६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

डिजिटल बैंकिङमा सेवाग्राही विश्वस्त हुनै बाँकी

नेपाल राष्ट्र बैंकले नोटको प्रयोगलाई निरुत्साहित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको छ। स्मार्टफोनको प्रयोग, इन्टरनेटको पहुँच वृद्धिले सहरदेखि ग्रामीण समुदायसम्म डिजिटल प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा लिने क्रम बढेको छ। 

यसका बाबजुद विभिन्न चुनौती छन्। बैंकहरूले डिजिटल बैंकिङको माध्यमबाट कस्ता सेवा दिँदै आएका छन्, के कस्ता चुनौती तथा नीतिगत समस्या छन्, नेपाल राष्ट्र बैंकले कसरी सहजीकरण गरिरहेको छ लगायत विषयमा नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको राउन्ड टेबलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विभिन्न वाणिज्य बैंकका प्रतिनिधिले राखेको धारणाको सम्पादित अंशः

सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने तयारी

गुरूप्रसाद पौडेल, कार्यकारी निर्देशक–नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सुरक्षित र भरपर्दो बनाउन सुरुदेखि नै काम गर्दै आएको छ। हामीले लामो समय परम्परागत भुक्तानी प्रणाली अवलम्बन गर्‍यौं। सन् २०१४ देखि रणनीति अघि सारेर अहिले विद्युतीय माध्यमबाट कारोबारलाई बढावा दिँदै आएका छौं। पछिल्लो अवस्थामा हेर्ने हो भने रिटेल पेमेन्ट अन्तर्गत रहेर विद्युतीय कारोबार गर्ने अवस्था बनेको छ। राष्ट्र बैंकले आफ्नै रिलेट पेमेन्ट स्विचको स्थापना गरिसकेको छ।  

अहिले वालेट, क्युआर जस्ता कुराबाट पेमेन्ट गर्न सक्ने व्यवस्था छ। राष्ट्र बैंक आफैंले आरटिजिएस सुरु गरेर दैनिक दुई हजारभन्दा बढी कारोबारलाई विद्युतीय माध्यमबाट रियल टाइममा ग्रस सेटलमेन्टको काम भइरहेको छ। र राष्ट्र बैंकले सन् २०१४ मा लिएको रणनीतिको आधारमा २०७५ सालमा ऐन बन्यो, २०७७ सालमा वियिमावली आयो र त्यसपछि विभिन्न निर्देशन जारी गर्दै विद्युतीय भुक्तानीको अवस्था अघि बढेको छ।

अहिले बैंकहरूमा एकाउन्ट होल्डरको संख्याभन्दा नेपालमा स्मार्टफोनको पहुँच बढी देखिन्छ। अघिकांश युवा स्मार्ट फोन बोक्छन्। विश्वभर नै यस्तै अवस्था रहेकाले बैंकमा नगई सोझै स्मार्टफोनबाट बैंकिङ कारोबार गर्न सकिन्छ। वाणिज्य बैंकले गर्न सक्ने कारोबारलाई मोबाइलको माध्यमबाट पनि गर्न सक्ने नीतिगत व्यवस्था छ। बैंक र वित्तीय संस्थाहरूले वालेट र क्युआरको प्रयोग गर्दै स्मार्टफोनबाट बैंकिङ कारोबार गर्न सक्ने अवस्था छ।  

प्रयोगसँगै चुनौती पनि थपिएर आउने भएकाले प्रविधिलाई दुईधारे तरबारको रूपमा पनि हेर्ने गरिन्छ। विद्युतीय कारोबार क्षेत्रमा चुनौतीरहित तरिकाले बैंकिङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निश्चित मापदण्ड बनाएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नियमनहरू जारी गरिएका छन्। विश्वसनीय र सम्बन्धित सफ्टवेयर प्रयोग गरिएको छ। सिस्टममा सेक्युरिटी फिचरलाई जोड दिइएको छ। राष्ट्रिय सुरक्षाको अर्थमा राष्ट्र बैंकले कारोबार गर्दा पनि सुरक्षित तवरले गर्न विभिन्न समयमा सूचना जारी गर्दै आएको छ। सुरक्षाको मामलामा वाणिज्य बैंक तथा भुक्तानी सेवा प्रदायक कम्पनीको लागि उच्च मापदण्ड तोकेर आफ्नो कारोबारको सिस्टम अडिट गर्नुपर्ने र त्यसमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्न राष्ट्र बैंकसँग सहकार्य गर्ने काम भइरहेका छन्।

