४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सरसफाइ प्राविधिकलाई स्वदेशमै अवसर

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधार व्यापक भएकाले यस क्षेत्रका विद्यार्थी प्राविधिकले देशमै काम गर्ने सुअवसर रहेको राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।

यो क्षेत्रमा रहेका विद्यार्थी प्राविधिकले सरसफाइ क्षेत्रमा कुनै पनि देशमा कामको लागि आवेदन दिन सक्ने उनीहरूले बताए। ‘विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरूले स्वदेशमा मात्रै होइन, संसारका जुनसुकै कुनामा सजिलै काम गर्ने अवसर प्राप्त छन्’, उनीहरूले भने।

उच्च शिक्षाका लागि देशमै ख्यातिप्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौं विश्वविद्यालय (केयु) ले गरेका कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्राडा विमप्रसाद श्रेष्ठले यो क्षेत्रमा देशमै योगदान गर्न सक्ने क्षेत्रहरू धेरै रहेको बताए।

‘नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेका छौं’, उनीहरूले भने।

नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एन्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलान्डको आईएचई संस्थाको संयोजकत्वमा विश्वव्यापी रूपमा सञ्चालित सरसफाइसम्बन्धी पेसागत तालिम चलाइरहेका छन्। यही तालिममा सहभागी ४४ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा यस्तो बताइएको हो।

यस वर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बरदेखि २०२३ मार्चसम्म र केयुले २०२२ डिसेम्बरदेखि २०२३ अप्रिलसम्म आयोजना गरेका थिए। नेकले सरसफाइ प्रविधिमा पेसागत अध्ययन कार्यक्रममा यसपल्ट नौजना महिला र १० जना पुरुष गरी १९ जनाले तालिमका सबै मापदण्ड पूरा गर्न सफल भएका थिए। सोही विषयमा केयुले आयोजना गरेका कार्यक्रममा चारजना विदेशी विद्यार्थीसहित २५ जना प्रशिक्षार्थी सफल भएका थिए।

प्रकाशित: २९ जेष्ठ २०८० ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App