६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

दाताको भरमा महाकाली गुरुकुल

भीमदत्त नगरपालिका-८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ।

शहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ।

गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक छ कोठा र अर्को भवन चार कोठाको निर्माण हुने भएको छ। छात्रावासका दुईवटै भवन निर्माणका लागि ३०-३० लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ र पाठशाला भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ। सामाजिक विकास कार्यालयकै लगानीमा  १५ लाख रुपैयाँको लागतमा गुरुकुलको कम्पाउण्ड क्षेत्रमा घेरबार निर्माण भइरहेको छ।

‘नियम अनुसार बोलपत्र प्रक्रिया मार्फत ठेक्का सम्झौता गरी पूर्वाधार निर्माणकार्य अगाडि बढाइएका छन्’ अध्यक्ष जोशीले भने, ‘भौतिक पूर्वाधार निर्माण कार्यको केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र प्रदेशसभा सदस्य विक्रम धामीले संयुक्त रूपमा शिलान्यास गरेसँगै कार्य अगाडि बढेको छ।’

गुरुकुलको आफ्नै भवन नहुँदा भम्केनी धार्मिक क्षेत्रको भवनमा सञ्चालन हुँदै आएको छ। २०७८ सालदेखि सञ्चालन हुँदै आएको गुरुकुलमा वैदिक परम्परा अनुसारको संस्कार र शिक्षा विद्यार्थीलाई दिइँदै आएको छ। गुरुकुलका प्राचार्य दुर्गादत्त जोशीका अनुसार चालु शैक्षिक सत्रमा कक्षा ६ र कक्षा ७ मा नेपाल सरकारले तोकेको पाठ्यक्रममा आधारित विषयवस्तु नियमित रूपमा पठनपाठनको कार्य भइरहेको छ।

‘आउदो शैक्षिक सत्रमा कक्षा ८ सम्मको पढाइ सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा अनुरोध गरिसकेका छौं’, उनले भने।

हाल गुरुकुलमा १६ विद्यार्थी भर्ना भई पढ्दै आएका छन्। गुरुकुलमा पढ्ने विद्यार्थीलाई चरित्रवान्, संस्कारी, नैतिकवान्, अनुशासितसँगै पढाइमा अब्बल बनाउन सक्दो प्रयत्न भइरहेको व्यवस्थापन समिति अध्यक्ष जोशीको भनाइ छ।

‘बदलिंदो परिवेशसँगै पुर्खौदेखि चल्दै आएको रीतितिथि, परम्परा, धर्म-संस्कृतिलाई बिर्संदै जान थालेका छौं’, उनले भने, ‘वैदिक विधिलाई जीवन्त राख्न गुरुकुल स्थापना गरेका हौं।’

भौतिक पूर्वाधारको पर्याप्तता भएपछि विद्यार्थीको संख्यामा बढोत्तरी हुने विश्वास उनको छ। ‘गुरुकुलमा बालबालिकालाई पढाउने धेरै अभिभावकले चाहना व्यक्त गर्नुभएको छ’, उनले भने, ‘बस्नका लागि पर्याप्तता नहँुदा धेरै विद्यार्थी भर्ना गर्न सकेका छैनौं, निर्माणाधीन भवन निर्माण सकिएपछि विद्यार्थीको संख्या बढाउँदै लैजाने योजना छ।’

हाल गुरुकुल दाताको सहयोगमा सञ्चालन हुँदै आएको छ। रासस

प्रकाशित: २२ माघ २०७९ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App