१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

हवाईजहाजबाट काठमाडौं उत्रिएका ७६ जना बंगलादेशी पर्यटकले दुई दिनका लागि पोखरामा होटल बुकिङ गरेका थिए। काठमाडौंबाट स्थलमार्ग हुँदै पोखरा आउँदै गर्दा अघिल्लो साता ती विदेशी पाहुना पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित पहिरोको मारमा फँसे। घन्टौं जाममा परेर पनि पोखरा पुगिने अवस्था नआएपछि ती पाहुना चितवनको सौराहातिर मोडिए। उनीहरूले चितवनमा दुई दिन बिताएर काठमाडौं हुँदै पुनः स्वदेश फर्किए।

बंगलादेशबाट आएका ती पाहुनाको पोखरा घुमघाम यो पटकका लागि अधुरै रह्यो। पोखरा यात्रा पूरा हुन नपाएको भन्दै बंगलादेशी ती पाहुनाले दुःखमनाउ गरे। पोखरामा उनीहरूले होटल ल्यान्डमार्क बुकिङ गरेका थिए। ल्यान्डर्माकका सञ्चालक ओमप्रकाश पाण्डेका अनुसार पोखरा घुम्न नपाएपछि उनीहरू चितवनतिर मोडिएका थिए। चितवनमा पनि ल्यान्डमार्क होटलमै ती पाहुनालाई बसोबास गराए पनि उनीहरूले पोखरा भने घुम्न नपाएको पाण्डेले बताए।

‘पहिरोका कारण ती पाहुना पोखरा आउनै सकेनन्। बीचबाटै यात्रा अन्यत्र मोडियो,’ पाण्डेले भने, ‘हामीले चितवनमा जसोतसो व्यस्थापन गर्‍यौं र उनीहरूलाई थप समस्या भएन।महत्त्वपूर्ण गन्तव्य घुम्न नपाउँदा पर्यटक खुसी हुन सकेनन्।’ उनका अनुुसार पोखरा आउनै नपाई चिवतनबाट पुनः काठमाडौं हुँदै ती पाहुना स्वदेश फर्केका थिए। ‘बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोड्ने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ,’ पाण्डेले भने।

उनका अनुसार विदेशी मात्र नभई स्वदेशी पाहुनाको यात्रामा पनि अप्ठेरो आइपरेको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको उनले बताए। ‘पोखरालाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य पृथ्वी राजमार्ग यतिबेला क्षतविक्षत हुँदा पर्यटन क्षेत्र प्रभावित भयो,’ उनले भने, ‘एक साताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको छ। एक साताअघिको चहलपहल अहिले घटिसकेको छ।’

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको पनि उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ। राजमार्ग विस्तार भएसँगै तनहुँको केही खण्डमा रातिको समयमा पाँच घण्टासम्म सवारीमा रोक लगाइन्छ। सवारी रोक लगाएको र यही बेला पहिरोले सडक अवरुद्ध पार्दा यात्रा सकसपूर्ण बनेको व्यवसायीले बताएका छन्।

‘अघिल्लो सातासम्म पर्यटन क्षेत्रमा निकै नै चहलपहल थियो। तर, पछिल्लो एक साताको चहलपहल अहिले एकाएक घटेको छ। अहिले चितवन, पोखरा सबैतिरका होटलमा पाहुना कम भएका छन्,’ पाण्डेले भने, ‘हुन त अब भारतीयका लागि पनि अफसिजन हो। त्यसले पनि पाहुना कम भएका हुन्। तर, बढी मार राजमार्गले पारेको छ।’ उनका अनुसार पोखरा–मुग्लिनको राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ कि कुनै पनि बेला रुख र पहिरो खसेर पुरिएला भन्ने त्रास बढाएको छ। ‘पानी पर्नासाथ राजमार्गमा भेल बग्छ। माथिबाट पहिरो खस्ने त्रास उत्तिकै छ,’ उनले भने, ‘बाटोमा लामो समय रोकिनु झनै जोखिमपूर्ण हो। कतिबेला माथिबाट पहिरो खसेर पुर्ने हो भन्ने त्रासले यात्रा गर्नुपर्छ।’

