१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम आउँदै

प्रदेशमा रहेका आधारभूत विद्यालय र बाल विकास केन्द्रहरुको भौतिक अवस्था तथा वातावरणीय पक्षमा सुधार ल्याउन लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याउन थालिएको छ। कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यविधि–२०७८ तयार पारेको छ।  

गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने, विद्यदालयमा अध्यापनरत जनशक्तिको क्षमता विकास गर्ने, विद्यालयमा न्यून रहेको शैक्षिक जनशक्ति उपलब्ध गराउने र विद्यालय छाड्ने प्रवृति कम गर्न आवश्यक विशेष कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

विद्यालयमा आधारभूत पूर्वाधारको मर्मत, सम्भार र रंगरोगनको व्यवस्था गरी अध्ययन/अध्यापनका लागि उपयुक्त शैषिक वातावरण सिर्जना गर्ने, अध्ययन/अध्यापनका लागि आवश्यक पर्ने र न्यून रहेको जनशक्ति आँकलन गरी थप जनशक्ति उपलब्ध गराउने, समुदाय र स्थान विशेषमा रहेका विद्यालयहरुको खास समस्या पहिचान गरी समस्या समाधानका लागि आवश्यक कार्य गर्ने र इलेक्ट्रोनिक र डिजिटल उपकरणको व्यवस्था गरी विद्यालयमा विद्युतीय प्रणालीमार्फत अध्ययन/अध्यापन हुने व्यवस्था मिलाउने रणनीति लिइएको छ। त्यस्तै प्रदेश सरकारले तयार पारेको कार्यविधिमा उल्लेख गरिएको छ, ‘लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा विशेष कार्यक्रम बनाइ सञ्चालन गर्ने।’

आधारभूत विद्यालय तथा बाल विकास केन्द्रहरुमा अध्ययनरत विपन्न र अपांगता भएका बालबालिका यस कार्यक्रमबाट लाभान्वित हुने छन्। ‘अपांगता भएका बालबालिका अध्ययनरत विशेष विद्यालयहरु, आधारभूत तहका सामुदायिक र धामिएक विद्यालय,’ उक्त कार्यविधिमा समावेश गरिएको छ, ‘विद्यालय वा समुदाय केन्द्रित बाल विकास केन्द्रहरु, माध्यमिक र आधारभूत तहका विद्यालय तथा बालविकास केन्द्रमा अध्यापनरत जनशक्ति र प्रौढ व्यक्तिले अध्ययन गर्ने खुला/नमुना विद्यालयहरु यस कार्यक्रमबाट लक्षित हुने छन्।’

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउने र विदालय भर्ना भएका बालबालिकाहरुलाई विद्यालय छोड्नबाट रोक्नका लागि आवश्यक क्रियाकलाप सञ्चालन गर्ने, विपन्न तथा अपांगता भएका विद्यार्थीहरुको विशेष आवश्यकता सम्बोधन गरी उनीहरुलाई विद्यालय छाड्न बाध्य हुने अवस्था अनत्य गर्न उपयुक्त कार्य गर्ने जस्ता शैक्षिक गुणस्तर सुधारसम्बन्धी क्रियाकलाप हुने बताइएको छ। ‘विद्यतुीय प्रणालीमार्फत अध्ययन अध्यापनका लागि आवश्यक पर्ने क्षमता विकाससम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने,’ शैक्षिक गुणस्तर सुधारसम्बन्धी क्रियाकलापहरुमा भनिएको छ, ‘दरबन्दी नभएका वा कम भएका र सम्भावनायुत्त विद्यालयमा सांकेतिक भाषा, अन्य भाषा, संगीत र खेलकुदसम्बन्धी जनशक्ति उपलब्ध गराउने छ।’

विद्यालयमा स्वच्छ, स्वस्थ खानेपानीको सुविधा उपलब्ध गराउने, विद्यालयमा शौचालय निर्माण र व्यवस्थापन गर्ने र विद्यालय परिसर र शौचालयको सरसफाइसम्बन्धी पूर्वाधार निर्माण तथा मर्मत सम्भारसम्बन्धी क्रियाकलाप हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले जनाए। ‘चक डस्टररहीत कक्षा कोठाको व्यवस्थापन गरिने छ,’ उनले भने, ‘विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था र इन्टरनेटको सुविधा जडान कार्य हुनेछ।’ विद्यालयमा संगीत र खेलकुदका सामग्रीसमेत उपलब्ध गराइने उनी बताउँछन्।

यस कार्यक्रमको अध्यक्ष मुख्यमन्त्री हुने संरचनागत व्यवस्था गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय सचिव, आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव, शिक्षा हेर्ने मन्त्रालयका सचिव सदस्य हुने व्यवस्था गरिएको छ भने कार्यक्रम निर्देशक सदस्य सचिव हुने व्यवस्था छ। जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्लास्तरमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम जिलला अनुगमन समिति गठन हुने छ। यस कार्यक्रमले लुम्बिनीको शैक्षिक क्षेत्रमा ठूलो सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ मंसिर २०७८ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App