६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चितवनमा पाँच महिनापछि फेरि देखिन थाले कोभिडका बिरामी

चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ५ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

‘गत कात्तिकदेखि जिल्लामा कोरोना संक्रमणका बिरामी शून्यमा झरेको थियो,’स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले भनिन्, ‘चैत २० गतेदेखि दैनिक बिरामी भेटिन थालेका छन्।’ अन्तिम पटक कात्तिक १७ गते चितवन कोरोना संक्रमण मुक्त भएको थियो। जिल्लामा हाल ११ जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ९ जना भरतपुर महानगरभित्रका छन्।  

रत्ननगर नगरपालिका र कालिका नगरपालिका समान एक/एक जनामा संक्रमण देखिएको छ। तर, उनीहरूको अवस्था सामान्य रहेको ढकालले जानकारी दिइन्। उनीहरू होम आइसोलेसनमा रहेका छन्। जिल्लामा हालसम्म संक्रमितको संख्या ३४ हजार ५० पुगेको छ। जसमध्ये ३३ हजार ५ सय ८९ जना निको भइसकेका छन्। ४ सय ५० जनाको ज्यान गएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ।

फेरि कोरोना संक्रमण देखिन थालेपछि उपचारका लागि आवश्यक तयारी भरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए। ‘हामीले अस्पताल, पालिकाहरूसँग समन्वय गरिरहेका छौं,’उनले भने, ‘सबै पालिकामा खोपसहित सचेतनामूलक कार्यक्रम भइरहेका छन्।’अहिले जिल्लामा चौथो पटक बुस्टर डोज खोप लगाउन लागिएको उनले बताए। स्वास्थ्यकर्मी, ५५ वर्षमाथि र १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई खोप लगाउन थालिएको हो। तेस्रो डोज लगाउन दोस्रो डोज लगाएको ३ महिना पुग्नुपर्छ। चौथो डोज लगाउन तेस्रो डोज लगाएको ६ महिना पुग्नुपर्ने उनले बताए। जिल्लामा ४० हजार डोज खोल लगाउन थालिएको समेत उनले जानकारी दिए। प्रत्येक बिहीबार स्वास्थ्य कार्यालय चितवनबाट खोप लगाउने गरिन्छ। चितवनमा लक्ष्यभन्दा बढीले खोप लगाएका छन्। हालसम्म जिल्लामा ६ लाख ५३ हजार ७६६ जनाले पहिलो मात्रा लगाएका छन्। त्यस्तै ६ लाख ४१ हजार ३०५ जनाले दोस्रो मात्रा र २ लाख ४६ हजार ३ सय ६३ जनाले थप मात्रा तेस्रो मात्रा (बुस्टर डोज) लगाएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ।  

चितवनमा कोरोना संक्रमणको अवस्था

२०७६ चैत ३ गते बेलायतबाट आएका आमाछोरामा संक्रमण देखिएको थियो। ६३ वर्षकी आमा र २७ वर्षका छोरा थिए। सो महिनामा २ जना मात्र संक्रमण देखियो। चैत ११ गतेबाट लकडाउन सुरु गरेपछि वैशाख महिनामा एक जनामा पनि संक्रमण देखिएको थिएन। तर, उनीहरू कोरोनामुक्त भएका थिएनन्।

कोरोना संक्रमण विस्तारै बढ्दै जेठ महिनामा ३४ जनामा पुष्टि भयो। सोही महिना १ जनाको मृत्युसमेत भएको थियो। कोरोना थपिँदै असार महिनामा ७४ जनामा देखियो। साउनमा १०५ जनामा संक्रमण देखियो। ह्वात्तै बढ्दै भदौ महिनामा १ हजार १४६ जनामा पुग्यो। सोही महिना १६ जनाको समेत मृत्यु भयो। पहिलो लहर आउँदा कात्तिक महिनामा सबैभन्दा बढी संक्रमित भेटिए। सो महिनामा २ हजार १५८ जनामा संक्रमित देखिए। सोही महिना ४४ जनाले समेत ज्यान गुमाए। त्यसपछि क्रमशः घट्दै २०७७ फागुन महिनामा आउँदा ९६ जनामा झ¥यो।

९६ जनामा झरेको संक्रमण दर फेरि डेल्डा भाइरस संक्रमण सुरु भएपछि ह्वात्तै बढ्यो २०७७ को चैत महिनामा मात्रै ४ हजार १७७ जनामा संक्रमण देखिएको थियो। त्यसपछि २ महिना क्रमशः घट्दै गयो। २०७८ सालको वैशाखमा ३ हजार ८८१ र जेठ महिनामा ३ हजार ४२ जनामा देखियो। फेरि असार महिनामा डेल्टा चरम रूपमा फैलियो। संक्रमण देखिएको १५ महिना अवधिको सबैभन्दा बढी असारमा ५ हजार २६५ जनामा देखियो। साउनमा ह्वात्तै घटेर २ हजार १११ जनामा झ¥यो। त्यसपछि क्रमशः घट्दै मंसिरमा आउँदा २८४ जनामा झरेको थियो। चितवनमा सबैभन्दा बढी डेल्टा भाइरस खतरनाक रूपमा भैलिएको थियो। डेल्डा फैलिएको समय अर्थात दोस्रो चरणमा ३२० जनाको ज्यान गएको छ।

प्रकाशित: १ वैशाख २०८० ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App