नेपालमा एकातर्फ विद्युतीय कारोबार अत्यधिक बढेको छ भने अर्कोतर्फ नगद कारोबारसमेत घटेको छैन। विश्वका अन्य देशमा डिजिटल कारोबार बढ्दा नगद कारोबाट घट्ने गरे पनि नेपालमा दुवै सँगै भइरहेको छ। यस्तो हुनुको कारणमा विद्युतीय कारोबार सहर–बजार केन्द्रित रहनु, सुरक्षा विश्वसनीयताको कमी देखिन्छ। सरकारी कारोबार पनि विद्युतीय माध्यमबाट गर्ने तयारी छ। विद्युतीय कारोबार निश्चित क्षेत्रमा मात्रै नभएर सम्पूर्ण इकोसिस्टममा आधारित हुन्छ। विद्युतीय कारोबार बढाउन अन्य प्रविधि क्षेत्रका पूर्वाधार, टेलिकम्युनिकेसन, आइएसपी, विद्युत् लगायत पूर्वाधारसँग समन्वयात्मक ढंगले अघि बढ्नुपर्छ। साक्षरता, जनचेतनामार्फत विश्वास बढाउँदै लगे खल्तीमा कार्ड बोकेर हिँड्न सक्ने स्थिति निर्माणतर्फ राष्ट्र बैंक निर्देशित छ। वाणिज्य बैंकहरूले पनि बैंकिङ प्रविधिलाई विद्युतीकरण गर्दै लगेका छन्।

अबको शाखा भनेकै स्मार्टफोन

माधव सुवेदी, चिफ डिजिटल बैंकिङ-माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ग्राहकलाई बजारमा उपलब्ध डिजिटल उत्पादनबाट सेवा दिइरहेको छ। बिजुली, खानेपानी, इन्टरनेट, टिकेटिङका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा दिएका छौं। कोरोना महामारीपछि विद्युतीय माध्यमको प्रयोग बढ्यो। जनमानस डिजिटल प्रडक्टतर्फ निकै आकर्षित छ। डिजिटल माध्यमको प्रयोग बढेको उदाहरण नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हो। नेपालमा १ करोड ६३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता रहेको तथ्यांकले डिजिटल प्लेटफर्ममा आम नागरिकको विश्वास बढ्दै गएको देखाइसकेको छ। त्यस्तै कार्डबाहकको संख्या पनि निकै छ। राष्ट्र बैंकको भुक्तानी विभागले जारी गरेको निर्देशन अनुसार ७० प्रतिशत माछापुच्छ«े बैंकका ग्राहकले डिजिटल कारोबार गरेका छन्। ग्राहकले फोन गरेरसमेत डिजिटल माध्यमबारे जानकारी लिन्छन्।  

राष्ट्र बैंकले अघि सारेको नगदरहित समाजको अवधारणामा माछापुच्छ्रे बैंक सारथिको रूपमा अघि बढ्छ। थप १९ ठाउँमा शाखा खोल्ने तयारीमा छौं। ती शाखामार्फत ग्राहकले बैंकका सबै सेवा पाउनेछन्। अहिले १ सय ४४ शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ। यस बैंकले ग्रामीण ग्राहकलाई लक्ष्य गरेर खोलेका शाखाले वित्तीय पहुँचसमेत बढाएको छ। पछिल्लो समय ट्याब्लेट बैंकिङमार्फत पनि ग्राहकले सेवा लिइरहेका छन्। त्यसबाट निक्षेपसमेत बढ्दै गएको छ। ट्याब्लेट बैंकिङमार्फत घरदैलौ मै बैंकका प्रनितिधिमार्फत बैंकिङ सेवा पाउने भएकाले यो थप प्रभावकारी छ।  

