५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन अभावले प्रदेश अस्पतालले नयाँ संक्रमित भर्ना नगर्ने

अक्सिजन अभाव भएपछि कर्णाली प्रदेश कोभिड अस्पतालले नयाँ संक्रमित भर्ना नगर्ने भएको छ।

बाँकेको नेपालगन्जबाट आवश्यक अक्सिजन आउन छोडेपछि नयाँ संक्रमित भर्नामा समस्या भइरहेको हो। प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काका अनुसार बुधबारबाट दैनिक ५० वटा सिलिन्डर अक्सिजन मात्रै नेपालगन्जबाट आइरहेको छ। ‘प्रदेश अस्पतालमा दैनिक तीनदेखि चारसय सिलिन्डर आवश्यक पर्छ,’ अस्पताल निर्देशक डा. खड्काले भने, ‘बुधबारदेखि सप्लाई न्यून भएकाले नयाँ संक्रमित भर्ना गर्न समस्या भइरहेको छ।’

बुधबार अघिसम्म सुर्खेतमा दैनिक १३० देखि १५० सम्म अक्सिजन सिलिन्डरहरु आउँथ्यो। बाँकेमा दुईवटा अक्सिजन प्लान्ट छन्। स्थानीयको अवरोधका कारण बाहिरबाट अक्सिजन भर्न जानेहरु समस्यामा पर्ने गरेका छन्। डा. केसीले जनशक्ति र बेड भएपनि अक्सिजन अभावकै कारण नयाँ बिरामी भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको बताए।

कर्णाली प्रदेश अस्पतालमा अहिले ९८ जना संक्रमितहरुको उपचार भइरहेको छ। अक्सिजनको मात्रा पर्याप्त भएमा दुई सयसम्म कोरोना संक्रमितहरुलाई उपचार गर्न सकिन्छ।

‘अक्सिजन अभावमा अहिले ‘हाई फ्लो’का संक्रमितहरुलाई मात्रै भर्ना लिने गरेका छौं,’ डा. खड्काले भने, ‘अन्य संक्रमितलाई परामर्श दिँदै घर पठाउँदै गरेका छौं।’ प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा छन्। ती प्लान्टबाट ‘हाइ फ्लो’ मा अक्सिजन दिन मिल्दैन्।

बाँके जिल्ला प्रशासन कार्यालयले सुरुमा भेरी अस्पताल र त्यसपछि कोहलपुर मेडिकल कलेजका लागि आवश्यक अक्सिजन सिलिण्डर नभर्दासम्म अन्य जिल्लाबाट लगिएका सिलिण्डरहरु भर्न दिँदैन्। सुर्खेतमा श्रीराम सप्लायर्स र पवनपुत्र ट्रेडर्सले मात्रै अक्सिजन वितरण गर्ने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी छवी रिजालले अक्सिजन आपूर्तिलाई सहज बनाउन छलफल भइरहेको बताए। ‘बिरामीका आफन्तहरु आफै सिलिण्डर बोकेर बाँकेका अक्सिजन प्लान्टमा पुगेर अवरोध गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘अक्सिजनको सहज आपूर्तिका लागि छलफल भइरहेको छ।’

प्रकाशित: ३१ वैशाख २०७८ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App