४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जुम्लाका स्थानीय तहमा ५० बेड आइसोलेसन, ५ बेडको कोभिड अस्पताल अनिवार्य

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले कोरोना संक्रमणको बढ्दो दरलाई मध्येनजर गर्दै हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन र ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।  

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट तीव्र रूपमा संक्रमण बढेको हुँदा हरेक स्थानीय तहले न्युनतम ५० बेड आइसोलेसन र ५ बेडको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याउन आइसोलेसन पूर्वाधार व्यवस्थापन गर्न जुम्लाका सबै पालिकालाई अनिवार्य बनाउन आग्रह गर्ने निर्णय गरेको हो। चिकित्सक व्यवस्थापन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निर्णय भएको कोभिड-१९ संकट व्यवस्थापन समितिले जनाएको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयले हरेक पालिकाका स्वास्थ्य शाखाका कर्मचारीसंग समन्वय गरि कन्ट्र्याक्ट ट्रेसिङको दायरा बढाउन कार्ययोजनासहित परीक्षणको क्षेत्र बढाउने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।  

जुम्ला उद्योग वाणिन्य संघ, जुम्लाले आफ्नो सभाहल आइसोलेसनको रूपमा प्रयोग गर्न दिने र दुई महिनाका लागि कोभिड एम्बुलेन्स (फ्रि) सेवाको लागि उपलब्ध गराउने प्रतिबद्धता गरेको पनि बैठकमा जानकारी गराइएको थियो। यसअघि संघीय सांसद गजेन्द्रबहादुर महतले एम्बुलेन्स व्यवस्थापनका लागि संसद विकास कोषको १० लाख रुपैयाँ उपलब्ध गराउने जनाइसकेका छन्।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट उत्पादनका लागि चाहिने विद्युत आपूर्ती पिक आवर बाहेक अन्य समयमा विद्युत् प्राधिकरण जुम्ला शाखाले उपलब्ध गराउने निर्णय भएको छ। यो संगै जुम्लामा अक्सिजन उत्पादन हुने निश्चित भएको छ।  

निषेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजी सवारी साधन अनिर्वाय रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्ने, कोभिड–१९ को तीव्र संक्रमण बढेको र जनसमुदायको लापरबाही बढेकोले जेठ १ गतेको दिउँसो १२ बजेदेखि जेठ महिनाको ११ गतेसम्म औषधि पसल बाहेक सम्पूर्ण सेवा बन्द गरि १० दिनसम्म पूर्ण निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गर्ने निर्णय भएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App