सहरीभन्दा ग्रामीण ग्राहकले डिजिटल माध्यम प्रयोग कम गरेको तथ्यांक अनुसार यस बैंकले ग्रामीण क्षेत्रमा पनि बैंक र वित्तीय पहुँच बढाउँदै आएको छ। आम नागरिकलाई डिजिटल बैंकिङ मातहत ल्याउन गाउँगाउँमा बैंकिङ पहुँच पुर्‍याउनुपर्छ। अहिले भने जति स्थानमा शाखा खोल्न सम्भव नरहेकाले अबको शाखा भनेकै स्मार्टफोन हुनेछ। मोबाइल बैंकिङबाटै बैंकिङ आवश्यकता पूरा गर्दै मोबाइलबाटै खाता खोल्न सके डिजिटल बैंकिङमा जोडिन नसकेका समुदायलाई ल्याउन सकिन्छ। खाता खोल्न बैंकमा जानु पर्दैन, मोबाइलबाटै पैसाको कारोबार गर्न सकिन्छ भन्ने ज्ञान आम नागरिकमा पुर्‍याउँदै डिजिटल बैंकिङ सेवा दिँदै आएका छौं।

सन् २०१८ देखि नै डिजिटल ल्यान्डिङ अभियानमा

शिवराज उपाध्याय, डिजिटल हेड–एनएमबी बैंक

एनएमबी बैंकको भिजन नै ग्राहकलाई आर्थिक कारोबार गर्न नियमनले दिएको सबै सुविधा डिजिटल प्लेटफर्ममार्फत दिनु हो। हामी सन् २०१८ देखि डिजिटल ल्यान्डिङ अभियानमा छौं। नगद भुक्तानी बाहेकका अन्य सेवा के दिन सकिन्छ भनेर नियमन निकायको निर्देशिका अनुसार भिएवाइसी लगायत घरमै बसेर कर्जासम्बन्धी सेवा विद्युतीय माध्यममार्फत दिइरहेका छौं। आर्थिक तथा गैरआर्थिक सेवा दिन डिजिटल ल्यान्डिङ सेवा प्रभावकारी छ।

बैंकले एनएमबी सापटी योजना ल्याउन रकम सीमाका कारण राष्ट्र बैंकसँग रस्साकस्सी नै ग¥यो। अहिले राष्ट्र बैंकको गाइडलाइनले डिजिटल बैंकिङ गर्न सहज छ। उक्त गाइडलाइनले केही हदसम्म डिजिटल ल्यान्डिङलाई थप अघि बढाउन सहयोग गरेको छ। वाणिज्य बैंक, राष्ट्र बैंक र सरकार मिलेर डिजिटल ल्यान्डिङलाई अझ बढी सर्वसुलभ र कारोबारको सीमा बढाउन सकिन्छ। 

हामीले यो सेवा बैंकमा तलब खाता भएका ग्राहकको मासिक तलब सिस्टमबाट भुक्तानी गरेर सुरु गरेका थियौं। ग्राहकको मासिक तलब ६ महिनाको तलबमानलाई हेरेर मासिक कति भुक्तानीको प्रक्रियामा जान्छ, कति खातामा मौज्दात रहन्छ, सबै हेरेर त्यसैको आधारमा ग्राहकलाई एसमएएस बठाउने गरेका छौं।  दिगो बैंकिङका लागि गरेको पहल र डिजिटल रूपान्तरणमार्फत बैंकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ। 

परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर हामीले डिजिटल रूपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपालको बैंकिङ उद्योगमै पहिलोपटक स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारका लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाइसी अपडेट गर्ने सुविधा ल्याउने र एनएमबी सापटीमार्फत २४ घन्टाभित्रै कागजी झन्झटबिना सापटी कर्जा प्रवाह गर्नेजस्ता नविनतम सेवा प्रदान गर्दै आएका छौं। बैंकले मोबाइल तथा वेबको माध्यमबाट दिइने सुविधा थप गर्दै डिजिटल बैंकिङलाई एकीकृत गरेर थप फिचर्समार्फत भौतिक रूपमा काउन्टरमा एप तथा वेबको माध्यमबाटै बैंकिङ सेवा लिन सकिने व्यवस्था गर्दै आएको छ।

बैंकलाई डिजिटल जोन बनाउन खोजिरहेका छौं

रोनक कर्वा, डिजिटल युनिट हेड, एनआइसी एसिया बैंक

हामीले सेवामा डिजिटल प्रविधिलाई प्राथमिकता दिएका छौं। पेपरवर्क कम गर्न चाहन्छौं। उपभोक्ताले बैंकसँग अन्तक्र्रिया गर्न डिजिटल प्लेटफर्म छ। सेवाग्राहीले मोबाइल बैंकिङबाट सबै प्रकारको कारोबार गर्न सक्छन्। इन्टरनेट बैंकिङ सुविधा पनि छ। फन्ड ट्रान्सफरदेखि सबै वित्तीय सुविधा यसबाटै लिन सकिन्छ। कर्पोरेटलाई सेवा दिन कर्पोरेट आइटच छ। 

कोभिडको बेला धेरैले यसबाट फाइदा लिए। सबैभन्दा धेरै एटिएमबाट सेवा दिइरहेका छौं। एटिएममा सबै बैंकको कार्ड प्रयोग गर्न सकिन्छ। कोडिभले ई–कमर्सको ट्रेन्ड बढेको छ। घर–घरमा डेलिभरी चाहिएको बेला घरमै बसेर सामान किन्न सक्ने व्यवस्था मिलाएका छौं। मास्टर कार्ड प्रयोग गर्न सकिन्छ। दराज लगायत कम्पनीले ठूलो कारोबार गरेका छन्। उपभोक्तालाई मोबाइल एपको माध्यमबाट पनि सेवा दिन थालेका छौं। उपभोक्ताले बैंकबाट लिने सेवाको ९० प्रतिशत काम घरबाटै गरुन् भन्ने हाम्रो चाहना छ। पिन बिर्सिए पनि घरबाटै विभिन्न सेवा लिन सकिन्छ। 

फिक्स डिपोजिट पनि घरबाटै गर्न सकिन्छ। प्रविधि प्रयोग गरेर बैंकलाई डिजिटल जोन बनाउन खोजिरहेका छौं। फोन गरेर केही सूचना बैंक नगइकन लिन पाइन्छ। मिसकल बैंकिङ सेवा छ। डिजिटल कारोबारमा आकर्षित गर्न नयाँ एकाउन्ट ल्याएका छौं। एटिमबाट नगद निकाल्दा पनि निःशुल्क सेवा दिएका छौं। फन्ड ट्रान्सफर निश्चित रकमसम्म निःशुल्क छ। देश अहिले जसरी प्रविधितर्फ बढिरहेको छ, त्यसैगरी बैंकले आक्रामक रूपमा डिजिटल प्रविधिको प्रयोग गर्दै पूर्वाधार तयार गरिरहेको छ। दैनिक ६० हजार ट्रान्जेक्सन मोबाइलबाट छ। एटिमबाट ४० हजारले सेवा लिन्छन्।

डिजिटल प्रविधिको प्रयोग नभएको भए ती सबै सेवा लिन ग्राहक बैंकको शाखामा आउँथे। अहिलेको लोड त धान्न कठिन छ, यसमाथि थप दैनिक लाख ग्राहक बैंकमा आए कसरी सेवा दिने ? यो बुझेर डिजिटल प्रविधिको लागि बजेट छुट्ट्याएका छौं। उपभोक्ताको पक्षबाट प्रविधिको विकास गरेका छौं। पुरानो ढर्रा होइन नयाँ प्रविधिमा काम गर्ने प्रयास भइरहेको छ। अनलाइन एकाउन्टको प्रचलन बढेको छ। एकाउन्टको धेरै काम घरबाट हुन्छ। प्रयोगकर्ताका लागि चेतनामूलक कार्यक्रम चलाएका छौं। सेवा दिन च्याटबोटको काम पनि गरिरहेका छौं।  

