९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

दोधारकाबीच पर्यटनमा नरोकिएको लगानी

नयाँ लगानी छैन, पुरानाले भने आँट गरेः व्यवसायी

पोखरा फेवाताल नजिकैको सेदीमा बनिरहेको दोर्जेज प्लेस। तस्बिरः सन्तोष /नागरिक

फेवाताल नजिकैको सेदीमा ‘दोर्जेज प्लेस’ बनाउन सुरु गर्दा कोरोना भाइरस संक्रमणको छनक कतै थिएन। अवस्था सामान्य देखेपछि लगानीकर्ता दोर्जे लामाले पूर्वाधार बनाउन सुर कसेका थिए। तर, काम सुरु भएको केही महिनामै कोरोना संक्रमणले गति लिँदै गयो। कोरोनाले यत्तिसम्म अप्ठेरोमा पार्‍यो की लामाले भर्खर निर्माण थालेको ‘दोर्जेज प्लेस रिसोर्ट’को नौ महिनासम्म कामै रोकियो।  

कोरोनाले सबैतिर हायलकायल पार्दा लामा के र कसो गर्ने भनेर नआत्तिएका पनि होईनन्। भर्खरै निर्माण सुरु भएको रिसोर्टमा लगानी गर्ने की बीचमै रोक्ने भन्ने दोधार लामाको मनमा नउब्जेको पनि होईन, तर, लामाले आँट गरिरहे। कोरोनाकै कारण पर्यटन क्षेत्र शुन्यमा झरेको देख्दादेख्दै पनि लामाले लगानी बढाईरहे। नौमहिनासम्म रोकिएको काम खुलेपछि लगानीलाई निरन्तरता दिइरहे। त्यसका बाबजुत लामाले बनाएको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ। आगामि पर्यटकीय सिजनमा संचालनमा ल्याउने लामाको लक्ष्य छ।  

लामाले ३१ रोपनी क्षेत्रफलमा अहिले रिसोर्ट बनाईरहेका छन्। करोडौं रुपैयाँ उनले त्यसमा लगानी गरेका छन्। ‘भन्छन, ‘कोरोनाले मलाई दोधार बनाएकै हो। भर्खर सुरु भएको काम रोकौ की अघि बढाउँ भन्ने दोधार निम्त्याएकै हो। तर, मन दरिलो बनाएर आँट गरे, अहिले त्रास पनि कम भयो र संरचना पनि झन्डै अन्तिम चरणमा पुर्‍याउन सकियो।’ दोर्जेको यो रिसोर्टमा तत्कालका लागि २२ कोठा छन्। तर, ती कोठाको आकार अन्यत्रको भन्दा फरक छ। जहाँबाट फेवातालको दृष्य छर्लङगै देखिन्छ।  

‘कोरोनाले लगानीलाई रोकौं की के गरौं भन्ने दोधार बनाउँदा बनाउँदै पनि आँट गरेको थिए। त्यही कारणले अहिले संरचना तयार भयो, अब केही अप्ठेरो नहुने हो भने पाहुना अवश्य आउनेछन,’ उनले भने, ‘अहिले नै रिसोर्टका लागि बुकिङ आउन थालेको छ। आगामि पर्यटकीय सिजनका लागि बुकिङ आउँदा उत्साही बनाएको छ।’ दोधारै दोधारमा लगानी गरेको भएपनि अहिले महंगो रकम खर्चने पाहुनाले बुकिङ गरिसक्दा आफु उत्साही भएको उनले सुनाए।  

‘पाहुनाले निकै नै रुचाएका छन्। अबको सिजनदेखि संचालनमा आउँछ। महंगा पाहुना लक्षित गरेर संरचना बनाएको छु,’ उनले भने, ‘पर्यटनमा आगामि दिन अझै उज्जवल रहेको मेरो बुझाई छ’ अन्यौलै अन्योलका बीचको लगानीले अहिले आफुमा उत्साह थपेको उनले बताए। ‘एउटा सुविधासम्पन्न रिसोर्ट करिब तयार भएको छ। आगामि अक्टोवरसम्म कुनै हालतमा संचालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘पाहुना आउन तयार भइसके, बरु हामीले काम सकेका छैनौ। बेलैमा काम सक्न हामीलाई दवाव छ।’  

लेकसाइडमै पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले ‘पोम्स पेन्टहाउस’ ठड्याए। श्रेष्ठको यो अपार्टमेन्ट हो। जहाँ विभिन्न आकारका १६ वटा अपार्टमेन्ट छन। करिब १० करोड रुपैयाँ लगानी भएको यो अपार्टमेन्ट पनि कोरोना संक्रमण फैलिनुअघि निर्माण थालिएको थियो। बल्ल अहिले अन्तिम चरणमा पुगेको छ। ‘निकै नै ‘एक्साइटेड’ भएर लगानी थालेको थिए। किनकी त्यो बेला कोरोनाको डर थिएन, अनि लगानीमा पनि आँट पलाएको थियो,’ श्रेष्ठले भने, ‘तर, बीचमा कोरोनाले दोधार बनाइदियो। के र कसो गरौं भन्ने पार्‍यो। गरिरहेको लगानी रोक्ने की के गर्ने भन्ने प्रश्न मनमा उब्जियो। तरपनि पर्यटनमै सम्भावना देखेर निरन्तरता दिएको हुँ। बीचमा अन्योल पनि बनाएकै हो।’

