६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मंसिरभित्र मेलम्चीको पानी उपत्यकामा आउने

फाइल तस्बिर।

बर्सातका कारण रोकिएको मेलम्चीको पानी यो वर्षको वर्षा रोकिन थालेसँगै काठमाडौं उपत्यका ल्याउने तयारी गरिएको छ।

वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो।

मेलम्ची खानेपानी विकास समितिले यो वर्षका आगामी दिनमा ठूलो पानी पर्ने संभावना कम भएपछि मेलम्चीको पानी फेरि उपत्यका ल्याउन आवश्यक तयारी गरिरहेको हो।

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी उपत्यका ल्याउनका लागि आवश्यक तयारी भइरहेको बताए। ‘गत जेठ दोस्रो सातादेखि मेलम्ची नदीमा आउन सक्ने सम्भावित बाढी पहिरोलाई लक्षित गरेर सुरुङमा पानी पठाउने कार्य रोकेका थियौं,’ उनले भने, ‘वर्षा याम सकिएसँगै मेलम्चीको पानी फेरि उपत्यका ल्याउन आवश्यक तयारी भइरहेको छ।’ उनले मंसिरभित्रै मेलम्चीको पानी उपत्यका आइपुग्ने दाबी गरे।

समितिका सिनियर डिभिजनल इन्जिनियर पन्तले मेलम्चीको पानी फेरि उपत्यका ल्याउन १० करोड रूपैयाँ बजेट विनियोजन गरेर चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावर साइटमा खटिइसकेको बताए।

वर्षा याममा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको किहुँलदेखि अम्बाथान हेडवर्क्ससम्मको करिब चार किलोमिटर सडक ट्र्याक बिग्रिनुको साथै तीन वटा अस्थायी पुलमा समेत क्षति पुर्‍याएको छ। ‘अघिल्लो वर्ष मेलम्ची नदीमा आएको बाढीपहिरोले धेरै क्षति पुर्‍याएको थियो तर अघिल्लो वर्षको तुलनामा यो वर्ष धैरै कम क्षति भएको छ। त्यसैले पनि छोटो समयमै मेलम्चीको पानी उपत्यका ल्याउन सकिने आशा गरेका छौं,’ उनले भने, ‘अब मेलम्चीको किहुँलदेखि अम्बाथान हेडवर्क्ससम्मको ट्र्याक र तीन-चारवटा अस्थायी पुल जति छिटो बन्छ। मेलम्चीको पानी पनि त्यति नै छिटो आउनेछ ।’ यो वर्ष मेलम्ची नदीमा आएको भेलले आयोजनाको हेडवर्क्सस्थित संरचनालाई त्यति धेरै क्षति नपुर्‍याएकाले पनि छिट्टै आउने आयोजनाको दाबी छ।

सिनियर डिभिजिनल पन्तले सुरुङमार्गको हेडवर्क्ससम्म पुग्नको लागि मात्रै समस्या भएको बताए। ‘अम्बाथान अडिटमा पनि गेट लगाएका छौं। सुरुङको मुख्य गेटको पनि ढोका राम्रोसँग बन्द गरेकाले पनि सुरुङ भित्र कुनै पनि क्षति नपुर्‍याएको आशा गरेका थियौं।’ उनले भने, ‘अहिले सुरुङभित्र कुनै पनि लेदो तथा अन्य गेग्य्रान नपसेको अनुमान गरेका छौं।’

२०७८ सालको असार १ गते र साउन १५ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स जाने अम्बाथानको पहुँच मार्गको ड्यामसहित हेडवर्क्समा ठूलो क्षति पुर्‍याएको थियो। पहुँच मार्गमा भने चनौटेको पुलदेखि हेडवर्क्ससम्म क्षतविक्षत बनाएको थियो। मेलम्चीमा आएको बाढीपहिरोले अघिल्लो वर्ष करिब आठ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलका संरचनामा क्षति पुर्‍याएको थियो।

त्यसैगरी अघिल्लो वर्ष अहिले मेलम्ची नदीको पानी डाइभर्सन गर्नका लागि निर्माण गरिएको वैकल्पिक रूपमा पानी पथान्तरणको लागि प्रयोग गरिएको कफरड्याम समेत बाढीपहिरोसँगै आएको गेग्य्रानले पुरेको थियो। अहिले यो वर्ष भने कफ्रड्याम र हेडवर्क्स क्षेत्रमा खात्रै गेग्य्रान नथुप्रिएको आयोजनाले जनाएको छ। सरकारले अघिल्लो वर्षको हिउँदमा झण्डै ३६ करोड रूपैयाँ खर्च गरेर केही महिनाको लागि मेलम्ची नदीको पानी अस्थायी रूपमा काठमाडौं ल्याएको थियो।

गत वैशाख ११ गतेदेखि मेलम्चीको पानी केही समय उपत्यकामा वितरण गरिएको थियो। मेलम्चीको पानी वितरण गरेको ३५ दिन नबित्दै गत जेठको दोस्रो सातदेखि बन्द गरिएको थियो। मेलम्ची नदीको जलाधार क्षेत्रमा थुप्रिएको गेग्य्रानले मेलम्ची आयोजनाको संरचनामा क्षति पुर्‍याउन सक्ने संभावनालाई मध्यनजर गर्दै मेलम्चीको सुरुङमा पानी पठाउन रोक लगाइएको थियो।

सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा यो आयोजनामा हालसम्म ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। मेलम्चीको सुरुङमार्ग, हेडवर्क्स लगायत पूर्वाधारमा अहिलेसम्म ३० अर्ब रूपैयाँ खर्च भइसकेको छ। सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली लगायत संरचना निर्माणको लागि अहिलेसम्म २१ अर्ब रूपैयाँ खर्च भएको छ।

प्रकाशित: २८ आश्विन २०७९ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App