१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुर्गममा अस्पताल: जटिलताका बीच पनि गतिलो सेवा दिँदै

रोल्पा अस्पताल । तस्बिरः दिनेश/नागरिक

कोरोना संक्रमणले देशैभरका अस्पताल स्वास्थ्य संस्थामा सकस उत्पन्न गराएको छ। सुगमभन्दा दुर्गमका अस्पताल र स्वास्थ्य संस्थाहरु बिभिन्न अभावका बीचमा गुज्रिरहेका छन्। केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले स्वास्थ्यलाई कहिल्यै प्राथमिकतामा नराखेका कारण अहिलेको महामारीमा थप समस्या उत्पन्न भएको हो। 

यतिबेला मक्किएर चर्किएका भित्तामाथि पानी चुहिने छानो मुनिको रोल्पा अस्पतालभित्र ठाउँ नपुगेपछि बाहिर टिनको छाप्रो मुनि समेत शैया थपेर बिरामी राखेरै पनि चिकित्सकले रोग निको बनाउने जोहो गरि रहेका छन्।

रोल्पा जिल्लाका धेरै नेतृत्व सिंहदरवारको शैयामा पटक पटक बिराजमान भए पनि अस्पताललाई फर्केर नहेरेका कारण जहिले पनि रोल्पाली स्वास्थ्य सेवामा ठगिनु परेको हो । राजधानी र राज्य संचालकको नजर भन्दा टाढाको रोल्पा अस्पतालले बिभिन्न अभाब र जटिलताका बीचमा पनि गतिलो सेवा दिईरहेको छ । जनस्तरबाट कहिल्यै कुनै गुनासो नआउने यो अस्पतालले यति ठूलो महामारीमा पनि रोल्पालीलाई सहजता बनाई रहेको छ । यसका लागि यहाँका चिकित्सक र स्वास्थ्यकर्मी सम्झना र धन्यवादका पात्र हुन ।

अस्पतालका हरेक गतिबिधि नजिकबाट हेरेका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसि सेवा प्रबाहका हिसाबले कुनै गुनासो नरहेको बताउँछन् । ‘अस्पतालका डाक्टर र अन्य स्वास्थ्यकर्मीसंग सन्तुष्ट छु ।’ केसिले भने ‘केन्द्र सरकार र प्रदेश सरकारले अस्पताललाई हेर्नु पर्ने जती हेरेको छैन । बरु स्थानीय सरकारका तर्फबाट सकेजती गरेक छौ ।’ उनी भन्छन्, ‘यति ठूलो महामारीमा पनि स्वास्थ्यकर्मीहरुले दिनरात नभनी जोखिम मोलेरै सेवा दिईरहनु भएको छ । उहाँहरुलाई हौसला र सहयोगको खाचो छ ।’

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसि जस्तै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचन मगर पनि अस्पतालका स्वास्थ्यकर्मीले दिईरहेको सेवा प्रति नतमस्तक छन् । ‘उहाँहरुको सेवा प्रति आम रुपमा कुनै गुनासो छैन । प्रबिधि र सुबिधाका अभाबमा पनि राम्रो सेवा दिईरहनु भएको छ । यतिबेला उहाँहरुलाई थप हौसला र सहयोगको खाचो छ ।’ अध्यक्ष नबिन पनि राज्यका तर्फबाट अस्पताललाई प्रयाप्त सहयोग नभएको बताउँछन् । उनी भन्छन्, ‘दीर्घकालीन सहजताका लागि राज्यले बेलैमा नजर पुराउनै पर्छ ।’  

यहाँका चिकित्सकहरु समस्यै समस्याका बीचमा काम गरिरहेको बताउँछन् । ‘सानो संरचनालाई टालटुल गरेर सेवा दिईरहेका छौ । स्टाफ थोरै छौ, ज्यानको बाजि लगाएर काम गर्नु पर्ने अवस्था छ ।’ रोल्पा अस्पताल प्रमुख डा. प्रकाश बहादुर बुढा भन्छन्, ‘बीचमा अक्सीजन र एन्टीजेन लगायतका स्वास्थ्य सामाग्री अभाबले निकै तनाब भयो तर अहिले त्यो समस्या अलि घटेको छ । अन्य सेवामा पनि गाह्रो भएको छ । कोरोना डरका कारण बिरामी सिरियस भए पछि मात्र आउँछन् ।’  

डा. प्रकाशका अनुसार अहिले अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ठाउँ अभाबका कारण उनिहरुलाई ब्यवस्थापन गर्न समस्या भएको छ । ‘हामि संग १५ शैयाको क्षमता हो तर यता उति गरेर ५७ वटा शैया ब्यवस्थापन गरेका छौ ।’ यतिबेला अस्पतालमा २४ शैया आईसोलेसनका लागि छुट्याईएको छ । त्यसो त अस्पतालले दिईरहेका नियमित सेवा पनि कहिल्यै रोकेको छैन ।  

यसपाली पनि बार्षिक बजेटमा जिल्ला कै एक मात्र अस्पताललाई १५ शैयाबाट स्तर उन्नतिका लागि संबोधन गरिएको छैन । जिर्ण भवन, थोरै जनशक्ति, सधै अभाव हुने स्वास्थ्य सामाग्रीका बीचमा जेनतेन संक्रमितलाई बिरामी मैत्री सेवा दिईरहेका छन् । प्रदेश मातहतमा गएको रोल्पा अस्पताललाई लुम्बिनी प्रदेशले जस्तै केन्द्र सरकारले पनि हेर्न छोडेको छ । जिल्ला अस्पताल भएकाले स्थानीय तहहरुले हाम्रो जिम्मेवारी हैन भन्ने बुझाईका कारण अस्पताललाई गतिलो सहयोग गर्ने गर्दैनन् ।

प्रकाशित: १७ जेष्ठ २०७८ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App