१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिद्धबाबामा सुरुङमार्गः आठ महिना बित्यो, ठेकेदार छानिएन

फाइल तस्बिर

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले गत जेठ ९ गते बुटबल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ४५ दिनको म्याद राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्‍यो। बोलपत्र आह्वान गरेको आठ महिना बित्यो। तर केन्द्रले अहिलेसम्म ठेकेदार कम्पनी छान्न केको छैन। तोकिएको समयभित्रै निर्माण कम्पनी छनोट नगर्दा सुरुङमार्ग निर्माणको सुरु हुने समयबारे अन्योल छ।  

गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बोलपत्रमा सहभागीमध्ये चारवटा कम्पनी प्राविधिक रूपमा छनोट भए पनि अहिलेसम्म आर्थिक प्रस्तावको मूल्यांकन भइनसकेको बताए। ‘सुरुङमार्ग निर्माणका ठेक्का बिल्कुनै नयाँ थियो।

यो बोलपत्रमा अधिकांश चिनियाँ कम्पनी मात्रै सहभागी भएकाले पनि उनीहरूको आवश्यक कागजात केलाउन लामो समय लागेको हो,’ उनले भने, ‘नेपाली कम्पनीका कागजात भेरिफाई गर्न छिटो हुने गर्छ। चिनियाँ बिडरको कागजात गर्न सहज नहुने भएकाले केही समय बढी लागेको हो।’ केन्द्रका निर्देशक झाले सबै प्रक्रिया पुगेको खण्डमा आगामी माघ २० गते आर्थिक प्रस्ताव खोल्ने कार्यतालिका राखेको बताए।

केन्द्रका अनुसार आर्थिक प्रस्ताव खोलेको सात दिनसम्म उजुरी गर्ने समयसीमा हुन्छ। एक महिनाभित्रै छनोट भएको ठेकेदार कम्पनीसँग सम्झौता गर्ने म्याद तोकिएको हुन्छ। ठेकेदार छानिएको ९ महिनाभित्र इपिसी मोडलमा डिजाइन तयार तयार पार्ने। छानिएका कम्पनीले डिजाइन तयार पारेर सडक विभागले स्वीकृति गरेपछि मात्रै सुरुङमार्ग निर्माणले गति लिनेछ। केन्द्रले आह्वान गरेको बोलपत्रमा ९ वटा कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागिता जनाएका छन्।

सहभागी भएका ९ वटा कम्पनीमध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छनोट भएका थिए। छनोट भएका कम्पनी फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेसन, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र सिसिइसिसी–सिआरसिसी १४–सियुयान जेभी छन्। सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम रकम कबोल गर्ने ठेकेदार कम्पनीलाई छनोट गरिनेछ। यो सुरुङमार्ग इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्सट्रक्सन (इसिसी) मोडलमा निर्माण गर्न लागिएको हो।

ठेक्का पाउने कम्पनीले सुरुङमार्ग पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। डिजाइनका लागि करिब ६ देखि ९ महिना तोकिएको छ। बोलपत्रमा छनोट हुने कम्पनीले ९ महिनाभित्रै सुरुङमार्ग तथा रकसेटको डिजाइन तयार पारेर सडक विभागलाई बुझाउनुपर्ने हुन्छ। केन्द्रले सुरुङमार्ग करिब ५ वर्षको अवधिभित्र निर्माण सम्पन्न गर्ने योजना बनाएको छ। सुरुङमार्गको एउटा मुख बुटबल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउमा रहनेछ। अर्काे मुख दोभाननजिकै रहनेछ।

यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर र दुई लेन (साढे सात मिटर) चौडा हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै ७ सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचना समेत तयार पर्नुपर्नेछ। साबिकको सडकलाई दुई लेनको सडकको रूपमा विस्तार गरिनेछ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरेर सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए। सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको सडक खण्डमा पहिरोको उच्च जोखिम छ। सो खण्डमा हिउँद, बर्खा दुवै याममा पहिरोले बर्सेनि दर्जनौंको ज्यान लिन्छ। अहिलेसम्म यहाँ चार सय ५० भन्दा धेरैले ज्यान गुमाएका छन्।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको क्षेत्रमा स्विस सरकारको सहयोगमा भौगर्भिक तथा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनले सिद्धबाबा सुरुङमार्गको पूर्वसम्भाव्यतता अध्ययन गरेको थियो। अहिले केन्द्रले सो पूर्वसम्भाव्यता अध्ययनमा टेकेर सुरुङमार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय स्तरको ठेक्का आह्वान गरेको हो।

निर्देशक झा यो सुरुङमार्ग बनेसँगै सिद्धबाबा सडक खण्डमा पहिरोले जनधनको क्षति गराउने समस्या समस्या अन्त्य हुने दाबी गर्छन्। ‘यो खण्डमा पहिरोले थिचिएर सयौंले ज्यान गुमाउनुभएको छ,’ उनले भने, ‘सुरुङमार्ग बनेसँगै एकातर्फ धनजनको क्षति हुने छैन भने अर्कोतर्फ पाल्पा, गुल्मीतर्फ जाने यात्रुले सहजै यात्रा गर्न सक्नेछन्।’

प्रकाशित: १४ माघ २०७८ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App