७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

पुरानो नक्सासहितको पुस्तक जफत गर्न मन्त्रीको निर्देशन

असार पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्रको लागि बजारमा बिक्री भएका विद्यालय तहका पुस्तकमा निजी प्रकाशन गृहले पुरानै नक्सा छापेर पुस्तक विद्यालयमा बिक्री गरेको पाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाईनै विभिन्न व्यक्तिहरूले व्यक्तिगत रूपमै फोन गरेर सरकारले नयाँ नक्सा जारी गरेको अवस्थामा निजी विद्यालयले विद्यार्थीलार्ई वितरण गरेको पुस्तकमा पुरानो नक्सा छापिएको जानकारी गरएका थिए। त्यसपछि मन्त्री श्रेष्ठले बजार अनुगमनमै गएर पुराना नक्सा छापिएका किताब प्रकाशन गृहबाटै जफत गर्न निर्देशन दिएका छन्।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन समेत दिएका छन्। ‘मलाई धेरैले फोन गरेर पुरानो र कि नयाँ कुन नक्सा नानीहरूलाई पढाउने भनेर सोध्नुभयो,’ मन्त्री श्रेष्ठले भने, ‘सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा निजी प्रकाशन गृहहरूले विशेष गरी सोसल स्टडिज र समान्य ज्ञानका पुस्तकमा पुरानै नक्सा छापेर निजी विद्यालयमा पुस्तक बिक्री गरेको सूचना प्राप्त भएको छ।’  

‘यस्ता पुस्तक प्रकाशन गृहमै जफत गरेर कडा काराबही गर्नु। आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टिकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्नु,’ मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए। उनले बैठकमा प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको सूचना मन्त्रालयमै प्राप्त भएको जनाए।  

देशको आच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्न उनले कर्मचारीहरूलाई आग्रह समेत गरे। मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गुर्न कानुन विपरित भएको बताए।

प्रकाशित: २७ जेष्ठ २०७८ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App