६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

आमामाथि अपराध

प्रकृतिले महिलालाई विशिष्ट तुल्याएको छ। यसरी महिला विशिष्ट हुनुमा उनीहरूलाई प्राप्त प्रजनन क्षमता पनि हो। महिलामा यो क्षमता नभए सृष्टिको कल्पना पनि हुँदैन। त्यसैले नारी शक्ति यो धर्तीको सबैभन्दा महत्त्वपूर्ण र स्तुत्य बन्न सकेको हो। भगवती, दुर्गा, लक्ष्मी, महाकाली जस्ता सहस्र नामधारी महिलाले प्रदर्शन गरेका चामत्कारिक कार्यहरूले पनि उनीहरूको क्षमता उजागर हुँदै आएको छ। त्यसै देवीलाई आराधना गर्दै ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ जस्ता महामन्त्र सिर्जना भएका होइनन्।

विडम्बना, यी जगत्जननी महिलाहरू यही कारण मृत्यु वरण गर्न बाध्य हुँदै आएका छन्। बर्सेनि सयौँ महिला गर्भवती र सुत्केरी अवधिमा कालको मुखमा पर्न बाध्य हुन्छन् जबकि कारण खोतल्दै जाँदा मर्नुपर्ने अवस्था देखिँदैन। अर्थात सामान्य उपचार अर्थात स्वास्थ्य सावधानी अभावमा उनीहरू ज्यान फ्याँक्न विवश छन्। यस्तो सामान्य सुविधा पनि दिन नसक्ने राज्यले लज्जित हुनु आवश्यक छ। 

फेरि यस्तै अप्रिय घटना गत सोमबार भएको छ बाजुराको कोल्टीमा। हुम्लाकी २३ वर्षीया सुत्केरी अंशु बुढाले उपचारका निम्ति विमान कुदाकुर्दै ज्यानै गुमाउनु परेको छ। लाऊलाऊ खाऊखाऊको यो उमेरमा मृत्यु वरण गर्नु आफैंमा लज्जाको विषय हो। परिवार सदस्यका निम्ति बाँचुञ्जेल मनमा बिझिरहने घटना हो। गएको पुस १२ गते हुम्लाको ताजाकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् अंशु। सुत्केरी भएको ११ दिनपछि अंशुमा श्वास/प्रश्वाससम्बन्धी समस्या देखिएपछि परिवारले सोही स्वास्थ्य चौकी लगेका थिए। त्यहाँ उपचार हुन नसकेपछि बाजुराको कोल्टी स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि नेपालगन्ज लैजान भनियो तर नेपालगन्ज जानका लागि आउनुपर्ने विमान नआएपछि उनको त्यहीँ मृत्यु भयो।

पहिलो कुरा त सर्वसाधारणको आधारभूत स्वास्थ्य अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरे पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन। संविधानमा लेखेर मात्र हुँदैन कार्यान्वयन हुनुपर्छ। दोस्रो कुरा सरकारले दुर्गम क्षेत्रमा जोखिममा परेका विपन्न समुदायका गर्भवती र सुत्केरीको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा ल्याए पनि त्यो प्रभावकारी नहुँदा बर्सेनि सयौँ अंशुको अनाहकमा ज्यान जाने गरेको छ। यो कार्यक्रमको उद्देश्यअनुसार विमान पुगेको भए उनको ज्यान बच्न पनि सक्थ्यो। तर सरकारी लापरबाहीका कारण यो सम्भावना सम्भावनामै सीमित रहन पुग्यो।

एकातिर राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ नेता÷कर्मचारीले राष्ट्रको ढुकुटी दोहन गरेको गर्‍यै छन्। उनीहरू सेना तथा राष्ट्रिय ध्वजाबाहक विमानको दुरूपयोग गरिरहेका छन्। पारिवारिक जमघटदेखि आफ्ना शोख पूरा गर्नसमेत विमान दुरूपयोग गर्ने प्रतिस्पर्धा नै चलेको छ तर गरिब र दुःखीहरूका जीवनसँग भने उनीहरूलाई एकरत्ति सहानुभूति नहुनु दुःखद पक्ष हो। अवस्था यस्तो हुँदनथ्यो भने न गर्भवतीले सन्तानसँगै आफ्नोसमेत ज्यान गुमाउनुपथ्र्यो न त सुत्केरीले नै नवजात शिशुलाई टुहुरो बनाएर कुबेलामै परलोक हुनुपथ्र्यो।

गर्भवती, सुत्केरी महिला उत्थान कार्यक्रम हेर्दा र सुन्दा जति आकर्षक छ, त्योभित्रको फोहोरी खेल उत्तिकै दुर्गन्धित छ। अर्थात यो पहुँचवालाको र सोझै भन्दा हुनेखानेको पहुँच भन्दा बाहिर जान सकेको देखिन्न। त्यसैले यस्तो कार्यक्रमको प्रभावकारितामाथि नै बेलाबेला प्रश्न उठ्ने गरेको हो। खासमा राज्यप्रदत्त सेवाले गरिब र धनी, हुने र नहुने, शक्तिवान र निर्धोको वर्गीकरण नचिन्नुपर्ने हो तर व्यवहारमा भने यस्तै भइरहेको छ। जसका कारण यो कार्यक्रम अंशुहरूका लागि ‘आकाशको फल, आँखा तरी मर’ हुन पुगेको छ।

पहिलो कुरा त देहातमा सर्वसाधारणको स्वास्थ्योपचारको उचित र पर्याप्त व्यवस्था मिलाउनुपर्छ। सबै रोगको उपचार नहुने र अन्यत्र पठाउनुपर्ने अवस्थामा हवाई उद्धार सेवालाई बिनापक्षपात प्रभावकारी बनाइनुपर्छ। जसले यस्तो सेवालाई पनि पहुँच, सम्पन्नता र कुनै दलविशेषको आबद्धतासँग जोडेर दुरूपयोग गर्छ उसलाई सख्त कारबाहीको दायरामा ल्याउनुपर्छ। तब मात्र मुलुक र सरकार अंशुहरूको पनि भएको प्रमाणित हुन्छ।

प्रकाशित: २६ पुस २०८० ००:२५ बिहीबार

Download Nagarik App
Download Nagarik App