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App