४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपत्यकाका बालबालिकालाई पोलियो खोप अनिवार्य

साउन ९ देखि १२ गतेसम्म अभियान

काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ। यही साउन ९ देखि १२ सम्म उपत्यकाका तीन जिल्लामा पोलियोविरुद्धको खोप दिइने भएको हो।

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।

गत जेठ २३ गते दोभानबाट संकलन गरिएको नमुनामा डिप्राइभ्ड पोलियो भाइरस–३ फेला परेको थियो। विश्व स्वास्थ्य संगठनको हङकङस्थित ल्याबमा परीक्षण गर्दा उत्परिवर्तन भएको भाइरस देखिएको हो।

नयाँ भाइरस देखिएपछि थप बालबालिकामा सम्भावित जोखिम हेरी सरकारले विश्व स्वास्थ्य संगठन तथा अन्य निकायको सुझावलगत्तै उपत्यकाका बालबालिकालाई खोप दिने निर्णय गरिएको हो । बढी जोखिममा हुने भएकाले पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरेको हो।

राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप दिने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

पाँच वर्षमाथिका बालबालिका अति जोखिममा हुने भएकाले खोपबाट कोही छुट्न नहुनेमा उनले जोड दिए। यो उमेर समूहका कुनै पनि बालबालिकालाई खोेप दिन नछुटून् भनेर यसपालि स्वास्थ्यकर्मी घरमै पुगेर खोप दिनेछन्।

घर नभएका बालबालिकाका लागि नजिकैका मन्टेश्वरी स्कुलमा पुगेरै खोेप दिने तयारी भएको खोप शाखाले जनाएको छ। यी दुवै ठाउँबाट खोेप लिन छुटेका बालबालिकाबारे खबर गरिदिन डा. गौतमले अपिल गरे।

चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्र्मी परिचालन गरेको छ। पोलियो खोप युनिसेफले प्रदान गरेको हो भने खोप अभियानका लागि विश्व स्वास्थ्य संगठनले २ करोड ५० लाख रूपैयाँ खर्च उपलब्ध गराउने जनाइएको छ।

प्रकाशित: ७ श्रावण २०८१ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App