डिजिटल प्रविधि आत्मसात गर्दा बैंक अब्बल

सरस्वती अधिकारी, डिइओ–राष्ट्रिय वाणिज्य बैंक

सरकारी बैंक भए पनि सबै सूचकमा अगाडि छ। डिजिटल प्रविधि आत्मसात गरेका कारण वाणिज्य बैंक अब्बल बनेको हो। सरकारको पूर्ण स्वामित्वको बैंक भएकाले वित्तीय पहुँच नपुगेको ३९ प्रतिशत जनतामा पनि पहुँच बढाउनुपर्ने दायित्व छ। डिजिटल प्रविधि क्षेत्रमा सबैले समन्वय गरेर काम गर्नुपर्छ। प्रतिस्पर्धी बजारका सबै डिजिटल सेवा राष्ट्रिय वाणिज्य बैंकले दिन्छ। सरकारी बैंक भए पनि सेवा प्रविधिमैत्री छ। बैंकमा भिजनसहित काम गर्ने समूह छ। अहिले दीर्घकालीन रणनीति लिएर अघि बढेकाले कुनै पनि बैंकभन्दा कम छैन। सेवा लिएर परीक्षण गर्न सक्नुपर्छ। नेपाल डिजिटल फ्रेमवर्कको सरकारको रणनीतिलाई सघाउ पुर्‍याउन काम गरिरहेका छौं। राष्ट्रिय वाणिज्य बैंकको ३६ लाख ग्राहक छन्। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना भएको छ। डिजिटल वालेट लन्च गरेका छौं। 

नमस्ते पेले डिजिटल इकोसिस्टमलाई सघाउँछ। सबैलाई समेटेर काम गर्दैछौं। सबै सुविधा वालेटबाट दिने योजनामा छौं। टेलिकमको पहुँच भएको, इन्टरनेटको पहुँच नभएकाले पनि वित्तीय कारोबार गर्न सक्ने गरी काम अघि बढिरहेको छ। रकमान्तर गर्ने प्रविधि प्रयोगमा ल्याएका छौं। धेरैलाई अहिले पनि क्यासको माया छ। मेरै घरमा बुवा, आमालाई मोबाइल बैंकिङ खोलेर ट्रान्सफर गर्न सिकाए पनि पासवर्ड, पिन बिर्सें भन्नुहुन्छ। यस्ता समस्या छन्। अझै चेतनाको अभाव छ। मिडियाले पनि चेतना जगाउनुपर्छ। क्यास दिँदा देखिन्छ, डिजिटल प्रविधि प्रयोग गरेर पठाउँदा अर्कोमा गयो कि भन्ने शंका हुन्छ। पूर्वाधार भएर पनि पहुँच किन पुगेन भन्ने हो। मोबाइल एप्लिकेसन प्रयोग गरेको १०/११ वर्ष भयो। 

तर अहिले १० देखि ११ प्रतिशत मोबाइल बैंकिङका प्रयोगकर्ता राष्ट्रिय वाणिज्य बैंकका छन्। बजार हिस्सा १०/११ प्रतिशत ओगट्न सफल हुनु हाम्रो लागि खुसीको कुरा हो। सानो कारोबार धेरै भएको छ। ठूलो कारोबारमा सीमा छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएसको सेवा छ। यसलाई बढाउन बृहत् योजना बनाएर काम गरिरहेका छौं। डिजिटल इकोसिस्टमलाई सबैले जोड्नुपर्छ। काउन्टर र एटिएमबाट हुने क्यास कारोबार घटाउनु पर्छ। नीतिगत क्षेत्रमा गर्नुपर्ने काम धेरै काम छ। क्यास कारोबार घटाउन सञ्चार माध्यमले पनि चेतना जगाउनुपर्छ। भारतमा रिजर्भ बैंक अफ इन्डियाले एटिएमबाट क्यास निकाल्दा कर लगाएको छ। डिजिटल कारोबार नगर्नुको कारण नजानेर पनि हो। करलाई चेतना जगाउन प्रयोग गर्न सकिन्छ।  

