६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बजार अभावले कौडीको भाउमा जुम्लाको स्याउ

बजार अभावले जुम्लाको स्याउ कौडीको भाउमा बिक्रि हुन थालेको छ। बगैंचामा लटरम्म स्याउ फले पनि प्रतिकेजी ४० देखि ५० रुपैयाँ भन्दा कम दरमा स्याउ बेच्न बाध्य छन जुम्लाका किसान।

अहिले कालिकोट, दैलेख,सुर्खेत,नेपालगञ्ज,कोहलपुर,पोखरा,काठमाडौं लगाएतका बजारमा जुम्ली स्याउ पुगेको छ। तर जुम्लामा स्याउले मूल्य पाउन नसकेको किसानको गुनासो छ।  

स्याउ किसान रतन रावतले भने,‘स्याउको बजार खोज्दैछौं। कृषि विकास कार्यालय जुम्लाले भदौ १५ देखि मात्र स्याउ टिप्न भनेको थियो। किसानले साउन महिनामै काँचो स्याउ बजारमा लगेपछि जुम्ली स्याउको स्तर र बजार खस्केको हो।’

 जुम्ला भरि स्याउ टन्न फलेको छ। तर स्याउ लैजान उचित बजारको व्यवस्था नहुँदा कम मूल्यमै बेच्न किसान बाध्य छन्। जुम्लामा १६ हजार स्याउ बगैंचा छन्। एउटामा न्यूनतम २५ देखि ५ हजार बिरुवा छन्। तीज तथा दशैं जस्ता पर्वको रौनक र जुम्ली स्याउ परिपक्व हुने समय संयोग जुर्ने गर्छ जसले जुम्ली स्याउ लोकप्रिय हुदै गाएको पाइन्छ।  

जुम्लामा २ सय ९ नर्सरी छन्। खाद्य तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय जुम्लाका प्रमुख डा.इश्वर सुवेदी स्याउको उत्पादनपछि हुने प्रशोधन र बजारीकरणमा निकै ठूलो समस्या देखिने गरेको बताउँछन्।  

स्याउ खेतिमा लगानी पनि बढिरहेको छ। जुम्लामा सोमबारदेखि तेस्रो स्याउ महोत्सव चलिरहेको छ। स्याउ नै समृद्धिको आधार मान्दै महोत्सव सुरु भए पनि स्याउले उचित बजारीकरण र प्रशोधनको लागि व्यवस्थापकीय पाटो छैन। स्याउको बजार सुनिश्चितता नभएसम्म जुम्ली स्याउले मूल्य नपाउने किसानको भनाइ छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुुसार कुल ४ हजार २ सय हेक्टरमा स्याउ खेती भइरहेको छ। यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ। स्याउबाट चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ आम्दानी हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

जुम्ली स्याउको चर्चा धेरै भएपनि बजार निकै कम छ। जसका कारण किसानले स्याउको राम्रो मूल्य पाइरहेका छैनन्। बिचौलियाले बजारमा लैजाँदा स्याउको पहिचान खस्कने संभावना बढ्दो रहेको स्थानीयले बताएका छन्।

जुम्लामा ४० देखि ५० रुपैयाँमा खरिद भएको स्याउ नेपालगन्जमा प्रतिकिलो १ सय ५० रुपैयाँ भन्दा बढिमा व्यपारिले बिक्रि गर्नेगरेका छन्। जुम्लाको स्याउले उचित मूल्य नपाउदा किसानहरु निरास बनेका छन्।  

प्रकाशित: ३० भाद्र २०७९ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App