५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

तीजको शुभकामना!

आज तीज। नेपाली महिलाको सबैभन्दा ठूलो पर्व। पछिल्लो समय तीजको व्यापकताले यसैको संकेत गर्छ। पहिले तीज नमान्ने समुदायका कतिपय महिला पनि तीजको पर्वमा सहभागी हुन थालेका छन्, तीजलाई महिला उन्मुक्ति र उत्साहको पर्वका रूपमा अथ्र्याउन थालेका छन्। समयक्रमसँगै बद्लिदो तीजको यो स्वरूपलाई सकारात्मक रूपमा हेरिनुपर्छ।  

तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ। त्यसकारण यो पर्व पतिको दीर्घजीवन वा असल पति प्राप्तिको एउटा परम्परागत पर्व बनेको छ। जेजस्तो प्रशंगबाट यो सुरु भए पनि असल पति वा पत्नीको परिकल्पना सबैभन्दा पुरानो संस्था विवाहसँग जोडिएको छ।

तीजलाई विगतमा राजनीतिक उद्देश्यका निम्ति पनि प्रयोग गरेको देखिन्छ। विगतमा महिलामाथि चरम शोषण हुँदा एक दिन भए पनि वर्ष दिनका वुहार्तनमाथि व्यंग्य गर्ने र आफूलाई उन्मुक्त राख्ने विद्रोही परम्परा पनि यसमा जोडिएको छ। हिजो कृषिकर्ममै व्यस्त समाजका बुहारीले एक दिन भए पनि माइतमा पुगेर जन्मघरको भावनासँग आफूलाई आत्मसात गर्न पाउने गरेका हुन्। हिजो तीजमा चेलीलाई लिन दाजुभाइ घरमा आइनपुग्दाको घनघोर निराशाको समयलाई समेत यस पर्वले मुखरित गर्छ।

यो पर्वका बेला खासगरी शिवको पूजाआजा गरिन्छ भने नाचगान गरेर रमाइलो मनाउने गरिन्छ। तीज पर्वको मुख्य विशेषतामध्ये दर खाने पनि एउटा हो। तीजको व्रत पानीसमेत नखाइ बसिने परम्परा भएकाले यतिबेला व्रतालुलाई गाह्राे हुने ठानी व्रतको अघिल्लो दिन रात (१२ बज्नुअगाडि) खाइने मिठोमसिनो खानेकुरा नै दर हो। दरमा यो परिकार अनिवार्य हुनुपर्छ भन्ने छैन। खिर, मिठाइ, सेलरोटी वा आफूलाई मन मर्ने चिजबिज घरका सबै परिवार मिलेर रातमा खाइने हुँदा यसको विशेष महत्त्व हुने गर्छ। माइती आएका चेलिबेटी र आफन्तसमेत सहभागी हुने भएकाले दरको रौनक कतिपय अवस्थामा अविश्मरणीय हुन्छ। यो दिन दर खाएपछि वर्षभरि दह्रो भएर काम गर्न सकिन्छ भन्ने विश्वास समेत राख्ने गरिएको हो। तर, व्रत र आहारमा आफ्नो स्वास्थ्यलाई भने पहिलो प्राथमिकता दिनुपर्छ।

सबै धर्म र सम्प्रदायले नारी शक्तिलाई निकै उचो स्थानमा राखेका छन्। कतै कालीका रूपमा त कतै सरस्वतीका रूपमा, कति महालक्ष्मीका अवतारमा त कतै देवीका आवरणमा, नारीलाई शक्तिशाली देखाइएको छ र उनले चाहेमा कुनै पनि कुरा असम्भव नभएको पुष्टि गरिएको छ। नारी आफूले हासिल गर्न चाहेको उपलब्धि कुनै पनि प्रकारले प्राप्त गरिछाड्छन् भन्ने रूपमा पनि यो पर्वलाई बुझ्न सकिन्छ। त्यसैले तीजसँग जोडिएको प्रसंगलाई नारी शक्तिको अर्को एउटा विजयका अर्थमा लिन सकिन्छ। कतिपयले यसलाई प्रेम विजय उत्सवको चाड पनि भन्ने गरेका छन्।

सधैँको कामकाजबाट केही समयका लागि मुक्ति, मिठोमसिनो खाने अवसर र लामो समयदेखि भेटघाट नभएका आफन्तसँग पुनर्मिलन तीजका उत्तम पक्ष हुन्। यतिबेला किनमेल र आवतजावतसमेत बाक्लै हुने भएकाले आर्थिक दृष्टिले पनि पनि तीज सकारात्मक मान्नुपर्छ। अर्कोतर्फ मन मिल्ने दिदीबहिनी, आफन्त जम्मा भएर खुलेर गीत गाउने र नाच्ने प्रचलनले महिलाको आत्मबल बढाउन मद्दत गरेको हुन्छ। त्यसैले तीज पर्व कुनै पनि दृष्टिकोणबाट सुन्दर देखिन्छ।

परम्परा, संस्कृति, संस्कार, रीतिरिवाज हाम्रा अमूल्य गहना हुन् जसले समाजलाई जोडिरहन मद्दत गर्छ भने स्वार्थीपन र एकांकीपन चिर्न सघाउँछ। एक्लिँदै र खण्डित हुँदै गएको समाजलाई जोड्ने तत्वको काम गर्छन् यस्ता परम्पराले। कतिपयले तीज मनाउने महिलाको स्वतन्त्रतालाई लिएर कटु शब्दमा आलोचना पनि गर्ने गरेका छन्, जुन अधिकतर पुरुषवादी सोचबाट प्रेरित देखिन्छ। तर, यति भन्दाभन्दै पनि तीजमा बजार र उपभोक्तावादको बढ्दो प्रभावलाई भने वेवास्ता गर्न मिल्दैन। परम्पराका नाममा फजुल खर्च, सामाजिक, आर्थिक हैसियतमा प्रतिस्पर्धी झल्को देखिने खालका अस्वाभाविक क्रियाकलापप्रति भने सचेत हुनैपर्छ।

पछिल्लो समय छठ, तीज आदि सबै वर्ग, समुदाय, जाति, भूगोल र तप्का जोड्ने साँघुका रूपमा उदाएका छन्। त्यसैले तीजलाई यही साँघु अझ मजबुत गराउने र महिलाको आत्मविश्वास बढाइ उनीहरूको सशक्तीकरण तीव्र तुल्याउने उद्देश्यले मनाउन सकियोस्। यसका लागि तीज मनाइने मौलिक आधारका खोज अत्यावश्यक छ, जसको जगमा धार्मिक र सांस्कृतिक रुढता होइन सामाजिक र व्यवहारिक सोचको आवश्यकता छ।

सम्पूर्ण नारी शक्तिलाई हरितालिका तीजको शुभकामना!

प्रकाशित: ३१ भाद्र २०८० २३:३३ आइतबार

Download Nagarik App
Download Nagarik App