७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगुले ९ बर्षीय बालकको निधन, मृत्यु हुनेको संख्या ११ पुग्यो

डेंगु संक्रमणबाट धरानमा ९ बर्षीय बालकको पनि मृत्यु भएको छ। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार धरान १६ का ९ बर्षीय बालकको उपचारको क्रममा विराटनगरस्थित बिग हस्पिटलको आइसियुमा निधन भएको हो।  

उच्च ज्वरोले स्वास्थ्य गम्भीर बनेपछि अभिभावकले ती बालकलाई साउन २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। प्रतिष्ठानमा परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको थियो। प्रतिष्ठानमा आइसियु उपलब्ध नभएपछि उनलाई विराटनगर रेफर गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए। ‘सोमबार मृत्यु भएको रहेछ। हामीलाई हिजो (मंगलबार) मात्र जानकारी भयो,’महाशाखा प्रमुख मेहताले भने,‘रिपोर्ट पनि मगाएर हेर्यौ। डेंगु नै हा । परिवारलाई सम्पर्क गरेर थप विवरण लिन्छांै।’

योसँगै जेठ २३ यता डेंगु संक्रमणबाट धरानमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ती मध्ये ६ जना महिला र ५ जना पुरुष छन्। मृतकमध्ये २ जनाको मृत्युको कारण डेंगु मात्र (डेंगु सक सिन्ड्रम) देखिएको छ भने अन्य ९ जना मृतकहरु विभिन्न दीर्घ रोगी पनि रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए। हालसम्म मृत्यु हुनेहरुमा वडा नं ११ का ४ जना, वडा २, ५, १०, १५, १६, १७ र १८ का एक एक जना छन्।  

मंगलबारसम्म धरानमा १५ हजार ८१० जनाको डेंगु परीक्षण भइसकेको छ। ती मध्ये ११ हजार ३७३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्यांकले धरानमा डेंगु संक्रमण दर ७१ प्रतिशत रहेको देखिन्छ । उपमहानगरपालिकाले धरान सभागृहमा डेंगुको निःशुल्क उपचार व्यवस्था गरेको छ भने आवश्यक पर्नेलाई तत्काल उपचारको पनि व्यवस्था गरेको छ । यस्तै, पुरानो अस्पतालमा प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा १५ बेडको डेंगु उपचार केन्द्र पनि सञ्चालित छ । त्यहाँ डेंगु ज्वरो र सिबिसी परीक्षण निःशुल्क हुन्छ। यस्तै, सुनसरी उद्योग वाणिज्य संघले आफ्नो भवनमा विभिन्न वडा कार्यालय र प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा २५ बेडको निःशुल्क डेंगु उपचार शिविर चलाएको छ। यस्तै, वडा १३, ८, १५ र १४ ले आफ्नै वडामा निःशुल्क डेंगु उपचारको व्यवस्था गरेको छ।  डेंगु संक्रमणबाट सर्वसाधारण जनताको निधन भइरहदा पनि स्थानीय सरकारले नियन्त्रणको लागि ठोस कदम चाल्न नसकेको भन्दै आलोचना र असन्तुष्टी चुलिदो छ।

प्रकाशित: ३१ श्रावण २०८० ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App