१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तरकारी खेतीमार्फत व्यावसायिक बन्दै किसान

इलामको सूर्याेदय नगरपालिका–१२ मा बिक्रीका लागि झापा लैजान लागिएको काँक्रा देखाउँदै रमेश गड्तौला। तस्बिर: भीम/नागरिक

जिल्लाको पूर्वी क्षेत्रका किसान व्यावसायिक तरकारी खेतीमा निर्भर छन्। तरकारी बेच्न कहिलेकाहीं समस्या भए पनि प्रायः यहाँ उत्पादित तरकारी उच्च मूल्यमै बिक्री हुने गरेको छ।  

जिल्लाको सूर्याेदय नगरपालिका ११ र १२ तथा रोङ गाउँपालिकाका किसान व्यावसायिक तरकारी खेतीमा जमेका छन्। उत्पादित तरकारी मेची राजमार्गको छेउमा निकालेर आउ–जाउ गर्ने यात्रुलाई बेच्दा मात्रै पनि यहाँका किसानले लाखौं रूपैयाँ आम्दानी गरिरहेका छन्। इस्कुस, काँक्रा, मुला, आलु, अकबरे, गोलभेंडा, बिहींलगायतका उत्पादन बेचेर यहाँका किसान बर्सेनि आकर्षक आम्दानी गरिरहेका छन्।  

किसानले उत्पादित तरकारी बिक्रीका लागि टाढा गइरहनुपरेको छैन। ‘गुणस्तरीय उत्पादन छ भने किसानले तरकारी बेच्न टाढाका बजार जानुपर्दैन,’ सूर्याेदय नगरपालिका–१२ का किसान रमेश गड्तौला भन्छन्, ‘घर–घरबाटै तरकारी बिक्री हुन्छ।’ रमेश आफू पनि तरकारी व्यापार गर्छन्। उनले यहाँ उत्पादित तरकारी तराईका बजारमा लैजान्छन्। ‘अहिले काँक्रा, सिम रायो, इस्कुस, बिहींलगायतका तरकारी बिक्री भइरहेको छ,’ उनले भने, ‘काँक्राको भाउ चाहिँ अलि घटेको छ।’

उनका अनुसार अहिले किसानले कम्तीमा २० रूपैयाँ प्रतिगोटा काँक्रा बेचिरहेका छन्। वैशाखदेखि नै यहाँका किसानले काँक्रा उत्पादन गर्न थाल्छन्। ‘सुरुमा उत्पादित काँक्रा त प्रतिगोटा सय रूपैयाँसम्ममा पनि जान्छ,’ उनले भने, ‘उत्पादन धेरै भएपछि मूल्य घट्दै जान्छ।’

यो वडाको मलिम गाउँका सबैजसो युवा तरकारी खेतीमै निर्भर छन्। वैदेशिक रोजगारीमा जाने युवाको संख्या पनि यो गाउँमा छिटफुट मात्रै छ। तरकारीबाहेक चिया खेती, पशुपालन र अन्न खेती यहाँका किसानको आम्दानीको स्रोत हो तर तरकारीकै आम्दानीले आर्थिक अवस्था सुध्रिएपछि अन्नखेती चाहिँ क्रमशः घट्दै गएको छ।  

आफ्नै बलबुतामा थालेको तरकारी खेतीबाट बर्सेनि लाखौं रूपैयाँ आम्दानी गर्ने किसान धेरै छन्। खेतीमा मेहनत गरेको देखेर सरकारी तथा गैरसरकारी निकायले पनि उनीहरूलाई सघाएका छन्। किसानको एउटै भनाइ छ, ‘किसान इमान्दार र मेहनती हुनुपर्छ, खेतीका लागि आर्थिक लगानी आफैं जुट्छ।’

उनीहरूको भनाइ र अनुभव वास्तविक हो भन्ने उदाहरण हुन्– आठघरेका मदन राई। दुई दशकअघि थोरै जमिनमा बन्दा, टमाटरलगायतका तरकारी लगाएका मदन राई अहिले गाउँको मात्र होइन, जिल्लाकै उदाहरणीय किसान बनेका छन्। हावापानी र मलजल पुगेपछि पहिलो चोटी नै उनलाई यसबाट राम्रो आम्दानी भयो। उनले अन्य बाली मासेर तरकारी मात्र खेती गर्ने निधो गरे। सुरुमा जमिन भाडामा लिएरसमेत तरकारी लगाए।  

