१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई क्यूआर कोड हस्तान्तरण गरिँदै।

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ।

सोमबार गलेश्वर मन्दिरमा आयोजित एक कार्यक्रममा संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधिमार्फत् व्यवस्थापन गर्ने गरी बेनी नगरपालिकाका मेयर सुरत केसी र बैंकका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कोइरालाले कोषका अध्यक्ष माधवप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका थिए।

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत् भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन्। बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तीय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए।

‘डिजिटल पूर्वाधार तथा प्रविधिको विकासमा हामीले सक्ने सहयोग गछौं,‘ अब बैंकले शैक्षिक जनशक्तीलाई उत्पादनमा जोड्ने गरी लगानीलाई बढाउनुपर्छ’ मेयर केसीले भने। उनले बेरोजगार यूवाहरुलाई नगरपालिकाको सिफारिसमा कर्जा प्रवाहको वातावरण बनाउन समेत अनुरोध गरे।

त्यस्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, नेपाल राष्ट्र बैंकका पोखरा प्रमुख डा. रामशरण खरेलले आर्थिक अनियमितता हटाउन र नोट छपाइमा हुने खर्च समेत घट्ने भएकाले डिजिटल प्रविधिको प्रयोग गर्न अनुरोध गरे।

बैंकका सिइओ कोइरालले नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यले धार्मिकस्थललाई समेत प्राथमिकता दिइएको बताए। ‘अब वित्तीय सेवालाई पेपरलेस र फेसलेस बनाउने अभियानमा छौं, ‘सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी वित्तीय सेवामा संलग्न हुनुपर्ने अवस्था आएको छ’ कोइरालाले भने।

आम नागरिकलाई कम समय र कम लागतमा बिना झन्झट र बिना हैरानी सहज, सरल र सुलभ रुपमा प्रयोग गर्न मिल्ने भएकाले म्याग्दीको गलेश्वर मन्दिर बाहेक प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्ड, महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा समेत राखिएको बैंकका नायब डिजिटल बैंकिङ अधिकृत विनय रेग्मीले बताए।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत क्यूआर कोडको प्रयोग गरी टिकट लिने सुविधा मिलाइएको छ। कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योती लामिछाने, बैंकका क्षेत्रीय व्यवसायी अधिकृत अजय आचार्य, प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी, बैंकका कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

क्यूआर कोडको प्रयोग गरी विश्वको कुनै पनि स्थानबाट भक्तजनले संकल्प गरेको दान गर्न सकिने बैंकका बेनी शाखा प्रमुख यादव आचार्यले बताए। बैंकले म्याग्दीमा डिजिटल प्रविधिको प्रयोगसँगै शाखारहित बैंकिङ सेवालाई समेत धमाधम विस्तार गरिरहेको छ। म्याग्दीमा भिडभाड हुने स्थानमा क्यूआर कोडको प्रयोग गर्ने माछापुच्छ्रे बैंक पहिलो भएको छ। धार्मिकस्थलमा भक्तजनले क्यूआर कोडको प्रयोग गरी दान गर्ने गरेकाले जिल्लाका थप अन्य स्थानहरुमा समेत प्रयोगमा ल्याइने जनाइएको छ।

प्रकाशित: २३ श्रावण २०७९ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App