होटल संघ गण्डकी प्रदेश अध्यक्ष हरि शर्मा पनि पोखरालाई विभिन्न सहरसम्म जोड्ने स्थलमार्गको यात्रा झन्झट र जोखिमपूर्ण बन्दै जाँदा पर्यटनमा मार परेको बताउँछन्। उनका अनुसार अहिले पृथ्वी राजमार्गको यात्रा सबैभन्दा जोखिम र झन्झटिलो बनेको छ। कुन बेला कहाँ र कति समय रोकिनुपर्ने भन्ने यकिन नहुँदा यात्रा नै समस्याग्रस्त बनेको उनले बताए। ‘मध्य वर्षायाम परेकाले यो बेला भारतीय पाहुनाको आगमन केही कम हुने नै हो। तर, अहिले राजमार्गको सास्तीले पनि पाहुना आउन चाहेका छैनन्,’ शर्माले भने, ‘मुख्य राजमार्गको यात्रा यतिसम्मको झन्झटपूर्ण छ कि तीन घण्टाको यात्रा अवधि अहिले बढेर १० घण्टासम्म पुगेको छ।’

अघिल्लो सातादेखि राजमार्गको यात्राले झन्झट थप्न थालेको उनले बताए। उनका अनुसार पोखरा–मुग्लिन तीन घण्टामा सहज पार गरिने दुरी हो। तर, अहिले ८/१० घण्टासम्म लाग्ने गरेको छ। पोखरा–काठमाडौं ६ घण्टाको यात्रा कुनै दिन त ३० घण्टासम्म पनि पुगेको छ। ‘कतिबेला कहाँ पहिरो खस्ने भन्ने यकिन नहुँदा यात्रामा निस्कन पनि त्रास छ,’ उनले भने, ‘लामो समय राजमार्गमा फस्दा यात्रा झनै सकसपूर्ण बन्ने गरेको छ।’ भारतीय पाहुना पोखरा भित्रिने मुख्य मार्ग नै पृथ्वी राजमार्ग हो। ठुला आकारका बस चढेर भारतीय पाहुना पोखरा आउने भएकाले उनीहरू चिवतन, काठमाडौं हुँदै भित्रिन्छन्। ती पाहुनाले अहिले सकस खेप्नुपरेको उनले बताए। पोखरा–स्याङ्जा–बुटवल हुँदै आउजाउ गर्ने सिद्धार्थ राजमार्ग पनि कुन बेला कहाँ रोकिन्छ भन्ने यकिन नभएको शर्माले बताए।

‘यसै त वर्षाको झन्झट, त्यसैमाथि मुख्य राजमार्ग रातमा बन्द हुँदा रोकिएका पाहुना पनि बेलैमा गन्तव्यसम्म पुग्न सकेका छैनन्,’ शर्माले भने, ‘राजमार्ग सबैतिर भत्काएर अस्तव्यस्त पारिएको छ। सहज कुनै पनि ठाउँमा छैन। कम्तीमा निश्चित खण्ड भत्काएर त्यसलाई पूरा गरेर अरू खण्डमा काम गर्दा सहज हुन्थ्यो। तर, सबैतिर धुलो, हिलो मात्र राजमार्गमा छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपी भट्टराई पनि स्थलमार्गको झन्झटले गर्दा आन्तरिक र भारतीय पाहुनाको हिँडडुल नै कम भइसकेको बताउँछन्। स्थलमार्गमा झन्झट हुनासाथ हवाईमार्गको टिकटको भाउ महँगो पर्ने हुँदा पनि असर पारेको उनले बताए। ‘अहिले हवाईजहाजले पनि पुरै हवाईभाडा लिएका छन्। त्यो भाडा निकै नै महँगो पर्छ। त्यसैले अत्यावश्यक कामबाहेक अहिले हिँडडुल छैन,’ उनले भने, ‘आन्तरिक पाहुना पनि सुस्ताएका छन्। वर्षा र झन्झटिलो राजमार्गको यात्रा जोखिमपूर्ण बनेको सन्देश फैलिएकाले पनि पर्यटनमा मार परेको हो।’ मुख्य राजमार्गमा झन्झट हुँदा वैकल्पिक सडकबारे सोच्नुपर्ने भए पनि त्यसको तयारी नगर्दा अहिले अप्ठेरो आएको उनले बताए।

प्रकाशित: ५ असार २०७९ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App