जग बलियो भए घर बलियो हुन्छ। यही सिद्धान्त शिक्षा क्षेत्रमा पनि लागु हुन्छ। शिक्षाको जग विद्यालय हो। विद्यालय शिक्षा स्तरीय र प्रभावकारी भए मात्र देशको समग्र शिक्षा उपलब्धिमूलक बन्छ। विद्यालय शिक्षा दरिलो बनाउन शिक्षण सिकाइ प्रभावकारी, स्तरीय र उपलब्धिमूलक हुनुपर्नेमा दुईमत छैन। काठमाडौंका केही सामुदायिक विद्यालयहरू यसका उदाहरण बनेका छन्।
काठमाडौंको बाफलस्थित ज्ञानोदय माविका प्रधानाध्यापक (प्रअ) नातिकाजी महर्जनका अनुसार नेपालमा निजी लगानी (संस्थागत विद्यालय) र सरकारी लगानी (सामुदायिक विद्यालय) मा शिक्षा लिनेदिने व्यवस्था छ। तर बहुसंख्यक विद्यार्थी (करिब ८० प्रतिशत) सामुदायिकमा पढ्ने उनी दाबी गर्छन्। सरकारले बर्सेनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कुल बजेटको सबैभन्दा बढी (करिब ११ प्रतिशत) रकम शिक्षामा लगानी गर्दै आएको छ।
नेपालमा निजी लगानी (संस्थागत विद्यालय) र सरकारी लगानी (सामुदायिक विद्यालय) मा शिक्षा लिनेदिने व्यवस्था छ। तर बहुसंख्यक विद्यार्थी (करिब ८० प्रतिशत) को पहुँच सामुदायिकमा छ।
नातिकाजी महर्जन,ज्ञानोदय मावि, बाफल
यसकारण पनि सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर उच्चस्तरीय हुुनुपर्नेमा प्रअ महर्जन जोड दिन्छन्। सार्वजनिक शिक्षा राम्रो भए समग्र मुलुकको शिक्षा उच्चस्तरीय हुन्छ। यसका लागि सरकारी विद्यालयका प्रअ र शिक्षकहरू इमानदार र विद्यार्थीप्रति उत्तरदायी बन्नु जरुरी छ। विद्यालयमा स्तरीय भौतिक पूर्वाधारका साथै सबैमा असल संस्कार, व्यवहार र अभ्यासहरू भए सार्वजनिक शिक्षा अब्बल हुने शिक्षकहरू बताउँछन्।
सिकाइ सुधारमा बलियो र पारदर्शी व्यवस्थापन पक्ष महत्वपूर्ण
काठमाडौंको बौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईका अनुसार बालबालिकाको सिकाइ स्तरीय बनाउन विद्यालयको व्यवस्थापन पक्ष बलियो र पारदर्शी हुनुपर्छ। त्यसो गर्न सके सार्वजनिक मात्र होइन, जुनसुकै शिक्षण संस्थाले उपलब्ध गराएको शिक्षा स्तरीय बन्ने उनको ठम्याइ छ।
बालबालिकाको सिकाइ स्तरीय बनाउन विद्यालयको व्यवस्थापन पक्ष बलियो र पारदर्शी हुनुपर्छ। एकअर्कालाई सम्मान गर्ने, समयको पालना गर्नेजस्ता असल व्यवहार सबैमा हुनु पनि अत्यावश्यक छ।
कुमारी कमला राई,जनकल्याण मावि, बौद्ध
