६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कपिलवस्तुका पालिकाद्वारा कृषि क्षेत्रलाई सौताको छोरा जस्तै व्यवहार

धान, गहुँ तरकारी उत्पादनमा प्रशस्त सम्भावना बोकेको कपिलवस्तुका पालिकाहरुमा न्यून बजेट विनियोजित गरिएको गुनासो गरिएको छ। मुलुक संघीयतामा जानुअघि जिविस, नगरपालिका र गाविसमा कूल बजेटको १५ प्रतिशत अनिवार्यरुपमा छुट्टाउनु पर्ने नियम बनाइएको थियो।  

तर अहिले भने पालिकाहरुले कपिलवस्तुमा न्यून बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष २०७८/७९ मा कपिलवस्तुका अधिकांश पालिकालहरुले कृषि क्षेत्रमा नाम मात्रको बजेट विनियोजन गरेका  हुन। कृषि ज्ञान केन्द्रले तौलिहवामा स्थानीय तहका कृषि प्राविधिकहरुसँग राखेको गोष्ठीमा पालिकाका कृषि शाखाका प्रमुखहरुले सो गुनासो गरे।

सो अवसरमा सुदीप मौर्यले संघीयतामा जानुअघि कृषि क्षेत्रका लागि १५ प्रतिशत बजेट बिनियोजन गरिएको भए पनि अहिले भने कृषि क्षेत्रलाई सौताको छोरा जस्तै व्यवहार गरिएको बताए। ‘अहिले कृषि क्षेत्रका लागि बजेटको कुनै सुनिश्चितता छैन, कसरी कृषि क्षेत्रको विकास हुन्छ?’ उनले भने। ११ वटा वडा भएको कपिलवस्तुको महाराजगंज नगरपालिकामा चालू आर्थिक वर्ष २०७८/७९ का लागि कृषि क्षेत्रमा केवल ५० हजार बजेट बिनियोजन गरेको छ। पालिकाका कृषि प्रमुख उदयराज पासीले आफूहरुले बिभिन्न कृषिका योजना र कार्यक्रम पेश गरे पनि पालिकाले ५० हजारमात्र विनियोजन गरेको बताए।

सो पालिकामा लुम्बिनी प्रदेश सरकारबाट ५० हजार र संघीय सरकरबाट २८ लाखको कृषि कार्यक्रम आएको उनले बताए। १२ वडा रहेको नेपालकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाले पनि चालू आर्थिक वर्षका लागि कृषिमा केवल २० लाख बजेट विनियोजन गरेको नगरपालिकाका कृषि शाखाका प्रमुख भगवनदास गुप्ताले बताए।

सो नगरपालिकामा संघीय सरकरबाट ३ वटा कार्यक्रमका लागि ४० लाख र प्रदेशबाट ५० हजार बजेट विनियोजन भएको छ। शुद्धोदन गाउँपालिकामा २० लाख विनियोजन गरिएको छ। सो पालिकामा संघीय सरकारबाट ६० लाख र प्रदेशबाट ५० हजार आएको छ। बिजयनगर गाउँपालिकामा २३ लाख बजेट छुट्टाइएको छ भने प्रदेश सरकरबाट ५ लाख ४४ हजार र संघीय सरकरबाट १६ लाख आएको छ।

मायादेवी गाउँपालिकामा २७ लाख ८० हजार बजेट विनियोजन गरिएको छ भने प्रदेशबाट ४ लाख ५० हजार र संघीय सरकारबाट ४८ लाख बजेट आएको छ। कृष्णनगर नगरपालिकामा ३० लाख बजेट विनियोजन गरिएको छ। प्रदेशबाट ५० हजार र संघीय सरकारबाट २८ लाख ५० हजार बजेट आएको छ। यशोधरा गाउँपालिकाले भने कृषिमा ८३ लाख बजेट विनियोजन गरेको छ। सो पालिकामा प्रदेशबाट ५० हजार र संघीय सरकारबाट २८ लाख बजेट आएको छ। जिल्लाका उत्तरी भेगमा रहेका २ पालिकाले भने कृषि क्षेत्रका लागि एक करोड बढी बजेट बिनियोजन गरेका छन्।

सबैभन्दा बढी बाणगंगा नगरपालिकाले १ करोड २२ लाख बजेट बिनियोजन गरेको छ। संघबाट ८५ लाख र प्रदेशबाट ५० हजार बजेट आएको छ। शिवराज नगरपालिकाले १ करोड १० लाख बजेट बिनियोजन गरेको छ। सो पालिकामा प्रदेशबाट ४ लाख ९५ हजार र संघीय सरकारबाट ६५ लाख तथा नबिकरणीय उर्जा कार्यक्रमका लागि ४ लाख ९५ हजार आएको छ। बुद्धभुमी नगरपालिकामा ७५ लाख बजेट बिनियोजन गरिएको छ। प्रदेशबाट ५० हजार र संघीय सरकारबाट ८७ लाख बजेट आएको छ।

जिल्लामा कूल ८३ हजार हेक्टर क्षेत्रफल कृषियोग्य खेत छ।

प्रकाशित: १ पुस २०७८ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App