२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजनः सोधपुछ भयो, बुकिङ आएन

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिर :नागरिक<br>

कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुई वर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्। कोरोना संक्रमण केही घट्ना साथ पर्यटन क्षेत्रमा थोरै चहलपहल बढ्ने र संक्रमण बढ्ना साथ पर्यटन क्षेत्र पुनः सुस्ताउने गर्दैगर्दा यो अवधि बित्यो। कोरोनापछिका अधिकांश सिजन खुल्ने र सुस्ताउनेमा सीमित बने।

यतिबेला पर्यटन क्षेत्रमा फेरि सिजन सुरू भएको छ। यो बेला कोरोना संक्रमण केही कम भएको छ। संक्रमणको त्रास घटेपछि हिँड डुलमा सहजता पनि थपिएको छ। पर्यटकीय गतिविधिमा हुने गरेको आउजाउमा पछिल्लो समय केही सहजता थपिँदै गए पनि पर्यटन व्यवसायीले तेश्रो मुलुकका पर्यटकको आगमनको संकेत भने अझै सोचेअनुरूप पाएका छैनन्। यो सिजनमा तेश्रो मुलुकका विदेशी पाहुना आउने प्रतिक्षामा रहेका व्यवसायीले फेरि पनि आन्तरिक पाहुनामै निर्भर रहनुपर्ने संकेत देखेका छन्।

सीमित होटलले अग्रिम बुकिङ राम्रो भएको बताइरहँदा ठूला होटलले भने तेश्रो मुलुकका विदेशीको अग्रिम बुकिङ सोचेजस्तो अब्बल हुन नसकेको बताएका छन्। पर्यटन व्यवसायी भन्छन्, ‘कोरोना संक्रमण कमजोर हुँदै गर्दा यो पटकको सिजनका लागि ‘ग्रिन सिग्नल’ देखिएको भए पनि सोचे अनुरूप हुन सकेन। हामीले सिजनबाट ठूलै प्रगतिको अपेक्षा गरेका थियौं तर सोचेजस्तो हुने देखिएको छैन।’

व्यवसायीका अनुसार सेप्टेम्बरदेखि पर्यटनको मुख्य सिजन सुरू हुन्छ। अझ सेप्टेम्बर मध्यदेखि त झन् पर्यटनको मुख्य सिजन सुरू हुने व्यवसायीले बताउँदै आएका छन्। यो सिजन मार्चसम्म चल्छ। बीचमा डिसेम्बरमा सिजन केही कमजोर हुने भए पनि कोरोनाअघिको समयमा पर्यटन क्षेत्रमा मार्चसम्मै पाहुना पर्याप्त हुने गरेका थिए तर अहिले भने मुख्य सिजनले पनि सोचेजस्तो पाहुनाको आकार नभेट्ने संकेत व्यवसायीले देखिसकेका छन्। उत्साहजनक सिजनको पर्खाइमा रहेका व्यवसायी विदेशी पाहुनाको चहलपहल नदेख्दा दोधारमा छन्।  

पोखरा ग्राण्डका मार्केटिङ म्यानेजर कमल शेरचन भन्छन्– ‘यो सिजनप्रति पर्यटन क्षेत्रको ठूलो अपेक्षा थियो तर त्यस्तो संकेत देखिएको छैन। जुनरूपमा अग्रिम बुकिङको आउनेमा हामी आशावादी थियौ, त्यो हुन सकेन।’ अहिले आन्तरिक र भारतीय पाहुनासहित गोष्ठी, सेमिनारका कारण ठूला होटलको अकुपेन्सी दर केही बढी देखिए पनि तेश्रो मुलुकका विदेशी पाहुनाको आगमन भने निकै नै कम रहेको उनले बताए। ‘अहिले पनि पहिलेजस्तो सेतो अनुहार आउने संकेत देखिएको छैन’, पाँचतारे होटल, पोखरा ग्राण्डका म्यानेजर शेरचनले भने– ‘अहिले आन्तरिक र भारतीय पाहुनाको भरमा होटल चलायमान त भएको छ तर तेश्रो मुलुकका विदेशीको आगमन भने छैन। पाहुनाको सोधपुछ राम्रो हुँदा हामी आशावादी थियौं तर त्यस्तो हुन सकेन।’

पोखराका ठूला होटलले चिनियाँ पाहुनाबाट ठूलो राहत खेप्दै आएका थिए तर पछिल्लो समय चिनियाँको आगमन छैन। अरू मुलुकका विदेशी पाहुना पनि सोचेअनुरूप नआउँदा पर्यटन क्षेत्रले सिजनबाट उत्साही हुन नसकेको उनले बताए। ‘एडभान्स बुकिङ छैन। ट्राभल एजेन्सीबाट बुकिङ नै आएन। आन्तरिक र भारतीय पाहुनाको भरमा अहिले ५० प्रतिशत अकुपेन्सी भए पनि यो नै पर्याप्त होइन,’ शेरचनले भने– ‘यो सिजनका लागि पाहुनाको सोधपुछ निकै नै राम्रो थियो तर पाहुना सोधपुछमा मात्र सीमित रहे।’