एटिएमको ट्रान्जेक्सनलाई निरुत्साहित गर्नुपर्छ

मिन्टुकुमार झा ,मेगा डिजिटल–मेगा बैंक

नारा हलोदेखि हाइड्रोसम्मको नारा अनुसार राष्ट्र बैंकको गाइडलाइन फलो गरेर डिजिटल सेवा दिँदै आएका छौं। हलोमा किसान कार्ड ल्याएका छौं। किसानलाई उनीहरूकै क्षेत्रमा गएर सामान किन्न सघाउ पुर्‍याउन यो सेवा ल्याएका हौं। दुर्गम क्षेत्रमा डिजिटल माध्यमबाट सेवा दिएका छौं। कर्पोरेटमा इन्टरनेटमा आफ्नै युजर बनाएर लिमिट तोकेर ट्रान्जेक्सन गर्न सक्ने अवस्था छ।

सबै ट्रान्जेक्सन आफैंले हेर्न सकिन्छ। मोबाइल बैंकिङबाट सेवाग्राहीले धेरै सेवा लिएका छन्। भिडिओबाट एकाउन्ट खोल्ने व्यवस्था हुँदैछ। कोभिडले डिजिटल्ली जान सिकाएको छ। घरमै बसेर खाता खोल्न सकिन्छ। एक्टिभ गर्न बैंक आउनु परे पनि धेरै सजिलो छ। ग्राहकको इतिहास हेरेर ऋण दिने व्यवस्था सुरु भएको छ। उसको विगत हेरेर ऋणका लागि उपयुक्त छ, छैन छुट्ट्याउन सकिन्छ। एक क्लिकमा राष्ट्र बैंकको मापदण्डलाई ध्यान दिएर ऋण दिने गरेको छौं। क्युआर कोड सेवा, स्मार्ट टेलरको सेवा छ। सेवा प्रभावकारी बनाउन च्याटबोट पनि छ।  

हामीले उपभोक्ताको बानी व्यवहार बुझ्नुपर्छ। डिजिटल प्रविधि प्रयोग बढ्दै गए पनि क्यासप्रतिको माया हटेको छैन। पहिला यसलाई हटाउनुपर्छ। राष्ट्र बैंकका सरहरू गएर तरकारी बजारमा क्युआर कोड राख्नुभयो। गर्नुपर्ने धेरै काम बाँकी छ। चेतना जगाउनुपर्ने आवश्यकता छ। बैंकले केवाइसी अपडेट गर्नुपर्ने छ। एउटा व्यक्ति धेरै बैंकमा छ। राष्ट्रिय परिचयपत्र आइरहेको छ। राष्ट्रिय परिचयपत्रका आधारमा खाता अपडेट हुने भए सजिलो हुन्थ्यो। 

डिजिटल फ्रडको पनि कुरा आएको छ। साइबर जोखिम छ। जोखिमलाई व्यवस्थित गर्दै जानुपर्ने आवश्यकता छ। राष्ट्र बैंकले पनि सबै एकैपटक गर्न सक्दैन। क्रमशः सुधार हुँदै छ। फ्रेमवर्क बनाएको छ। जस्तै एटिएमको कारोबारलाई निरुत्साहित गरी डिजिटललाई प्रोत्साहित गर्नुपर्छ। कोभिडपछि डिजिटल कारोबार बढेको छ। क्यास कारोबार घटेको छैन। मैले दूध किन्ने गाईपालक किसानलाई खाता खोल बैंकमा जम्मा गर्दिन्छु भन्दा क्यास चाहिन्छ भन्छ। किसानमा पैसा भनेकै नोट भन्ने बुझाइ छ। डिजिटल प्रविधिबारेमा अझै चेतना जगाउनुपर्नेछ।

