६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

निगमद्वारा लगानी कोषको ऋण भुक्तान

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्व किस्ता रकम भुक्तानी गरेको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ रकम भुक्तानी गरेको हो।

निगमले कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र व्याज बापतको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ र त्यसैगरी, नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता बापतको २० करोड रूपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ।

निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण तिरेको थियो। सो समयमा निगमले ऋण दायित्व किस्ता बापतको १ अर्ब ३५ करोड रूपैयाँ रकम भुक्तानी गरेको थियो।

विगत केही वर्षदेखि विविध कारण देखाउँदै निगमले सञ्चयकोष तथा लगानी कोषको ऋण दायित्व भुक्तानी गरेको थिएन। निगमको व्यवस्थापनमा वर्तमान नेतृत्व आएपछि नियमित उडान, अकुपेन्सी दरमा सुधार भएकाले आम्दानी वृद्धि भई ऋण दायित्वको किस्ता भुक्तानी गरिरहेको निगमका सह प्रवक्ता गणेशकुमार घिमिरेले बताए। 

प्रकाशित: २ कार्तिक २०७९ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App