‘यो विद्यालयको व्यवस्थापन पक्ष निकै बलियो र पारदर्शी भएकै कारण स्पष्ट योजना निर्माण गर्न अर्थपूर्ण रूपमा टिमवर्क भइरहेको छ,’ सिकाइको प्रभावकारिताबारे बताउँदै प्रअ राईले नागरिकसँग भनिन्, ‘यसले प्रअदेखि शिक्षक–कर्मचारीलाई व्यवस्थित समयपालक बनाएको छ, शिक्षकमा दूरदृष्टिको विकास गराएको छ। हेडमास्टरलाई कर्मशील बनाएको छ। आज हाम्रो विद्यालयमा विद्यार्थीहरू रमाईरमाई शिक्षण सिकाइ क्रियाकलापमा सहभागी भइरहेका छन्।’ जनकल्याणमा कक्षा १२ सम्म २५ सय विद्यार्थी पढ्छन्।
स्तरीय भौतिक पूर्वाधारले सिकाइमा सुधार
ज्ञानोदयका प्रअ महर्जनका अनुसार बालबलिकाको शिक्षण सिकाइमा सुधार ल्याउन स्तरीय भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्छ। स्तरीय भौतिक पूर्वाधारले सरसफाइलाई व्यवस्थित बनाउँछ। यस्तो अवस्थामा विद्यार्थीले विद्यालयमा रमाएर अध्ययन गर्ने उनको बुझाइ छ। सार्वजनिक शिक्षामा सरकारको ठुलो लगानी भएकै कारण विद्यालयको भौतिक पूर्वाधार स्तरीय हुने गर्छ।
नेपालमा निजी लगानी (संस्थागत विद्यालय) र सरकारी लगानी (सामुदायिक विद्यालय) मा शिक्षा लिनेदिने व्यवस्था छ। तर बहुसंख्यक विद्यार्थी (करिब ८० प्रतिशत) को पहुँच सामुदायिकमा छ।
नातिकाजी महर्जन,ज्ञानोदय मावि, बाफल
२०७२ सालको भूकम्पपछि त नेपालको सार्वजनिक शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार अत्याधुनिक स्तरको बनाइएको छ। कक्षाकोठामा नयाँ प्रविधि प्रयोगमा ल्याइएका छन्। मल्टिमिडियादेखि स्मार्ट बोर्डसहितको कक्षाकोठाहरूमा सिकाइ झनै प्रभावकारी भएको छ।
‘हाम्रो विद्यालयमा स्तरीय भौतिक पूर्वाधारको उपयोग गरेर तालिम प्राप्त शिक्षकले दत्तचित्त भएर पढाउनुहुन्छ,’ प्रअ महर्जनले नागरिकसँग भने, ‘शिक्षकहरूले विद्यार्थीको स्तर बुझेर पाठ्यक्रममा केन्द्रित भएर पढाउनुभएकै कारण हाम्रो विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ।
हेडमास्टर जिम्मेवार हुँदा शिक्षामा सुधार
शिक्षकलाई तालिम, तलब तथा सेवासुविधा, कक्षाकोठामा आवश्यक शैक्षिक सामग्रीका लागि सरकारले उच्चस्तरको व्यवस्थापन गर्ने गर्छ। विद्यालयका प्रअ, शिक्षक, कर्मचारीले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाइदिए मात्र कक्षाकोठाको शिक्षण सिकाइ उत्कृष्ट हुन सक्ने काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेल बताउँछन्।
‘विद्यालयको कक्षाकोठामा शिक्षण सिकाइ स्तरीय बनाउन शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको महत्वपूर्ण भूमिका हुन्छ,’ प्रअ कँडेलले नागरिकसँग आफ्नो विद्यालयको शिक्षण सिकाइ सुधारबारे प्राप्त अनुभव सुनाउँदै भने, ‘मुख्यतः हेडमास्टर जिम्मेवार र सक्रिय भएका सार्वजनिक विद्यालयले कोल्टो फेरेका छन्। त्यस्तो विद्यालयका बालबालिकाको सिकाइ उपलब्धि राम्रो भएको छ। आज हामीकहाँ ४ हजार १७८ विद्यार्थी हुनुमा पनि यही पक्षले बढी भूमिका खेलेको छ। विद्यार्थीको पहिलो पाठशाला घर भएकाले त्यहाँ अभिभावकको निगरानी अत्यावश्यक छ र विद्यालयमा शिक्षकको सकारात्मक निगरानी त हुनैपर्छ।’
