६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

कक्षा ११ को छात्रावृत्ति परीक्षा महानगरले लिने

विद्यालय व्यवस्थापन समीतिले छनोट गर्दै आएको कक्षा ११ को छात्रावृत्ति शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौं महानगरपालिकाले छनोट गर्ने भएको छ। हाल कक्षा ११ को छात्रावृत्ति विद्यालय व्यवस्थापन समितिले छनोट गर्दा पारदर्शी नभएको भन्दै अगामी शैक्षिक सत्रदेखि कक्षा ११ को छात्रावृत्ति छनोट कार्य महानगरपालिका आफंैले गर्न अग्रसरता देखाएको हो।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा सर्वाजनिक भएलगत्तै कक्षा ११को नयाँ भर्नासँगै काठमाडौं महानगरले छात्रावृत्ति परीक्षा सञ्चालन गर्ने तयारी गरेको महानगरपालिकाका सरकारी विद्यालय हेर्ने अधिकृत मोती भट्टराईले बताए। उनले यसअघि विद्यालयले आफैं छात्रावृत्ति छनोट गर्दा पारदर्शी नभएको गुनासा शिक्षा विभागमा धेरै आएकोले अबदेखि छात्रावृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने जिम्मेवारी पनि महानगरले लिने उनको भनाइ छ।  

महानगरका मेयर बालेन्द्र साह (बालेन) साहको चासो पनि विद्यालयमा वितरण हुने छात्रावृत्ति लक्षित वर्गसम्म पुर्‍याउने भएकाले साहकै अग्रसरतामा छात्रावृत्ति महानगरले व्यवस्थापन गर्न लागेको हो। काठमाडौं महानगरभित्र कक्षा ११ सञ्चालन हुने सरकारी ३९ वटा र अन्य निजी गरी करिब सयको हाराहारीमा छन्।  

काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएअनुसार महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ को विद्यार्थीका लागि वितरण गर्ने छात्रावृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैंले सञ्चालन गर्ने महानगरले सबै विद्यालयका नाममा जारी गरेको सूचनामा उल्लेख छ।

‘विद्यालयमा अध्ययन गरेका जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब, अपांगता भएकालगायतका प्राथमिकताका आधारमा योग्यताक्रम निर्धारण गरी छात्रावृत्ति प्रदान गर्ने महानगरको मुख्य लक्ष्य हो,’ अधिकृत भट्टराईले भने, ‘प्रश्नपत्र बनाउने, परीक्षा सञ्चालन गर्ने र विद्यार्थी छनोट गरिन्छ। त्यसपछि विद्यार्थीले छनोट गरेका विद्यालयमा छात्रावृत्तिका लागि महानगर शिक्षा विाभगले नै सिफारिस गर्छ। असार अन्तिम साता बस्ने कार्यपालिका बैठकमा कार्यविधि पािरत हुन्छ। यही कार्यविधिअनुसार अनलाइन फारम खोलिन्छ। विद्यार्थीले अनलाइन फारम भर्छन्।’ महानगरपालिकाले हाल महानगरत्रि कक्षा ११ सञ्चालन भएका स्कुलबाट पोहोरको कक्षा ११ मा भर्ना भएका विद्यार्थी संख्या र गत वर्ष वितरण गरिएका छात्रावृत्तिको तथ्यांक उपलब्ध गराउन स्कुलहरूलाई परिपत्र गरिसकेको समेत उनले जनाए। ‘महानगरले छात्रावृत्ति छनोट गर्दा करिब १० हजार लक्षित वर्गका विद्यार्थीले लाभ लिने छन्,’ उनले भने ‘विद्यालय ब्यवस्थापनले छनौट गरेका छात्रावृत्तिमा लक्षित वर्ग भन्दा भनसुनका आधारमा वितरण भएको गुनासा छन्। ’

प्रकाशित: १९ असार २०८० ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App