६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब तथा निम्न आय भएका  परिवारलाई समस्या हुन थालेको छ। तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भइरहेको हो।

यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीवि परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विक बताउँछिन्।

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो। साउनमा शल्यक्रियाबाट सुत्केरी गराइएकामध्ये १० जनामा सङ्क्रमण देखिएकाले तत्काल यो सेवा (शल्यक्रिया) बन्द गरिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ। तर, शल्यक्रिया गर्नुपर्ने बाहेक अन्य सेवा भने यथावत रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. कृष्णा महर्जन बताउँछन्।

‘शल्यक्रिया गरिएका सुत्केरी आमामा सङ्क्रमण देखिन थाल्यो, त्यसैले त्यसको निदानपछि फेरि सेवा सुरु गर्नेगरी तत्काललाई शल्यक्रिया रोकिएको हो’, उनले भने। अस्पतालले गत साउनमा मात्रै दुई सयभन्दा बढी महिलालाई प्रसूति सेवा दिएकामा ८० जनाको शल्यक्रिया  गरिएकोे थियो। शल्यक्रिया गरिएमध्येकै आठ÷दस जनामा सङ्क्रमण देखिएपछि भदौ १ गते नै यो सेवा रोकिएको डा. महर्जनले बताए।

शल्यक्रिया गरिएकामा सङ्क्रमण देखिन थालेपछि शल्यक्रिया कक्षको पानी  र  सुत्केरी सुताइने शय्याको स्वाब परीक्षण गरिँदा जीवाणु भेटिएपछि यो सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।  शल्यक्रियाकक्ष साँघुरो कोठामा सञ्चालन गरिएको र सरसफाइमा राम्रो ध्यान नदिँदा सुत्केरीमा सङ्क्रमण बढेको अस्पताल नजिकका सर्वसाधारण बताउँछन्। ‘अस्पतालले एकपछि अर्को सेवा थप्दै लगेपछि अब सरकारी अस्पतालमै राम्रो उपचार पाइने आश जागेको थियो’, अस्पताल नजिककैकी एक गृहिणी भन्छिन्, ‘तर अस्पतालको भर देखिएन।’ साँघरो ठाउँमा आवश्यक सावधानी र सुरक्षाका उपाय अवलम्बनमा लापरवाही गरिँदा नै सङ्क्रमण बढेको अस्पतालको सेवालाई नजिकबाट नियालिरहेका एक स्वास्थ्यकर्मीको भनाइ छ। अब यो सङ्क्रमण बढ्नाको कारण र यसमा भएको लापर्वाहीको खोजीनीति गरेर आवश्यक कारबाही नगर स्वास्थ्य शाखाले गर्नपर्ने सर्वसाधारणको टिप्पणी छ।

यसैबीच, अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फराकिलो बनाएर सरसफाइ र आवश्यक मर्मतसम्भार गरिएको जनाएको छ। अब यो नयाँ कक्षको स्वाब परीक्षण गरेर सोको नतिजा ‘नेगेटिभ’ आए तत्काल सेवा सुरु गरिने अस्पतालका मेडिकल अधिकृत डा. चन्द्रमणि खत्रीको भनाइ छ। ‘यो परीक्षणको नतिजा ‘नेगेटिभ’ आए त तत्काल शल्यक्रिया थालिन सक्छ, तर ‘पोजेटिभ’ आए अझै थप तयारी गरेरमात्र सेवा सुरु गर्न पर्छ’, उनी भन्छन् ।

निजी अस्पताल सञ्चालकसँगको मिलोमतोमा जानाजान यस अस्पतालमा प्रसूतिका लागि शल्यक्रिया गरिँदा लापर्वाही गरिएको हुनसक्नेसम्मको लख काट्ने सर्वसाधारण पनि भेटिएका छन्। ‘बर्दिबास अस्पतालको सुत्केरी सेवाले यहाँ (बर्दिबास)का निजी अस्पतालको मुख्य आम्दानी नै मरेको थियो, त्यसैले अहिले बर्दिबास अस्पतालको साख गिराउन खेल भएको पनि हुनसक्छ’, नाम नबताउने उक्त अस्पताल नजिकका एक सर्वसाधारण बताउँछन्। बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाले शल्यक्रिया गरिएका महिलामा भएको सङ्क्रमणबारे अनुसन्धन हुनुपर्ने सम्बद्ध अन्य व्यक्तिको पनि टिप्पणी छ।

सुत्केरी सेवाका लागि मधेस प्रदेशमै बर्दिबास अस्पताल कहलिएको थियो। अस्पतालको सेवाबारे सकारात्मक सन्देश प्रवाह हुँदा यहाँ जिल्लाकै तल्लो भेगसम्मका र सर्लाही, धनुषा र सिन्धुलीसम्मका गर्भवती महिला जाँच र सुत्केरी सेवा लिन आउने गरेका थिए। अस्पतालको सेवाबारे बर्दिबास नगर नेतृत्वले सुविधा र नियमित अनुगमन बढाउन पर्ने स्थानीय सेवाग्राही बताउँछन्। आवश्यक पूर्वतयारी गरेर चाँडै यो सेवा सञ्चालनमा ल्याउन सर्वसाधारणले नगर नेतृत्वसँग माग गरेका छन् । रासस

प्रकाशित: २२ भाद्र २०८० ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App