नमस्तेको संस्कारले विद्यार्थी, शिक्षक र अभिभावक अनुशासित
जनकल्याणकी प्रअ राई विद्यालयमा साढे ५ बजे बिहानै अर्थात् सबैभन्दा पहिले पुग्छिन्। स्कुल गेटमै दुवै हात जोडेर विद्यार्थी, अभिभावक र शिक्षक–कर्मचारीलाई नमस्कार गर्छिन्। उनको यस्तो सकरात्मक व्यवहारले विद्यालयमा अनुशासन कायम भएको छ।
‘आजकल हाम्रो स्कुलमा म मात्र होइन, शिक्षकहरू पनि चाँडै आउनुहुन्छ र गेटमा उभिएर विद्यार्थीलाई नमस्कार गर्नुहुन्छ। यसले हाम्रो स्कुलमा सबै जना समयको ख्याल राख्ने र समयभित्र आउने परिपाटीको विकास भएको छ,’ प्रअ राईले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘स्कुलमा व्यावहारिक तथा सीपमूलक शिक्षामा जोड दिइएका कारण विद्यार्थी हौसिएर स्कुल आउँछन्। एकदिन स्कुल बिदा हुँदा उनीहरू दुःखी हुन्छन्।’
साना कक्षामा प्रअले शिक्षकहरूलाई बालबालिकासँग खेल्दै सिकाउने अभ्यास गराउनुपर्छ। काठमाडौंका विद्यालयहरूमा यस्तो सिकाइ विधि अपनाइएका कारण सिकाइ प्रभावकारी हुन्छ।
जानुका नेपाल,नीलबाराही स्कुल, कालीमाटी
कालीमाटीमा रहेको नीलबाराही स्कुलकी प्रअ जानुका नेपाल पनि विद्यालयमा सबैभन्दा पहिलो पुग्ने शिक्षक हुन्। उनी सबैभन्दा अगाडि विद्यालयमा पुगेर छात्रछात्रासँग विभिन्न विषयवस्तुमा छलफल गर्छिन्। विद्यार्थीसँग नजिक भएर उनीहरूको दुःखसुखबारे बुझ्नेलगायत अन्य सकारात्मक व्यवहारका कारण सो स्कुलमा शिक्षक र विद्यार्थी अनुशासित छन्। समयभित्र नियमित विद्यार्थी र शिक्षक कक्षाकोठामा पुग्छन्। सिकाइ उपलब्धिमा स्तरीयता कायम भएको उनी दाबी गर्छिन्।
खेल्दै रमाउँदै शिक्षण सिकाईले बाल कक्षा प्रभावकारी
कालिमाटीस्थित नीलबाराही स्कुलमा पुग्दा बालकक्षामा बालबालिका रमाइलो गरिरहेका थिए। कोही गाउँदै, कोही नाच्दै त कोही खेल्दै गरेका भेटिए। बालकक्षाका शिक्षक पनि बालबालिकालाई आफ्नै सन्तानजस्तै हातले खाजा खुवाइरहेका दृश्य पनि गजब लाग्थ्यो। ‘प्रारम्भिक बाल सिकाइका लागि खेल्ने, गाउने, नाच्ने, रमाउने र सिक्ने शैक्षिक सामग्री सरकारले पर्याप्त व्यवस्था गरेको छ,’ प्रअ नेपालले सुझाइन्, ‘अब विद्यालयका प्रअले आआफ्ना विद्यालयका शिक्षकहरूलाई बालबालिकासँग खेल्दै रमाउँदै शिक्षण सिकाइको अभ्यास गर्न लगाउनुपर्छ।’