अहिले कोरोना संक्रमण केही कम भएको छ। तर, अझै त्रास निमिट्यान्न भएको छैन। तर, हिडडुल सहज हुँदा भारतीय पाहुना पर्याप्त भित्रिएकोले पनि लगानीलाई निरन्तरता दिन आफुलाई हौसला मिलेको उनले सुनाए। ‘बीचमा त दोधारै बनायो, लगानी के हुने हो भने चिन्ता थियो। मनै शिथिल बन्यो,’ उनले भने, ‘लगानीमा त्रास उब्जेपनि काम गर्न भने सहज भयो। बीचमा सहज हुनासाथ भारतीय पाहुना आएकोले लगानी रोक्ने आँट पलाएन।’ पछिल्लो समय पर्यटकीय माहोल बन्दै जाँदा पर्यटनमा आशावादी भएको पनि उनले बताए।  

लामा र श्रेष्ठले जस्तै पोखराको पर्यटन क्षेत्रमा अहिले पनि ठुलो आकारको लगानी भईरहेको छ। कोरोनाले त्रसित भएको अवस्थामा पूर्वाधारमा भने लगानी गरिरहेको व्यवसायी बताउँछन्। ‘दोधारकै बीच लगानी भएको हो। बरु नयाँ लगानी उत्तिसारो आउन सकेको छैन, पुरानै लगानीले भने पूर्ण आकार लिँदैछ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘अहिले लगानी भईरहेका अधिकांश संरचना कोरोना अधिकै हुन्। कोरोनाकालमै थपिएका संरचना निकै कमै छन। तर पुराना संरचनाले भने निरन्तरता र पूर्णता पाउँदैछन्। कोरोना अघि सुरु भएका तर, बीचमा नरोकिएका पूर्वाधारले अहिले पूर्णता पाउँदैछन।’

व्यवसायीका अनुसार कोरोना संक्रमणले पर्यटन क्षेत्रको लगानीलाई बीचमा एकपटक त्रास पनि देखाइदियो। जसले गर्दा लगानी गर्न व्यवसायी हच्किन पनि पुगे। तर, कतिपयले भने कोरोना अघिको योजना अनुसार लगानी बढाउँदै लगेर लक्ष्य पुराना गरि छाडेको उनीहरु बताउँछन्। 

‘पर्यटन व्यवसाय मारमा नपरेको होइन, तर, लगानीले निरन्तरता पाएकै हो,’ होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘डराएर मात्र बसेर हुँदैन भन्ने व्यवसायीले बुझेकैले यो अवस्था आएको हो।’ कोरोना अघिको लगानीलाई निरन्तरता दिन आँट पलाउनु नै उपलब्धीमुलक रहेको उनले बताए। ‘दोधारैदोधारका बीच पुरानो लगनाीलाई निरन्तरता दिए। आँट नगरेको भए बीचमै रोक्न पनि सक्थे, तर, जसले सुरु गरे, उनीहरुले निरन्तरता दिए, बरु नयाँ आउन भने डराए,’ सुवेदीले भने।  

अध्यक्ष सुवेदीका अनुसार अहिले पनि ८–१० वटा होटल लगानीकै निरन्तरतामा छन्। ती मध्ये अधिकांश कोरोना संक्रमण अघि थालनी भएका थिए। बीचमा काम रोकिँदा पूर्वाधार बनाउन पाएका थिएनन। ‘नयाँ लगानीकर्ता एकैपटक आउन अलि डराएका हुन्। तर पुराना व्यवसायीले भने लगानीलाई निरन्तरता दिए,’ उनले भने, ‘बीचमा अन्योलमा त परे, तरपनि उनीहरु डराएनन।’  

कोरोनाले सबैतिर हायलकायल पार्दा बीचमा व्यवसायी पलायनको अवस्थामा आउँदा पनि लगानीलाई भने निरन्तरता दिएको उनले बताए। ‘नयाँ लगानीकर्ता केही हच्केका हुन्। दोधारका बीच पुरानाले निरन्तरता दिएका हुन,’ उनले भने, ‘आगामि दिनको लगानी भने पर्ख र हेरको अवस्थामा छ । किनकी कोरोनाले पर्यटनलाई कता लैजान्छ भन्न सकिन्न।’

प्रकाशित: १२ श्रावण २०७९ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App