८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

पालुङटार एयरपोर्टको काम अलपत्र, सडक बन्यो बाधक

गोरखाको पालुङटार एयरपोर्ट।

गोरखाको पालुङटार एयरपोर्ट सञ्चालनमा सडक बाधक बनेको छ। एयरपोर्टको जग्गा अतिक्रमण गरेर सडक निर्माण भएपछि एयरपोर्टलाई जग्गा अपुग भएको हो। गत वर्षदेखि सञ्चालन गर्ने गरी एयरपोर्टमा संरचना निर्माण, मर्मत, सुधार र आवश्यक पूर्वाधारण बनाउने गरी ठेक्का भएको थियो। समयमै काम पूरा नहुँदा एयरपोर्ट सञ्चालनको मिति धकेलिएको छ।

२०१८ सालदेखि उडान सुरु भएको पालुङटार एयरपोर्ट लामो समयदेखि बन्द छ। बन्द रहेको एयरपोर्ट पुन सञ्चालन गर्न नागरिक उड्यन प्राधिकरणले काम थालेको थियो। २०७७ असार ३१ गते प्राधिकरणले काष्टमाण्डप कन्ट्रक्सन प्रालिसँग तीन करोड १७ लाख ५० हजारमा एयरपोर्टमा काम सुरु गर्ने गरी ठेक्का सम्झौता गर्‍यो।

‘अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ’ प्राधिकरणका उपप्रवन्धक ज्ञानेन्द्र बुलले भने ‘असारमा म्याद सकिएको थियो अहिले आगामी पुससम्म थप भएको छ।’ रन वे निर्माण, ग्रेडिङ, तारबार लगायतको काम गर्ने गरी ठेक्का सम्झौता भएको उनले बताए। रनवेमा कालोपत्रे सडक बनेकाले समस्या भएको छ।

‘एयरपोर्टको रनवेभित्र नियमित प्रयोग हुने कालोपत्रे सडकका कारण काम ढिलो भएको हो’ उपप्रवन्धक बुलले भने। एयरपोर्टभित्र सडक कायम गर्दा जग्गा अपुग हुने, सुरक्षा संवेदनशिलता बढी हुने हुँदा सम्भव नरहेको उनले बताए। ‘वडा र नगरपालिकाले सडक जसरी पनि चाहिन्छ भनेर पत्राचार गर्नुभएको छ’ उपप्रवन्धक बुलले भने ‘नागरिक उड्डयन प्राधिकरणको जग्गा बाटोका लागि उपलब्ध गराउन मन्त्रिपरिषद्को निणर्य चाहिने भएकाले पर्यटन मन्त्रालयमा पठाएका छौँ।’

पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने र निर्णय भएको खण्डमा मात्र एयरपोर्टभित्रको सडक कायम रहन सक्ने उनले बताए। ‘तर एयरपोर्ट चलाउन हो भने सडक हटाउनुपर्छ’ एयरपोर्ट पनि सडक पनि सम्भव छैन’ सूचना अधिकारी समेत रहेका उपप्रवन्धक बुलले भने। नागरिक उड्यन प्राधिकरणले भने अहिले भएको सडक स्थानान्तरण गर्दा सहज हुने बताएको छ।

सडक बाहेक पनि प्राधिकरणको नाममा रहेको जग्गा अतिक्रमण भएको छ। लामो समयदेखि भोगचलन गर्दै आएका भन्दै केही व्यक्तिले प्राधिकरणको नाममा देखिएको जग्गा छाड्न आलटाल गरेका छन्। ‘सडकको बारेमा निर्णय नहुँदासम्म एरपोर्टको काम दु्रत गतीमा अघि बढ्न नसक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले टुइनटर विमान सञ्चालन गर्न मिल्ने गरी एयरपोर्ट सञ्चालनको तयारी गरेको थियो। पालुङटार नगरपालिकाका नगरप्रमुख बिबस चिन्तनले जग्गा सम्बन्धीको विवाद नगरपालिकाले सुल्झाउन सक्ने खालको रहेको बताए। ‘लामो समयदेखि चर्चेको जग्गा एक जनाको प्राधिकरणको पुर्जाभित्र देखाएको छ’ उनले भने ‘मुआब्जाबाट यो समस्या हल गर्न सकिन्छ।’

राज्यले लामो समयदेखि निरन्तर बजेट विनियोजन नगर्दा एयरपोर्ट प्रयोगमा आउन नसकेको बताउँदै उनले भने ‘नियमित प्रयोग भएको भए अतिक्रमण, सडक निर्माण हुने थिएन, वैकल्पिक व्यवस्था हुन सक्थ्यो।’ आफ्नो पाँच वर्षे कार्यकालमा एयरपोर्ट सञ्चालनमा ल्याउने गरी पहल गरिरहेको उनले बताए। तर सडकको विकल्पका बारेमा भने नगरपालिकाले सोचेको छैन।

तनहुँ हुँदै प्रवेश गर्ने मुख्य सडक भएकाले यथावत राखेर एरपोर्ट चलाउनुपर्नेमा उनले जोड दिए। ‘प्लेन आएको बेला सडक बन्द गर्ने र अन्य समयमा खोल्ने गरी ट्राफिक लाइटको व्यवस्था गर्न सकिन्छ’ उनले भने। पालुङटार एयरपोर्ट सञ्चालनमा आएपछि गोरखा, तनहुँ, लमजुङ, मनाङका स्थानीयलाई सजिलो हुने उनले बताए।

‘पर्यटकका लागि र यस क्षेत्रको सुविधाका लागि एयरपोर्ट आवश्यक छ’ उनले भने। एयरपोर्ट सुरक्षाको दृष्टिले नियमित प्रयोग हुने सडक रनवेभित्र हुँदा एयरलाइन्सहरुले सुरक्षित मान्दैनन्। ‘एयरपोर्ट मात्रै बनेर भएन, त्यहाँ सेवा दिनेहरुले सुरक्षित महशुस गर्नुपर्‍यो’ नागरिक उड्यन प्राधिकरणका उपप्रवन्धक ज्ञानेन्द्र बुलले भने ‘सेवा दिनेहरुलाई सेक्यूरिटी थ्रेट महशुस गर्नु भएन।’

डेढ किलोमिटर लम्बाइ र पाँच सय मिटर चौडा रहेको एयरपोर्ट गोरखामा सहज यातायात सुविधा भएसँगै बन्द भएको थियो। पालुङटार एयरपोर्टको तीन सय १० रोपनी तीन आना दुई पैसा एक दाम जग्गा नापी कार्यालय गोरखाको फिल्डबुक अभिलेखमा देखिन्छ।

प्रकाशित: ४ भाद्र २०७९ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App