कोभिडपछि मोबाइल बैंकिङ ह्वात्तै वृद्धि

आशुतोष शर्मा, एजिएम–एभरेस्ट बैंक

राष्ट्र बैंकले जारी गरेका रेगुलेटरी गाइडलाइन डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने खालकै छन्। कोभिड १९ महामारीले धेरै क्षति पुर्‍याए पनि एउटा सकारात्मक पाटो यसले देशमा डिजिटल बैंकिङ प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो। हाम्रो अनुभवमा के देखियो भने करिब डेढ वर्षको कोभिड अवधिमा लगभग तेब्बरभन्दा धेरै डिजिटल बैंकिङको कारोबार भयो। मोबाइल बैंकिङको कारोबारतर्फ ४–५ गुणा वृद्धि देखियो। राष्ट्र बैंकले यसको प्रवद्र्धन गर्न खोजेको थियो। त्यसमा सबै बैंकले आफ्नै खालको प्रडक्ट निकालेर राष्ट्र बैंकको गाइडलाइनको परिधिभित्र बसेर इकोसिस्टम बनाए।  

एभरेस्ट देशको सबैभन्दा बढी राजस्व उठाउने बैंक हो। सरकारी कारोबारलाई डिजिटलाइज्ड गर्ने हामी नै पहिलो बैंक हौं। सबैभन्दा पहिला आन्तरिक राजस्व कार्यालयबाट डिजिटल भुक्तानी सुरु गर्‍यौं। भन्सारको भुक्तानी पनि हामीमार्फत पाइलटिङ गरेर भित्रिएको हो। राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालयले बैंकलाई उत्प्रेरणा गर्ने काम गरिरहे। हाम्रो क्यास ह्यान्डलिङको विषय निकै ठूलो थियो। त्यसलाई व्यवस्थापन गर्न सक्यौं। हामी लेसक्यास इकोनोमीतर्फ अघि बढ्न सफल भयौं। तयार भएको इकोसिस्टमलाई प्रवद्र्धन गर्नुपर्छ। 

भन्सारको पेमेन्टमा अनलाइन अनिवार्य गरेपछि बैंक र ग्राहक दुवैले अंगीकार गरेर अघि बढेका छन्। आन्तरिक राजस्वतर्फ डिजिटल पेमेन्ट अनिवार्य छैन। मोटिभेसन फ्याक्टरले काम नगरेको खण्डमा फोर्स गरेरै कार्यान्वयन गर्नुपर्ने हुन्छ। वित्तीय साक्षरताको लागि अपरेटर र प्रयोगकर्ता दुवैको क्षमता अभिवृद्धि लगायत काम अघि बढाउनुपर्ने हुन्छ। अहिले सबैको हात–हातमा स्मार्टफोन छ। तर ज्ञान र डिजिटल बैंकिङप्रति विश्वासको कमीले सोचेजति बढ्न सकेको छैन। 

त्यतातिर पनि राष्ट्र बैंक र नेपाल बैंकर एसोसिएसन, डेभलपमेन्ट बंैकर एसोसिएसन लगायतले संयोजन गर्नुपर्ने बेला भइसकेको छ। राष्ट्र बैंकको नियमनकारी भूमिका निकै गम्भीर हुन्छ। बैंकले पनि राष्ट्र बैंकलाई सहयोग गर्नुपर्छ। डिजिटल बैंकिङमा ग्राहकको आशंका कायमै छ। ग्राहकले दुई–चारपटक डिजिटल बैंकिङ कारोबार नगरेसम्म विश्वासको वातावरण बन्दैन। सुरुआती चरणको कारोबार सफल भएपछि मात्रै ग्राहकले सेवाप्रति विश्वास गर्ने अवस्था बन्छ। परम्परागत सोच परिवर्तन गरेर नयाँ प्रविधितर्फ लैजान सबैको साथ र सहयोग आवश्यक हुन्छ।

