१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सावजनिक गरेको हो। 

कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए। उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि बताए। सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताए। उनले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताए। 

सहसचिव लुइँटेलले कार्ययोजना प्रश्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए। त्यस्तै काठमाडौं उपत्यका लगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ।  

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्ने दाबी गरे। मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताए। उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रुपमा मनाएर पर्यटन प्रवद्र्धन पर्यटन क्षेत्रको विकास गर्ने गरीएको भएपनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए। 

मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशकै रुपमा मनाउँदा पर्यटन प्रवद्र्धन र विकासको अभियान नै भएको बताए। उनले पर्यटन प्रवद्र्धन र विकासको अभियान निरन्तर रुपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गरे। मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको बताए। उनले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताए।  

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ। त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ। त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ। 

काठमाडौं उपत्यकाभित्र रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ। किलिन नेपाल,ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश,स्थानीय सरकार ,नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ,रोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ।

प्रकाशित: ८ श्रावण २०७९ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App