७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा डेंगुबाट सुत्केरी महिलाको मृत्यु

जिल्ला अस्पताल उदयपुर । तस्विरः महेश्वर

पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट उदयपुरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । केही दिनयता उच्च ज्वरोले थलिएकी जिल्लाको रौतामाई गाउँपालिका ७ की २४ वर्षीया सुमित्रा मगरको डेंगुकै कारण ज्यान गएको स्थानीयले जनाएका छन्।

२५ दिनकी सुत्केरी मगरलाई ज्वरोले थलिएर सिकिस्त भएपछि उपचारार्थ विराटनगर लगिएको थियो । उनमा डेंगुको लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएपछि विराटनगर लगिएकोमा उपचारकै क्रममा सोमबार राति मगरको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए। 

अध्यक्ष मगरका अनुसार सुत्केरी हुने बित्तिकै बिरामी परेकी उनलाई उच्च ज्वरो आएपछि विराटनगर लगिएको थियो । डेंगु पोजेटिभ देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार गराई रहेकै बेला मृत्यु भएको हो । रौतामाईमा डेंगुको लक्षण देखिने अन्य बिरामीहरू पनि थुप्रै रहेको स्थानीयले बताएका छन् । तर, डेंगु परीक्षण कार्य भने गाउँपालिकामा गराउने व्यवस्था अहिलेसम्म गरिएको छैन। 

उदयपुरमा यसअघि पनि कटारीका एक पुरुषको डेंगुका कारण मृत्यु भइसकेको छ। उच्च ज्वरो आएपछि उपचारार्थ बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो। स्वास्थ्य कार्यालय उदयपुरले भने डेंगुका कारण उदयपुरमा अहिलेसम्म कसैको मृत्यु नभएको दावी गरेको छ। बाहिर अस्पतालमा कसैको मृत्यु भएको भए त्यसबारे जानकारी नभएको तर, जिल्लाभित्र डेंगुकै कारण अहिलेसम्म कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालय उदयपुरका डेंगु नियन्त्रण कार्यक्रम फोकलपर्सन उमेश लुइँटेलले बताए। 

लुइँटेलका अनुसार साउन १ गतेदेखि हालसम्म १ हजार ६७ जनाको डेंगु परीक्षण गरिएको छ । जसमा सोमबार दिउँसोसम्ममा ५ सय ४४ जनामा डेंगु पोजेटिभ देखिएको लुइँटेलले बताए । सदरमुकाम त्रियुगा नगरपालिकामा २ सय ६० जनामा डेंगु सङ्क्रमण देखिएको छ भने बेलकामा १ सय ३२, चौदण्डीगढी ९१ र कटारी नगरपालिकामा ३९ तथा उदयपुरगढी गाउँपालिकामा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्म त्रियुगामा १ हजार १ सय ७५ जनाको परीक्षण गरिएको छ भने बेलाकामा ३ सय ७५, चौदण्डीगढीमा २ सय ५२, कटारीमा ९७ र उदयपुरगढीमा १३ जनाको परीक्षण गरिएको छ। 

रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने अहिलेसम्म डेंगु परीक्षण कार्य सुरु भएको छैन। ती स्थानीयतहहरुमा डेंगुको लक्षण नदेखिएको र किट पनि माग नभएकाले परीक्षण गर्ने काम नभएको लुइँटेलले बताए।स्वास्थ्य कार्यालयले डेंगुको लक्षण नदेखिएको दावी गरे पनि गाउँ गाउँमा डेंगुजस्तो लक्षण देखिने थुप्रै बिरामी रहेको स्थानीयरु बताउँछन् । उनीहरुले गाउँपालिकावासी जनताको स्वास्थ्यप्रति जनप्रतिनिधिहरू बेसरोकार देखिएको भन्दै परीक्षण नगराउँदा धेरैको स्वास्थ्य अवस्था जोखिममा रहेको गुनासो गरेका छन्। 

जिल्लामा जताततै डेंगु सङ्क्रमण देखिन थालेपछि प्रादेशिक स्वास्थ्य निर्देशनालयबाट किट मगाएर स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीयतहहरुमै डेंगुको परीक्षण गर्न थालिएको थियो । स्वास्थ्य कार्यालयले स्थानीयतहरुले माग गरेको आधारमा किट पठाएर नगर र गाउँपालिकाकै स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने काम गरिरहेको छ । डेंगु परीक्षणका लागि अहिले ३ सय थान किट स्वास्थ्य कार्यालयमा मौज्दात रहेको पनि लुइँटेलले बताएका छन्। 

पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गर्न आउनेमध्ये ५० प्रतिशतभन्दा बढी ज्वरोका बिरामी रहेका छन् । गएको साउन पहिलो सातायता अस्पतालमा उपचारार्थ आउनेको संख्या अत्याधिक बढेको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झा बताउँछन् । उनका अनुसार दैनिक १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म बिरामी जँचाउन र उपचारार्थ आउने गरेकोमा आधाभन्दा बढी ज्वरोकै बिरामी हुने गरेका छन् । झट्ट हेर्दा भाईरल ज्वरो देखिए पनि अधिकतरमा डेंगो लक्षण देखिने गरेको डा. झाले बताएका छन्। 

५० शैयाको अस्पतालमा अत्याधिक बिरामीको चाप बढ्न थालेपछि भुईँमा राखेर उपचार गराउनुपर्ने बाध्यता आई परेको डा. झाको भनाई छ । सामान्य खालका बिरामीलाई औषधि र आवश्यक परामर्श दिएर घर पठाउने गरेको तर, जटिल खालका बिरामी भए भुईँमै सुताएर पनि उपचार गर्ने गरेको उनले बताए । पछिल्लो समय दक्ष जनशक्ति र औजार उपकरणको व्यवस्था हुँदै गएका कारण अस्पतालमा धेरै किसिमका बिरामीको उपचार हुने गरेकाले पनि चाप बढेको हो । हाल हाडजोर्नी, एपेन्डीसाईटिस, पायल्स, हर्निया, फिस्टुला, पत्थरीको शल्यक्रिया (अप्रेसन) यही अस्पतालमा हुने गरेको छ। जटिल खालका सुत्केरीको अप्रेसनदेखि बच्चादानी (आङ) खसेका महिलाको सफल उपचार पनि यही हुने गरेको छ। 

सेवा राम्रो हुँदै गएका कारण अत्याधिक बिरामीको चाप बढेपछि अस्पताललाई १ सय शैया थप गर्नुपर्ने आवश्यकता रहेको अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनाल बताउँछन् । त्यसका २ सय कोठा भएको बहुतले भवन निर्माण गर्न गत आर्थिक वर्षको माघ फागुनमै प्राविधिक सर्वेक्षण गरेर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिएको उनले बताए । डिपिआर अनुसार अस्पताललाई तत्काल १ सय शैया थप्न मिल्ने आधुनिक नयाँ भवन बनाउन सरकारसँग बजेट माग गरेको तर, अहिलेसम्म यकिन नभएको उनले बताए। 

प्रकाशित: १२ भाद्र २०८० ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App