अहिले उनी तरकारी खेतीमा जिल्लामा कहलिएका मात्रै छैनन्, धेरैपटक ‘उत्कृष्ट तरकारी किसान’का रूपमा पुरस्कृतसमेत भइसकेका छन्। उनी तरकारी खेती गर्न सिकाउने किसान पनि हुन्।  

यही गाउँका दीपेश राई, विनोद गड्तौला, मानबहादुर राई, बीर्ख राई, मित्र राईलगायतले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन्। किसानले बन्दा, काउली, गोलभेंडा, अकबरेलगायत बाली लगाएका छन्। स्नातकोत्तर तहको शिक्षा हासिल गरेका युवासमेत जागिर र व्यापारलगायतमा भन्दा गाउँकै तरकारी खेतीमा आकर्षित छन्। स्नातकोत्तर उत्तीर्ण गरेका स्थानीय मित्र राई र केही समय झापामा फोटो स्टुडियो खोलेर बसेका दीपेश राई पनि गाउँ फर्किएर तरकारी खेतीमा लागे। वैदेशिक रोजगारीमा पुगेर फर्केका राम राईलाई पनि गाउँकै तरकारी खेतीले पुनः विदेश जान दिएन।  

पशुपालनमा पनि यहाँका किसान उदाहरणीय छन्। जिल्लामा गाईको उन्नत जात खोज्नुपरे टाढा–टाढाका किसान यहीं आइपुग्छन्। यहाँ गाईको एउटै बाच्छी (कोरली) डेढ लाख रूपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय पुष्प अधिकारीले बताए। ‘राम्रो जातका गाई यो गाउँमा पाइन्छन्,’ उनले भने, ‘मैले पनि दिनमा २० लिटरसम्म दूध दिने गाई पालेको हो, एउटै कोरलीलाई उच्च मूल्य पर्छ यहाँ।’  

बर्सेनि १२/१५ लाख रूपैयाँसम्मको तरकारी बेच्ने किसान जिल्लामै छन्। सूर्याेदय नगरपालिका–११ का किसानसमेत बर्सेनि लाखौं रूपैयाँको तरकारी बेच्छन्। सूर्याेदयमात्र होइन, इलाम र देउमाई नगरपालिकाका तथा माइजोगमाई र सन्दकपुर गाउँपालिकाका किसानले यो सिजनमा इस्कुसको मुन्टा, आलु, बेमौसमी काँक्रा, सिमी, मुला, धनियाँ, प्याज, लसुनलगायतका तरकारी उत्पादन गरेका छन्। उनीहरूमध्ये धेरैले घर–घरबाटै तरकारी बेचिरहेका छन्।  

यहाँका तरकारी झापाको चारआली, बिर्तामोडलगायतका बजार पुग्छ। सूर्याेदयकै पशुपतिनगर क्षेत्रमा उत्पादित तरकारी चाहिँ भारतीय बजारमा समेत बिक्री हुनेगरेको थियो। स्थानीय व्यापारीले किसानबाट संकलन गरेको तरकारी नजिकैका बजारमा पुर्‍याउने गरेका छन्।

जिल्लामा किसानले समूह गठन गरेर र व्यक्तिगत रूपमा पनि तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा तरकारी खेती गर्न साढे तीन सय र बेमौसमी तरकारी खेतीका लागि अढाई सय कृषक समूह गठन भएका छन्। आलु खेतीका लागि मात्र जिल्लामा २५ कृषक समूह गठन भएको केन्द्रले जनाएको छ।  

किसानले विशेषगरी बेमौसमी तरकारी उत्पादन गरिरहेका छन्। ‘तरकारी उत्पादन र बजारीकरणमा सरकारले सहयोग गर्ने हो भने जिल्लाका धेरै किसानले रोजगारीका लागि अरू काम गर्नुपर्दैन,’ किसान मदन राई भन्छन्, ‘किसानलाई सरकारले प्रोत्साहित गर्न आवश्यक छ।’

प्रकाशित: २६ असार २०७९ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App