५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

महानगरले पाएन प्रअ, आवेदनका लागि सात दिन म्याद थप

काठमाडौँ महानगरपालिकाले प्रधानाध्यापक नियुक्तिमा माग अनुसारको आवेदन नपरेपछि पुनः म्याद थप गरेको छ।एक महिना अगाडि काठमाडौँ महानगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित प्रधानाध्यापकको खुला विज्ञापन माग गरेको अन्तिम म्याद मंसिर एक गते सकिएको हो। तर, माग अनुसारको आवेदन नपरेपछि महानगरले पुनः एकसताको म्याद थप गरेको छ। 

विद्यालयमा कार्यरत प्रअहरु प्रतिस्पर्धामा जानुको साटो महानगरको प्रअ नियुक्तिको प्रक्रियाविरुद्ध सर्वोच्चको शरणमा पुगेका छन्। 

महानगरपालिकाका प्रवक्ता नबिन मानन्धरले माग अनुसारको आवेदन नपुगेपछि एक साताको म्याद थपिएको बताए। ‘महानगरभित्रका सार्वजनिक विद्यालयहरुको गुणस्तर सुधार गर्ननै महानगरपालिकाले कार्यविधि र मापदन्ड बनाएर प्रअ नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो,’ प्रवक्ता मानन्धरले नागरिकसँग भने, ‘तर धेरै विद्यालयहरुमा निमित्तकै भरमा प्रधानाध्यापकहरु कार्यरत हुनुहुन्छ। उहाँहरुको स्थायी भएको पाँच वर्ष पुगेको छैन।’  

उनले थपे, ‘कार्यरत प्रअहरु धेरै अदालत पनि पुग्नु भएको छ। एक साता महानगरलाई प्रअहरुसँग छलफल गर्ने समय पनि पाइयो।’ महानगरभित्र कुल ८९ सार्वजनिक विद्यालय सञ्चालनमा छन्। जसमध्ये १३ विद्यालयमा यस अघिनै महानगरले प्रअ नियुक्ति पाँच वर्षकोलागि गरिसकेको प्रवक्ता मानन्धरले जनाए। अब बाँकी रहेको ७१ विद्यालयको प्रअ नियुक्तिका लागि नयाँ कार्यविधि बनाएर नियुक्ति प्रक्रिया अगाडि बढाएर नयाँ शिक्षकहरुलाई विद्यालय शिक्षामा प्रवेस गराउने महानगरको लक्ष्य रहेको उनले बताए। 

‘महानगर भित्रका धेरै विद्यालयहरु निमित्त प्रअको भरमा चलेका छन्’, उनले भने, ‘यति मात्र होइन कतिपय विद्यालयमा तल्लो तहका शिक्षकहरुनै माथिलो तहको विद्यालयको प्रअ हुनु भएको छ।’ उनले थपे, ‘यसले विद्यालयभित्र शिक्षकहरु बिचनै हिनताबोध भइरहेको अनुगमनले देखाएको छ।’

प्रकाशित: ५ मंसिर २०८० ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App