डिजिटल बैंकिङ बैंकलाई पनि उत्तिकै आवश्यक

नारायणप्रसाद भुजु -सिइओ–एसटिसी

एसटिसी नेपाल राष्ट्र बैंकबाट बिएसओ पेमेन्ट सर्भिस अपरेटरको लाइसेन्स लिएर सञ्चालनमा छ। हामीले बिएसपी बैंक तथा अरू संस्थालाई सेवा दिइरहेका छौं। हामी प्रत्यक्ष ग्राहकलाई भन्दा पनि वित्तीय संस्थालाई सेवा दिन्छौं। एसटिसीले २० वर्षअघि नेपालमा एटिमएम सुरु गरेको हो। हामीले एटिएम कार्डसमेत उपलब्ध गराउँदै आएका छौं। अहिले मोबाइलबाटै भुक्तानी सेवा दिइरहेका छौं। ओम्नी च्यानलको रूपमा बैंकहरूलाई नभई नहुने मोबाइल बैंकिङको सुविधा उपलब्ध गराइरहेका छौं। एसटिसीले अनलाइन पेमेन्टको लागि आवश्यक पर्ने सम्पूर्ण सेवा दिन्छ। पछिल्लो समय नेपालमा डिजिटल पेमेन्ट द्रुत गतिमा बढेको छ। यहाँसम्म आइपुग्न २० वर्ष लागेको हो। नेपालमा कार्ड सुरु भएको सन् १९९७ तिर हो। २००२ देखि इन्टरनेट बैंकिङ सुरु भयो। मोबाइल बैंकिङ सन् २००५ देखि मात्रै देखिन थालेको हो। सन् २००९ पछि मोबाइल वालेट सुरु भयो।  

अहिलेको डिजिटल पेमेन्ट वा डिजिटल बैंकिङमा धेरै कुरा छन्। अधिकांश बैंक पेमेन्ट सर्भिसमा मात्रै केन्द्रित छन्। डिजिटल बैंकिङ भनेको पेमेन्ट मात्रै होइन। बत्ती र धाराको बिल तिर्ने सुविधा दिँदैमा डिजिटल बैंकिङ भन्न मिल्दैन। बैंकहरूले एटिएम कार्ड र मोबाइल बैंकिङलाई मात्रै डिजिटल बैंकिङको रूपमा परिभाषित गर्दैछन्। उनीहरूले डिजिटल बैंकिङलाई ग्राहकको सुविधाभन्दा पनि आफ्नै आम्दानी स्रोतको रूपमा अघि बढाइरहेका छन्। अर्थात बैंकहरूले यो प्रडक्ट शुल्क लिएर दिइरहेका छन्। यो जुन लेबलमा हुनुपथ्र्यो, त्यो लेबलमा पुग्न नसके जस्तो लाग्छ। यो सेवा निःशुल्क भए सबैको पहुँचमा पुर्‍याउन सकिन्छ।

बैंकले यो सुविधालाई ग्राहकको आवश्यकताको रूपमा मात्रै बुझ्न भएन। बैंकको पनि आवश्यकता हो। बैंकसँग यो डिजिटल बैंकिङ छैन भने उसले सबै ग्राहकलाई सेवा दिनै सक्दैन। यो ग्राहकका लागि मात्रै होइन, बैंकको लागि पनि अपरिहार्य छ। बैंकहरू अहिले सकेसम्म ग्राहकले बैंकमा उपस्थित नभइकनै सेवा लिऊन् भन्ने चाहन्छन्। त्यसको लागि उनीहरूले आफूले दिने सेवाको क्षमता अभिवृद्धि लगायतमा काम गर्नुपर्ने देखिन्छ। ग्राहकलाई बानी पार्न पनि अत्यन्तै न्यून शुल्क र खर्चमा यी सुविधा उपलब्ध गराउनुपर्छ।

प्रकाशित: ९ चैत्र २०७८ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App