५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मेडिकल कलेजसँग पाँच दिन मात्रै पुग्ने अक्सिजन

बाँकेसहित पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट आएका कोरोना संक्रमितको चाप नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दिनहुँ बढ्दो मात्रामा छ। संक्रमित बिरामीको चापलाई अस्पतालले थेग्नै गाह्रो छ। अस्पतालसँग भएका सबै बेड भरिभराउ छन्। अक्सिजन अभावका कारण अस्पतालले सीमित संख्यामा मात्र कोरोना संक्रमितको उपचार गरिरहेको छ। अस्पतालमा बेड नपाउँदा संक्रमितले ज्यान गुमाइरहेका छन्।  

एक सय ३५ बेड क्षमताको कोभिड वार्ड सञ्चालन गरिरहेको शिक्षण अस्पतालमा आइतबार दिउँसोसम्म ८० जना संक्रमित उपचाररत छन्। ‘लिक्विड’ सहितको अक्सिजन अभाव भएको भन्दै अस्पतालले केही दिनअघि थप बिरामी भर्ना गर्न नसकिने जनाएको थियो। अस्पतालमा आइतबार एक ट्यांकर लिक्विड अक्सिजन आए पनि यो पर्याप्त नभएको अस्पतालका चिकित्सक बताउँछन्। मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले शिक्षण अस्पताल कोहलपुरमा आइतबार अपराह्न एक ट्यांकर लिक्विड अक्सिजन आए पनि कोरोना संक्रमितको उपचारमा धेरै दिन नपुग्ने सुनाए। ‘यो अक्सिजनले अस्पताललाई पाँच दिन जति मात्रै पुग्ला, यसले थोरै मात्र राहत मिलेको छ,’ उनले नागरिकसँग भने, ‘पाँच दिनपछि फेरि पनि समस्या बल्झिन्छ।’

अस्पतालमा अक्सिजन ट्यांक नआउँदै सामाजिक सञ्जालमा फैलाइएका सूचनाका कारण दिनभर विभिन्न जिल्लाबाट भर्नाका लागि फोन आएको र कतिपय बिरामी पनि भर्ना हुन आएको निर्देशक श्रेष्ठले बताए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान नेपालगन्ज मेडिकल कलेजका लागि लिक्विडसहितको अक्सिजन ट्यांकर आइपुगेको भन्दै सामाजिक सञ्जाल स्टाटस लेखेका थिए। ‘वीरगन्ज नाकाबाट एक ट्यांकर लिक्विड अक्सिजन आउन लागेको र बेलुकीसम्म आइपुग्ने कुरा मात्रै मैले बताएको हुँ, तर उहाँ (मुख्यमन्त्री)ले अक्सिजन पुगिसक्यो भनेर बिहानै फेसबुकमा लेखिदिनुभयो,’ श्रेष्ठले भने, ‘अक्सिजन नआउँदै सार्वजनिक गरिदिदाँ बिरामीका आफन्तलाई सम्झाउनै गाह्रो भयो, कतिपय त हामीसँग रिसाउनु पनि भयो।’ मुख्यमन्त्रीले गलत सूचना सार्वजनिक गरेको भन्दै बाँकेवासीले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।

प्रकाशित: २७ वैशाख २०७८ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App