९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आँखाको नानीको शल्यक्रिया निःशुल्क

लुम्बिनी प्रदेश सरकारले आँखाको नानीको निःशुल्क शल्यक्रिया सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।

स्वास्थ्य मन्त्रालयले यो सेवा नेपालमै पहिलो पटक लुम्बिनीमा सुरु गरेको दाबी गरिएको छ । ‘स्वास्थ्य मन्त्रालयले प्रदेशका १२ वटै जिल्लाका कुनै पनि बिरामीको आँखाको नानीको शल्यक्रिया निःशुल्क रूपमा गर्ने व्यवस्था गरेको छ,’ स्वास्थ्य मन्त्रालय भन्छ, ‘यो वर्षदेखि प्रारम्भ भइसकेको यो सेवा लिँदा कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्दैन ।’

यो व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालयमातहका अस्पतालमा मात्रै लागु गरिएको छ । ‘लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमातहतका अस्पतालमा यो सेवा सुरु गरिएको हो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयमातहत कुनै पनि अस्पतालमा आँखाको नानीको शल्यक्रिया गर्दा कुनै पनि शुल्क लाग्दैन ।’

मन्त्रालयका अनुसार अहिलेसम्म निःशुल्क रूपमा सेवा लिनेहरूको तथ्यांक भने अस्पतालहरूबाट प्राप्त भइनसकेकाले संख्या यकिन छैन । ‘तर बिरामीले सेवा लिइरहनुभएको छ,’ मन्त्रालय भन्छ, ‘चालु आवदेखि यो सेवा प्रारम्भ भएको हो, चौमासिक रूपमा अस्पतालबाट उपचार प्राप्त गर्ने बिरामीको यकिन विवरण पेस गर्ने भनेर अस्पतालहरूलाई भनिएको छ, यसर्थ अहिलेसम्म उपचार सेवा लिने बिरामीको विवरण आइसकेको छैन ।’

मन्त्रालयका अनुसार आँखाको नानीको शल्यक्रिया गर्न बिरामी अस्पताल पुग्छन् । अस्पतालहरूले आँखाको नानीको शल्यक्रिया गर्नु पर्ने बिरामीको निःशुल्क उपचार गर्छन् । अनि उपचार गर्दा लाग्ने रकम स्वास्थ्य मन्त्रालयमा माग गर्छन् । मन्त्रालयले सोही माग बमोजिम रकम अस्पतालहरूलाई पठाउने व्यवस्था गरेको छ ।  

यसैगरी थारु समुदायका नागरिकमा देखिने सिकलसेल एनिमियाँ रोगका बिरामीको पनि स्वास्थ्य मन्त्रालयले पहिलो पटक स्वास्थ्य बिमा गरिदिने व्यवस्था गरेको छ । यसअघि यो रोगका बिरामीको स्वास्थ्य बिमा हुने गरेको थिएन । थारु समुदायको बाहुल्य यो प्रदेशमा स्वास्थ्य मन्त्रालयले सिकलसेल एनिमियाँका बिरामीको उपचारमा सहजताका लागि स्वास्थ्य बिमाको व्यवस्था गरिदिएको हो । स्वास्थ्य मन्त्रालयको यो निर्णयअनुसार सिकलसेल एनिमियाँको उपचारका लागि स्वास्थ्य बिमामार्फत रकम उपलब्ध हुनेछ । यसअघि यो रोगका बिरामीको उपचारका लागि कुनै पनि सरकारी सहुलियत उपलब्ध थिएन । यो रोग थारु समुदायका नागरिकमा देखिने गरेको छ । यसलाई थारु समुदायको वंशाणुगत रोगका रूपमा समेत मानिँदै आएको छ ।  

रक्त सञ्चारमा देखिने समस्याका कारण छटपटी हुने समस्या यो रोग लागेका बिरामीमा देखिन्छ । मूलतः रगत सञ्चारका क्रममा रगतले आकार बदली हँसिया आकारको बन्ने र रक्त रञ्चारमा कठिनाइको समस्या यो रोग लागेका बिरामीहरूमा देखिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यसअघि यो रोगको उपचार यो प्रदेशको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मात्रै हुने गरेको थियो । तर अहिले प्रदेशका अन्य स्थानमा पनि यो रोगको उपचार प्रारम्भ गरिएको छ ।  

प्रकाशित: ७ आश्विन २०८० ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App