६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिवि उपकुलपतिका लागि १४ जना अल्पसूचीमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिसका लागि गठित उपकुलपति छनोट तथा सिफारिस समितिले १४ उम्मेदवारको नाम सर्टलिस्ट (अल्पसूची) गरी सार्वजनिक गरेको छ। त्रिवि उपकुलपतिका लागि दुई महिलासहित ४३ उम्मेदवारले आवेदन दिएकामध्ये व्यक्तिगत विवरणको आधारमा विज्ञ समूहले १४ जनाको नामसहित अल्पसूची सार्वजनिक गरेको हो।

सय पूर्णांकमा खुला प्रतिस्पर्धा गराएर समितिले उम्मेदवारको व्यक्तिगत विवरण, कार्ययोजना र सोचपत्रको आधारमा सर्टलिस्ट नाम सार्वजनिक गरेको सिफारिस समितिले सूचना प्रकाशित गरी जनाएको छ।

उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपति पदका लागि दरखास्त दिने उम्मेदवारबाट सर्टलिस्ट छनोट गरेको समितिले जनाएको छ। समितिले शिक्षाविद् वासुदेव काफ्ले, शिक्षाविद् प्रकाशमान श्रेष्ठ र भीमलाल सुवेदीसहितको विज्ञ समूहबाट उपकुलपतिको सोचपत्र, कार्यपत्र र व्यक्तिगत विवरणबारे मूल्यांकन गराएको थियो।  

जसअनुसार कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला छन्। त्यस्तै तीर्थराज खनियाँ, नारायण प्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन्। सर्टलिस्टमा परेका उम्मेदवारहरूको माघ २९ गतेदेखि फागुन २ गतेभित्र सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि समय तोकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले बताए।

प्रकाशित: २७ माघ २०८० ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App