उनले सिकाइका विधि बताउँदै भनिन्, ‘काठमाडौं उपत्यकाका यस्ता शिक्षण सिकाइ अपनाएका कारण विद्यालयहरूमा बालबालिका रमाएर विद्यालय आउँछन् र शिक्षकलाई अभिभावकसरह व्यवहार गर्छन्। यसका कारण पनि बालबालिका घरमा भन्दा विद्यालयमा रमाइलो हुने ठानेर खुसी हुँदै आउँछन्।’
उनका अनुसार बाल शिक्षाका कक्षाकोठामा सिकाइलाई सघाउने खेलौना, अक्षर मिलाउने ब्लक, ट्याबबाट गीत सुन्ने र पाठहरू नाचेरै सिक्ने भएपछि उनीहरू घर जानै मान्दैनन्। बालबालिकालाई कक्षाकोठामा संगीतको माध्यमले निकै रमाइलो वातावरणमा सहज रूपमा शिक्षण सिकाइ गराउन सकिन्छ।
प्रयोगात्मक र परियोजनात्मक ज्ञानमा आधारित सिकाइ गराउने
विश्वनिकेतनमा विशेष गरी अंग्रेजी, विज्ञान, गणित विषय विद्यार्थीको दैनिकीसँग जोडेर पठनपाठन गराउने गरेको प्रअ कँडेल सुनाउँछन्। विद्यार्थीको सिकाइमा अप्ठ्यारो पार्ने भएकाले यी विषय विद्यार्थीलाई कठिन लाग्ने गर्छ। ‘तर हाम्रो विश्वनिकेतन माविले यी विषयहरूलाई पनि विद्यार्थीको दैनिकीसँग जोडेर शिक्षण सिकाइलाई प्रयोगात्मक बनाएको छ,’ प्रअ कँडेलले कक्षाकोठाको सिकाइबारे भने, ‘गणितमा आयतन निकाल्नुपरे विद्यार्थीलाई इन्ची टेप दिएर कक्षाकोठाको लम्बाइ, चौडाइ र उचाइ नाप्न लगाएर आयतन निकाल्न लगाउँछौं। त्यो उनीहरूले कहिल्यै बिर्संदैनन्। गणितका यस्ता थुप्रै समस्यालाई प्रयोगात्मक रूपमा समाधान गर्दा विद्यार्थीले लेखेर, सुनेर बोलेर भन्दा छिटो र नबिर्सने गरी सिक्ने गरेको हामी शिक्षकले अनुभव गरेका छौं। विज्ञानमा फुल्ने र नफुल्ने फूलबारे पढाउनुपरे हामी विद्यार्थीलाई घरबाट विद्यालय आउँदा फुल्ने र नफुल्ने फूलको बिरुवा ल्याउन लगाउँछौं। बिरुवालाई प्रयोगात्मक गरी त्यसको प्रत्येक भागको वर्णन गर्दै सिकाउँछौं। यस्ता थुप्रै उदाहरण छन्। जुन शिक्षण विधिले हाम्रो विद्यालयमा कक्षाकोठाको सिकाइ गुणस्तरीय बनाएको छ।’
मुख्यतः हेडमास्टर जिम्मेवार भएका सामुदायिक विद्यालयले कोल्टो फेरेका छन्। घरमा अभिभावकले र विद्यालयमा शिक्षकले सकारात्मक निगरानी राखे विद्यार्थीको सिकाइ सुधारमा कठिनाइ हुन्न।
हेरम्बराज कँडेल,विश्वनिकेतन मावि, त्रिपुरेश्वर
प्रअ कँडेलका अनुसार सामाजिक शिक्षाका विषयहरूको अध्ययन गराउँदा विद्यार्थीलई नजिकैको कुनै बस्तीमा पठाएर त्यहाँ बसोबास गर्ने समूहको रहनरहन, वेशभूषा, भाषा–संस्कृति, घर–व्यवहारबारे अध्ययन गरेर आफूले बुझेको विषयवस्तुबारे लेख्न लगाएर परियोजना कार्य गराउँदा विद्यालय तहदेखि नै विद्यार्थीको नेतृत्व क्षमता विकास हुने गई विषयवस्तुबारे व्यावहारिक ज्ञान प्राप्त गर्न सक्ने क्षमतको विकास हुन्छ।
सीपमा आधारित ज्ञानलाई पाठ्यक्रमसँग जोड्नुपर्छ
