१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

केएमसीमा संक्रमितको शल्यक्रिया, किस्टमा डेलिभरी

काठमाडौं मेडिकल कलेज (केएमसी) मा मष्तिकाघात भई भर्ना भएकी कोरोना संक्रमित बिरामीको चिकित्सकहरूले सफल शल्यक्रिया गरेका छन्। -यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत कोरोना पोजेटिभ देखिएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकहरूले पिसिआर परीक्षणको नतिजा नकुरी तत्काल शल्यक्रिया गरेर बिरामीलाई नयाँ जीवन दिएका हुन्।

बिरामीको स्वास्थ्य स्थिति गम्भीर र संवेदनशील भएको तथा पिसिआर रिपोर्ट प्रतीक्षा गर्दा ज्यान नै जाने स्थिति रहेकाले आवश्यक सुरक्षाका सामग्रीहरू अपनाएर चिकित्सकहरूले जटिल शल्यक्रिया गरेको केएमसी शिक्षण अस्पताल प्रमुख डा. चन्दा कार्कीको भनाइ छ।

‘कोरोनाको बिरामी भनेर शल्यक्रिया रोकेको भए बिरामीको ज्यानसमेत जान सक्थ्यो,’ अस्पतालले भन्यो, ‘चिकित्सकहरूले हिम्मतले सावधानीका साथ शल्यक्रिया गर्दा बिरामीको ज्यान बचाउन सकियो,’ उनले भनिन्। केएमसीमा शल्यक्रिया गरेका दोलाखाका ती बिरामीको पिसिआर रिपोर्टले कोरोना संक्रमण पुष्टि गरेको छ। बिरामीको अवस्था हेरेर तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएपछि सरकारले जारी गरेको निर्देशिकाअनुसार शल्यक्रियापूर्व आरडिटी गर्दा पोजेटिभ देखिएको र परिवारकै सहमतिमा आइसोलेसन आइसियुमा सारेर शल्यक्रिया गरिएको डा. कार्कीले बताइन्।

कोरोना संक्रमित भएको पिसिआर रिपोर्टबाट पुष्टि भएसँगै बिरामीको शल्यक्रियामा संलग्न र सम्पर्कमा आएका करिब साढे दुई दर्जन स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ। केएमसीले क्वारेन्टिनमा राखेका स्वास्थ्यकर्मीमा वीर अस्पतालबाट खटिएका एक स्वास्थ्यकर्मीसमेत रहेका छन्।

लकडाउनको अवधिमा केएमसीले सर्जरीमात्र २३ सय बिरामीको गरेको छ। ओपिडीमा २२ हजारलाई सेवा दिइसकेको र चार सय केस डेलिभरी गरेको डा. कार्कीको भनाइ छ। अस्पतालले कोभिड क्लिनकमा दैनिक ६ सयलाई हेरिरहेको समेत उनले बताइन्।

डा. कार्कीका अनुसार ७६ जनाको स्वाब प्रयोगशालामा पठाएकोमा अब २२ जनाको रिपोर्ट आउन बाँकी छ। त्यसमध्ये एकजनामा मात्र पोजेटिभ देखिएको डा. कार्कीले जनाइन्। कोरोना पोजेटिभ देखिएका बिरामीको सम्पर्कमा रहेका अन्य बिरामीलाई आइसोलेसनमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।

कोरोना संक्रमित भएको पुष्टि भएसँगै स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार गर्ने काम भइरहेको र बिरामीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको छ। अस्पतालले आफैं व्यवस्थापन गरेर कोभिडका कारण उपचारमा वञ्चित नगर्नेगरी काम गरिरहेको उनको दाबी छ।

त्यसैगरी ललितपुरको किस्ट मेडिकल कलेजमा सिजरिङमार्फत डेलिभरी गरेकी महिलालाई पनि कोरोना पोजेटिभ देखिएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले किस्ट कलेजमा गत १२ गते सिजरिङ डेलिभरी भएको ललितपुर सुनाकोठीकी २३ वर्षीया महिलामा पिसिआर पद्धतिबाट परीक्षणमा कोरोना पोजेटिभ भएको रिपोर्ट दिएको छ। किस्ट मेडिकल कलेजले ती महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सकसहित ४५ जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक असिम पाठकको भनाइ छ। सुत्केरीलाई अस्पतालले १५ गते नै डिस्चार्ज गरे पनि स्वाब परीक्षणको पिसिआर रिपोर्ट शनिबार मात्र आएकाले जोखिम बढेको अस्पतालको भनाइ छ।

गत १४ गते किस्टमा नै मृत्यु भएका ५६ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको थियो। किस्टका मृत्यु भएका ती पुरुषको शव पनि सरकारले भोलिपल्ट मात्र उठाएको थियो। सरकारले शव व्यवस्थापनमा तयारी नै नगरेकाले समस्या देखिन थालेको छ। अन्य ठाउँमा पनि पर्याप्त तयारी नहुँदा झन् समस्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ। किस्ट अस्पतालका अनुसार मृत्यु हुनेबित्तिकै सरकारलाई शव व्यवस्थापन गर्न अनुरोध गर्दा सरकारले दुई दिनपछि मात्र शव व्यवस्थापन गरेको थियो।

अस्पतालको कोभिड रेस्पोन्स टिमले डब्लुएचओको मापदण्डअनुसार बनाएको प्रोटोकलको आधारमा क्वारेन्टिनको व्यवस्थापन गरिएको बताउँदै पाठकले सरकारले स्पष्ट मापदण्ड बनाए काम गर्न सजिलो हुने बताए। उनका अनुसार अस्पताले नवलपरासी कावासोतीका एक पुरुषलाई आइसोलेसनमा राखेको छ। त्यस्तै कोरोना संक्रमित मृतकको सम्पर्कमा आएका अन्य तीनजनालाई पनि आइसोलेसनमा राखेर उपचार गरिरहेको उनले जनाए। आफूहरूले व्यक्तिगत सुरक्षाको सामग्रीको व्यवस्थापन गरेर उपचार गरिरहेको र सरकारले सहयोग गरे अस्पताल कोरोनाका बिरामी हेर्न तयार रहेको पाठकको भनाइ छ। 

प्रकाशित: १८ जेष्ठ २०७७ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App