१२ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’

काठमाडौं - सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रम आयोजना गरेको छ।

शिक्षाका लागि विश्व कार्य सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा नाटक, गीत, कविता र राजनीतिक नेताको प्रतिबद्धताका माध्यमबाट सामुदायिक शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा व्यापारीकरण अन्त्य गर्न आह्वान गरिएको थियो। अशेष मल्लको निर्देशनमा करिब ३० मिनेटको नाटकमा शिक्षामा अझै विभेद रहेको, बजेट अपुग भएको र जनप्रतिनिधि तथा शिक्षकहरू जिम्मेवार नभएको औंल्याइएको थियो। कार्यक्रममा एउटामात्र खुट्टा भएकी सीता सुवेदी र सुजाता वर्माले नृत्य, कवि प्रभा भट्टराई र बाबु त्रिपाठीले कविता प्रस्तुत गरेका थिए भने डा. निरञ्जन भण्डारीले सङ्गीतलाई शिक्षा सम्प्रेषणको माध्यम बनाउन सुझाव दिएका थिए।

जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षामा कार्यरत संस्था, शिक्षाविद्, शिक्षाका कर्मचारी, दातृनिकाय, उद्यमी, व्यापारिक क्षेत्र र सामाजिक संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा तीनवटै तहका सरकारलाई शिक्षामा बजेट बढाई चुस्त व्यवस्थापनमार्फत गुणस्तर सुधार्न ध्यानाकर्षण गराइएको थियो। संविधानमा निःशुल्क शिक्षाको प्रबन्ध भए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारका नेतृत्व र नीति–निर्माताले नयाँ ढंगले सोच्न ती प्रस्तुतिले दबाब दिएका थिए।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, समाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर खतिवडा, शिक्षाविद् केदारभक्त माथेमा, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साललगायतले सामुदायिक विद्यालयको सुधारबाट मात्रै समृद्धि सम्भव हुनेमा जोड दिएका थिए। साथै शिक्षकहरूलाई राजनीतिक दलको कार्यकर्ता नबनाउन र शिक्षित बेरोजगारीको अवस्था अन्त्य गर्न पनि उनीहरूले सुथिए। एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले सरकार र नागरिक समाजले चाहेमा निःशुल्क शिक्षा सम्भव रहेको बताए। एनसिइ नेपाल शिक्षामा कार्यरत करिब तीन सय सामाजिक संस्थाहरूको साझा सञ्जाल हो।

प्रकाशित: ३ जेष्ठ २०७६ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App