अबको शिक्षा विद्यार्थीलाई किताबी किरा बनाएर मात्र पुग्दैन भन्ने साबित भइसकेकाले विद्यालयभित्र एकेडेमिक ज्ञानका साथै सीप पनि दिनु आवश्यक भएको प्रअ कँडेलले बताए।
‘हाल काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको जीवनै बदलिएको छ,’ प्रअ कँडेलले भने, ‘हाम्रो विद्यालयमा सिकाउँदै आएको सौन्दर्य तालिम, प्लम्बिङ र मूर्तिकला सीपले विद्यार्थी अहिलेदेखि नै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्, आफ्नो पढाइ खर्च आफंै उठाउन थालेका छन्। विद्यार्थीले थप एडभान्स्ड कोर्सको माग गरिरहेका छन्। अब यस्ता सीपमूलक शिक्षालाई सरकारले पाठ्यक्रमसँग जोडेर अघि बढ्नुपर्छ। हाम्रो स्कुलमा निकै प्रभावकारी भएको छ, शिक्षामा सीप कार्यक्रम।’
उपचारात्मक सिकाइले विद्यार्थीलाई लाभ
सर्वसाधारणको पहुँचको शिक्षा सार्वजनिक शिक्षा भएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरू फरकफरक धरातलका हुन्छन्। उनीहरूको सिकाइ स्तर असमान भएकाले विद्यार्थीलाई उपचारात्मक शिक्षा दिनुपर्ने भनाइ नीलबाराहीकी प्रअ नेपालको छ। उनका अनुसार शिक्षकमा विद्यार्थीको सिकाइ क्षमता पहिचान गर्न सक्ने योग्यता हुनुपर्छ।
‘सरकारले कार्यान्वयनमा ल्याएको उदार कक्षा नीतिका कारण पनि विद्यालय तहमा कुनै विद्यार्थी कमजोर भए पनि फेल गराउन मिल्दैन,’ विश्वनिकेतनका प्रअ कँडेलले भने, ‘यसकारण पनि विद्यार्थीको सिकाइ स्तर शिक्षकले पहिचान गरी निकै कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा चलाएर स्तर उकास्नुपर्छ। अभिभावक र शिक्षक तथा विद्यार्थीको छलफलबाट त्यस्ता विद्यार्थीलाई उपचारात्मक कक्षा दिनुपर्छ।’
शिक्षकले आफूले पढाउने विद्यालयमै सन्तानलाई पढाउनुपर्छ
प्रअ कँडेलका अनुसार सार्वजनिक शिक्षा सुधारको अर्को मुख्य कारण शिक्षकले आफ्ना सन्तान आफूले अध्यापन गर्ने स्कुलमा पढाउनु पनि हो। यसले स्कुलमा भएका राम्रा र नराम्रा सबै विषयवस्तु बच्चाद्वारा शिक्षकको घरमा पुग्ने र यसले शिक्षा सुधारमा सकारात्मक भूमिका खेल्ने गरेको प्रअ कँडेलको अनुभव छ। ‘विश्वनिकेतनमा ९० प्रतिशत शिक्षकले आफ्ना सन्तानलाई पढाएका छन्,’ उनले भने, ‘हाम्रो स्कुलको ठुलो विज्ञापन यही हो। बच्चाबाटै सकुलको कमीकमजोरी शिक्षकको घरमा पुग्छ र त्यस प्रक्रियाबाट सार्वजनिक शिक्षा सुधारको सुरुवात हुन्छ। हामीकहाँ यही भएको छ।’
नीलबाराही स्कुल, जनकल्याण स्कुलमा शिक्षकहरूले पनि आफ्ना नानीबाबुलाई भर्ना गराएकाले शिक्षण सिकाइ प्रभावकार गएको भन्न सकिने त्यहाँका प्रअहरू बताउँछन्।
प्रकाशित: १४ श्रावण २०८० ०१:०८ आइतबार