६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई १ लाखसम्म जरिवाना

इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ।

शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको छ। जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो। शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो।

जसमा छात्रवृत्ति विवरण नबुझाउने आधारभुत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ्् स्कुल, वडा नं. ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४ को  सृजना किण्डर गार्टेन मन्टेश्वरी र  वडा नं. ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन्। यस्तै, आधारभूत तहकै वडा नं. २० को इन्द्रेणी स्कुल, वडा नं. १० मा सञ्चालित इटहरी नमुना स्कुल, वडा नं. १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन्। यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ।

यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नं. १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोडिङ् स्कुललाई  एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको जानकारी दिइयो। इटहरी क्षेत्रभरी आधारभुत र माध्यमिक विद्यालय गरि निजी एक सय २९ वटा विद्यालय रहेका छन्।  

अरु निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण बुझाएपनि १५ वटाले नबुझाएका कारण कारबाही गरिएको शिक्षा शाखाका अधिकृत फाल्गुनीप्रसाद काफ्लेले बताए। कक्षा १० सम्मका विद्यार्थीका लागि छात्रवृत्ति विवरण उपमहानगरपालिकामा बुझाउनुपर्ने माग गरिएको थियो।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयको हकमा भने सोझै अनुदान बापतको रकम छात्रवृत्ति दिने गरेको छ।  

नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति विवरण बुझाउन चाँसो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिराउन निर्णय भएको बताए। उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ। निजी विद्यालयलाई उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउन सूचना जारी गरेर असार २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो।

यसैबीच, संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि भने उपमहानगरपाकिाले आगामी साउन २२ गते परीक्षा लिने भएको छ। साउन १ गतेदेखि आवेदन खुला हुने र साउन १५ गतेसम्म रहनेछ। शैक्षिक सत्र ०८०/८१ का लागि छात्रवृत्तिका लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने अधिकृत काफ्लेद्दारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २९ असार २०८० ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App