४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाँकेमा पाँच प्रतिशत मात्र रोपाइँ

फाइल तस्बिर।

बाँके जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। वर्षात सुरु हुन ढिलो हुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको हो। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा असार मध्यसम्म पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ।

ढकालले गत वर्षको तुलनामा यो निकै कम भएको बताए। उनका अनुसार गत वर्ष यस अवधिमा जिल्लामा करिब ४० प्रतिशत रोपाइँ भइसकेको थियो। ढकालले गत वर्षको तुलनामा कम रोपाइँ भए पनि धान रोप्ने उपयुक्त समयका हिसाबले ढिलाइ नभएको बताए। ‘बाँकेमा विशेष गरी असार अन्त्यसम्ममा रोपाइँ हुने गरेको छ। त्यस हिसाबले उत्पादनमै असर पर्ने गरी रोपाइँमा ढिलाइ भएको छैन’-उनले भने।

बाँकेमा अधिकांश किसान अझै आकासे पानीको भरमा रोपाइँ गर्न बाध्य छन्। एकदमै कम किसानले मात्रै ट्युबवेलका भरमा रोपाइँ गर्ने गरेका छन्। यसैबीच धान दिवसको दिन परेको पर्याप्त वर्षाले बीउ छिप्पिने चिन्तामा रहेका किसानलाई भने राहत भएको छ। समयमै मनसुन सुरु भए पनि पर्याप्त पानी नपर्दा कतिपय किसानले राखेको बीउ छिप्पिने अवस्था आइपुगेको छ।

बुधबार रातिदेखि पर्याप्त वर्षा भएपछि किसान धमाधम रोपाइँतिर लागेका छन् तर मलको भने किसानहरूलाई सकस छ। यस वर्ष पनि धान रोप्ने समयमा किसानहरूले मल पाएका छैनन्। बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

प्रकाशित: २२ असार २०७९ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App