६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

फाइल तस्वीर

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाभरिका ३९ टोलमध्ये विश्व स्वास्थ्य संगठनले तयार गरेको ७६ मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो।

पाँच वडा रहेको उक्त गाउँपालिकाका बाँकी ३८ टोललाई नमूना टोल सुनिश्चितता गर्ने कार्य सकिएपछि सिंगै पालिकालाई पूर्ण रूपमा पोषणमैत्री पालिका घोषणा गरिने जनाइएको छ।

‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत साकेला गाउँपालिकालाई चार वर्षमा ‘पोषणमैत्री स्थानीय तह’ घोषणा गर्ने गरी गत जेठ २९ गते विभिन्न सूचकसहितको ११ बुँदे प्रतिबद्धता- पत्रमा जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पोषणमैत्री स्थानीय तह घोषणा गर्न गाउँपालिकाले पूरा गर्नुपर्ने ७६ सूचक तय गरिएको छ। जसमध्ये अधिकांश सूचक पूरा भइसकेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले बताइन्।

गाउँपालिकालाई पोषणमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, शिक्षक, सरोकारवाला नागरिक सबैले सकारात्मक भूमिका खेल्न गाउँपालिका उपप्रमुख राई आग्रह गरिन्।

स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत पछिल्लो समय पोषणको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको बताउँदै उनले निर्धारित लक्ष्य अनुरूप पोषणमैत्री देश बनाउने अभियानमा साकेला गाउँपालिका अग्रपंक्तिमा रहेको बताइन्।

साकेलावासी नागरिकले सजाएको समृद्धिको सपना पूरा गर्न गाउँपालिकालाई पोषणमैत्री स्थानीय तह घोषणा गर्नु पनि प्रमुख कर्तव्य भएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताइन्।

‘साकेला गाउँपालिकालाई भविष्यमा कस्तो बनाउने, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको क्षेत्रमा गरिने विकासलाई आवधिक योजनामार्फत दिगो विकास र समृद्धिको खाका कोरिएको छ’, उनले भने, ‘प्राथमिकता र आवश्यकताका आधारमा समृद्धिको गन्तव्यमा पालिकालाई पुर्‍याइनेछ। यसका लागि सबै पक्षको सहयोग अपरिहार्य छ।’

गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्न बालबालिकालाई अनिवार्य विद्यालय पठाएर गुणस्तरीय शिक्षा दिएको हुनुपर्ने, प्रत्येक वडामा स्वास्थ्यचौकीमा निःशुल्क र गुणस्तरीय उपचार र पोषण सेवा सुनिश्चित हुनुपर्ने, गर्भवती, सुत्केरी महिला र बालबालिकालाई पोषण प्रोत्साहन र पोसिलो खाना उपलब्ध गराउनुपर्ने, दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन प्रभावकारी बनाउन बाल पोषण अनुदान वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचक छन्।

सुरक्षित खानेपानी र सरसफाइ व्यवस्था सुनिश्चित, पूर्ण सरसफाइ अभियान, विभिन्न तहका प्रतिबद्धता, कार्य योजना र समन्वय संयन्त्रको सुनिश्चित, सहयोगी निकायबाट प्राप्त हुने सहयोग मूल प्रवाहीकरणमा ल्याएर कार्यान्वयन तथा प्रभावकारी अनुगमन, सबै स्तरमा बहु क्षेत्रीय पोषण योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता लगायत सूचक पूरा भएको हुनुपर्ने प्रावधान छ।

त्यसैगरी समाजमा विद्यमान बालविवाह र छुवाछुत तथा जातीय भेदभाव जस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्य नीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो चार वर्षमा गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरिने बताइएको छ। पोषणमैत्री स्थानीय तह, वडा, टोल भएको अवस्थामा विभिन्न अनुदान प्राप्त हुने बताइएको छ।

प्रकाशित: २३ असार २०८० ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App