अझ चिनियाँ पाहुना नआएपछि त होटललाई सहज हुनै नसक्ने उनले बताए। ‘आन्तरिकको भरमा चलेका छौ। अबका केही महिना चाडबाडका कारण आन्तरिक पाहुना आउनेछन्। आन्तरिकको त्यही आगमनमा भारतीय पाहुना पनि थपिँदा व्यवसाय चलायमान हुन्छन्, तर सोचेजस्तो व्यवसाय हुन सक्दैन,’ उनले भने– ‘अबको केही समय पनि आन्तरिकको भरमा मात्र टिक्नुपर्नेछ। तेश्रो मुलुकका विदेशी अपेक्षाकृत आउने संकेत छैन।’ कोरोना संक्रमण अघिको अभ्यासमा अक्टोबरका लागि सेप्टेम्बरसम्मै फुल बुकिङ आउनेपर्नेमा यो पटक त्यो हुन नसकेको उनले बताए।  

रूपाकोट रिसोर्टका म्यानेजर गुप्त गिरी पनि सिजनले उत्साही बनाउन नसकेको बताउँछन्। समयको हिसाबले पर्यटकीय सिजन लागे पनि त्यो अनुरूप पाहुनाको आगमन र चाँसो नदेखिएको उनले बताए। ‘सिजन लागेको हो तर खासै चहलपहल छैन। युरोपियन इकोनोमीले गर्दा असर पारेको हुन सक्छ। सोचे अनुसार पाहुनाको आगमन छैन’, उनले भने– ‘बरू कोभिडको डरका बीच पनि मान्छे हुत्तिएर आएका थिए। अहिले छेकबार त छैन तर आर्थिक रूपमा पाहुना नै कमजोर बने। जसले पाहुनालाई घुमघामबाट रोकेको छ।’

विश्वव्यापी रूपमा महंगी बढ्नु, आर्थिक गतिविधि चलायमान नहुनु, विभिन्न मुलुकबीच द्वन्द्व हुनुले पर्यटनमा असर पारेको उनको अनुमान छ। ‘अन्तर्राष्ट्रिय बजारमै महँगी बढेको छ। कोरोनाले थलिएको अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन।  

त्यसको प्रभाव पर्यटनमा पनि पर्ने नै भयो’– उनले भने। उनका अनुसार अहिले पनि सिजन अनुसारको अकुपेन्सी हुन सकेको छैन। अग्रिम बुकिङ नै निकै कमजोर रहेको उनले सुनाए। ‘सोधपुछ निकै नै राम्रो थियो तर पाहुना आउने संकेत छैन। किनकी अहिलेसम्म बुकिङले उत्साही बनाउन सकेको छैन,’ गिरीले भने, ‘ट्राभल एजेन्सीको बुकिङ पनि उत्ति आशावादी देखाएन। बजार अझै आशावादी देखिन सकेको छैन।’

ल्याण्डमार्क होटलका मार्केटिङ म्यानेजर पुष्पराज चालिसेले पनि सोचेजस्तो सिजन नदेखिएको बताउँछन्। ‘सेतो छाला आगमन छ तर आक्कल झुक्कल मात्र छ, पर्याप्त हुन सकेन’, चालिसेले भने– ‘अहिले भारतीय र आन्तरिकको भरमा पर्यटन क्षेत्र थेगिएको छ। भारतीय पाहुना समूहमा आउँदा व्यवसायमा राहत मिलेको भए पनि तेश्रो मुलुकका पाहुनाको आगमन भने उत्तिसारो हुन सकेन।’ उनका अनुसार जापानी, कोरियन लगायतका मुलुकका पाहुना त आउनै छाडेका छन्। चिनियाँ पाहुना झन् निस्केका छैनन्। ‘तेश्रो मुलुकका विदेशीको आगमन अझै पनि सोचे अनुरूप हुन सकेको छैन’, उनले भने– ‘अर्काे महिनासम्म केही बढ्नेमा आशावादी छौ।’  

व्यवसायीका अनुसार आगामी महिनाका लागि तेश्रो मुलुकका पाहुनाको अग्रिम बुकिङ अनुपात अझै कमजोर छ। त्यो बुकिङले केही आकार बढाउनेमा व्यवसायी आशावादी भए पनि पर्याप्त पाहुना आउनेमा भने उनीहरूको आशंका छ। अहिलेसम्मको अवस्थामा आगामी महिनाको अग्रिम बुकिङले व्यवसायीलाई उत्साही नबनाउने उनीहरू बताउँछन्।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘सिजनको बुकिङ र पाहुनाको चहलपहल हेर्दा राम्रो संकेत छैन। युरोपियन पाहुना आर्थिक मन्दी, द्वन्द्व, उर्जा संकटका कारण प्रभावित भएका छन्। ती मुलुकका पर्यटक आउने अवस्था छैन। उनले सेप्टेम्बर मध्यको बुकिङ कमजोर रहेको बताए।

‘अक्टोवर नोभेम्बरमा पनि हामीले आशा गरे अनुसार पाहुना आउने अवस्था देखिन्न। किनकी अहिलेसम्मको बुकिङले आकार कमजोर छ,’ पराजुलीले भने– ‘भारतीय र आन्तरिक पाहुनाको भरमा आगामी केही दिन चहलपहल बढे पनि व्यवसायीले कमाउने तेश्रो मुलुकका पाहुनाबाट हो। अहिले तेश्रो मुलुकका पाहुना आउने देखिएन।’

प्रकाशित: ९ आश्विन २०७९ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App