१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रसुवाका दुई स्थानमा ६५ शैयाको क्वारेन्टाइन स्थापना

रसुवा- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको दुई स्थानमा क्वारेन्टाइन स्थापना भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।

धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शैया र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको हो। जिल्लाको पाँचवटै गाउँपालिकामा बुधबारदेखि २ सय १० शैयाको क्वारेन्टाइन सञ्चालनमा आउने छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार अन्य ठाउँमा पूर्वाधारको विकासको काम सकिएको छ। मंगलबार साँझसम्ममा सबै ठाउँमा सामग्री आएर व्यवस्थापनको काम गरिने छ। क्वारेन्टाइन स्थापनाका लागि विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले काम गरिरहेका छन्।

रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना हुने उनले बताए। ‘दुई ठाउँमा स्थापना भइसकेको छ’, उनले भने, ‘बाँकी ठाउँमा आज बेलुकीसम्ममा काम सकिन्छ।’ त्यसैगरी जिल्ला अस्पतालमा २० शैया र ग्रामीण अस्पतालमा १५ शैयाको आइसोलेसन कक्ष सञ्चालन गरिने छ। धुन्चेको साविकको महिला विकास कार्यालयको भवनमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी जिल्लाको विभिन्न स्थानमा हेल्प तथा हेल्थ डेक्स सञ्चालनमा आएको छ। जिल्लाको बेत्रावती, धुन्चे र रसुवागढीमा हेल्थ डेक्स सञ्चालनमा छ। कालिकास्थान, धुन्चे, स्याफ्रु, सरमथली, पारच्याङ, आँपचौर, नागार्जुन र लुम्बुमा हेल्प डेक्स सञ्चालनमा ल्याइएको गाउँपालिकाहरूले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय रसुवाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा गरी चार घण्टा अत्यावश्यक व्यवसाय खोल्न अनुमति दिएको छ। जिल्लाभित्रका औषधि र खाद्यान्न पसल, दुध, खानेपानी, इन्धन बिक्री वितरण गर्ने पसल तथा तरकारी पसल दैनिक चार घण्टा खोल्न अनुमति दिएको हो।

प्रकाशित: ११ चैत्र २०७६ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App