१२ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

बढ्दै ‘ड्रप आउट’ कहाँ जान्छन् विद्यार्थी?

सरोकारवालाले चासो नदिँदा रोल्पाका धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको तथ्यांक भेटिएको छ। कक्षा ९ सम्म पढेका र एसईई परीक्षा दिनका लागि रजिस्ट्रेसन फाराम समेत भरेका विद्यार्थी ‘ड्रप आउट’ भएको जानकारी पाए पनि त्यसको कारण खोजी भने भएको छैन। जिल्ला शिक्षा समन्वय एकाइ रोल्पाका अनुसार यहाँका सबै पालिकामा ठूलो संख्यामा विद्यार्थी ड्रप आउट भएका छन्। २०७८ मा रजिस्ट्रेसन भरेका विद्यार्थीमध्ये २०७९ मा आवेदन भर्दा ६ सय ३० जनाले विद्यालय छाडेको पाइएको हो।

सदरमुकाम समेत रहेको रोल्पा नगरपालिकाका ८५ जना अर्थात् १२.३९ प्रतिशत विद्यार्थीले पढाइ छाडेका छन्। १२ माध्यमिक विद्यालयमध्ये सबैभन्दा धेरै बालकल्याण नमुना माविका ४१ जना विद्यार्थीले पढाइ छाडेका हुन्। सुनिल स्मृति गाउँपालिकामा ८२ जना अर्थात् १३.१६ प्रतिशतले विद्यालय छाडेका छन्।

त्यसैगरी थवाङ गाउँपालिकामा पाँचजना अर्थात् १०.६९ प्रतिशत, त्रिवेणी गाउँपालिकामा १ सय २२ जना अर्थात् २१.७९ प्रतिशत, गंगादेव गाउँपालिकामा ५६ जना अर्थात् १८.७५ प्रतिशत, परिवर्तन गाउँपालिकामा ३७ जना अर्थात् ८.१० प्रतिशत, लुङग्री गाउँपालिकामा ५४ जना अर्थात् १०.७४ प्रतिशत, माडी गाउँपालिकामा ३९ जना अर्थात् १२ प्रतिशत, सुनछहरी गाउँपालिकामा ३३ जना अर्थात् १२.४५ प्रतिशतले विद्यालय छाडेका हुन्।

बालकल्याण नमुना माविका प्रधानाध्यापक मधुसूदन पोख्रेल ‘ड्रप आउट’ हुनु राम्रो नभएको बताउँछन्। ‘आर्थिक अवस्था कमजोर भएका कारण पनि विद्यार्थीले पढाइ छाड्छन्। यो विषयमा स्थानीय तह र शिक्षामा चासो राख्नेहरू अलि चनाखो हुनुपर्छ।’

रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती आफूले ‘ड्रप आउट’ का बारेमा जानकारी नपाएको बताउँछन्। ‘हामीलाई जानकारी छैन। यो राम्रो लक्षण हैन। पढाइप्रतिको वितृष्णा र वैदेशिक रोजगारको मोहले पढाइप्रति चासो छैन।’ मेयर घर्ती भन्छन्, ‘यो गम्भीर चिन्ताको विषय हो। अब पढाइको महत्व बुझाउने हाम्रो प्रयास रहन्छ।’ उनका अनुसार पढाइपछिको रोजगार अभावका कारण पनि पढाइ छाड्ने गरेको पाइन्छ।

१ सय २२ जना विद्यार्थीले पढाइ छाडेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठा पनि आफूलाई यो विषयमा जानकारी नभएको बताउँछन्। ‘मलाई त यो विषय थाहा भएन। यो बडो गम्भीर समस्या हो। यसबारेमा के भएको हो म बुझ्छु। यसको समाधानका लागि पहल गर्छु।’

गंगादेव गाउँपालिकाका प्रमुख पनि यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन्। ‘मलाई कुनै जानकारी छैन। आइतबार यसबारेमा गाउँपालिकामा छलफल गर्छु।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन पनि आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताउँछन्।

महेन्द्र मावि होलेरीका प्रधानाध्यापक वेदबहादुर सूर्यवंशी धेरैजसो केटीले विद्यालय छाडेको बताउँछन्। ‘केटीहरू बिहे गरेर जान्छन्। केही केटा रोजगारमा जान्छन्। भर्ना भएकालाई टिकाउन गाह्रो छ। विद्यालय छाड्ने दर बढी।’ उनी भन्छन्, ‘प्रत्येक वर्ष प्रत्यक कक्षामा ८/१० जनाले विद्यालय छाड्ने गरेका छन्।’

जनता मावि गामका प्रधानाध्यापक बागवीर घर्ती पढाइ छाड्नुको मुख्य कारण विवाह र गरिबी रहेको बताउँछन्। उनी भन्छन्, ‘व्यावसायिक/व्यावहारिक शिक्षा नहुनु पनि हो। अभिभावकले आर्थिक सपोर्ट गर्दैनन्। विद्यालय छाड्नु राम्रो कुरा हैन।’

जिल्लामा पर्याप्त दरबन्दी नहुँदा गतिलो नभएपछि विद्यार्थीले पढाइ छाड्ने गरेको एक शिक्षक बताउँछन्। ‘यहाँको सुनछहरी गाउँपालिकामा माविको एउटा पनि दरबन्दी छैन। त्यसो त जिल्लामा करिब ६० प्रतिशत बढी दरबन्दी कम छ।’ शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सबालमा आर्थिक अधिकारसहितका स्थानीय तहले चासो नदिएका कारण जहिले समस्या हुने गर्दछ।

प्रकाशित: २१ फाल्गुन २०७९ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App